+
+

स्पञ्ज आइरन आयातमा पुरानै भन्सार लागू गर्न उद्योगीको माग

‘शून्य भन्सार दरले १० अर्ब राजश्व गुम्छ’

टोपराज शर्मा टोपराज शर्मा
२०७८ असोज ११ गते २०:२१

११ असोज, बुटवल । रुपन्देहीका छड उद्योगीको एक समूहले स्पञ्ज आइरन आयातमा शून्य भन्सार दर कायम गरिएको प्रति आपत्ति जनाउदै पुरानै भन्सार दर लागू गर्न माग गरेको छ ।

प्रतिस्थापन विधेयकमार्फत् ल्याइएको बजेटमा सीमित उद्योगीको स्वार्थपूर्ति र एकाधिकार लाद्न सहयोग पुग्ने गरी स्पञ्ज आइरन आयातमा लाग्दै आएको ५ प्रतिशत अन्तःशुल्क शून्यमा झार्नु र एमएस विलेटको आयात बढाउनु विभेदकारी भएको उद्योगीको गुनासो छ ।

सोमबार भैरहवामा पत्रकार सम्मेलन गर्दै नेपाल स्टिल रोलिङ मिल्स एसोसिएसनमा आवद्ध रुपन्देहीका छड उद्योगीले सरकारको यो निर्णयले ६ वटा उद्योगलाई मात्र फाइदा पुग्ने र बाँकी २४ उद्योगमा नकारात्मक असर पर्ने बताए ।

नेपालमा हाल सञ्चालित ३० वटा फलामे छड उत्पादन गर्ने उद्योगमध्ये ६ वटाले मात्र स्पञ्ज आइरन आयात गरी आफैंले बिलेट्स बनाई छड उत्पादन गर्छन् । बाँकी २४ वटाले आयातित बिलेट्सबाट छड उत्पादन गर्छन् ।

स्पञ्ज आइरन आयातमा अन्तःशुल्क शून्यमा झार्दा मुलुकको १० अर्ब राजस्व गुम्ने र बहुसंख्यक फलामे छड उद्योग समस्यामा पर्ने उनीहरुको दावी छ । सरकारले एमएस विलेटको आयातमा पहिला प्रति मेट्रिक टन १६ सय ५० रुपैयाँ लाग्दै आएको अन्तःशुल्क बढाएर २५ सय रुपैयाँ बनाएको छ ।

यस्तै, एमएस बिलेटको आयातमा भन्सार महशुल ४.७५ प्रतिशत बनाइएको छ । यसले छडको मूल्य प्रतिकेजी ५ रुपैयाँ महँगो पर्ने उद्योगीले बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै एभरेष्ट रोलिङ स्टिलका सञ्चालक अरुण गोयन्काले कच्चा पदार्थमा शून्य प्रतिशत अन्तःशुल्कको निर्णय विश्व व्यापार संगठन (डब्ल्यूटिओ) को नीति विपरीत भएको बताए ।

‘पत्रु पगालेर डण्डी उत्पादन गर्दा पर्यावरणमा असर पर्ने भएकोले चीनमा यस्तो प्रविधिलाई बन्द गरिएको छ र भारतमा यस्ता उद्योगलाई कडा निगरानीमा राखिएको छ’ गोयन्काले भने, ‘तर नेपाल सरकारले सम्बन्धित उद्योगीसंग छलफल नै नगरी सीमित उद्योगीको स्वार्थ अनुसार नीति परिवर्तन गर्नु अस्वाभाविक र अपारदर्शी छ ।’

अन्तर्राष्ट्रिय मान्यता अनुसार वातावरणलाई असर गर्ने उद्योगका उत्पादनमा अन्तःशुल्क लगाउनुपर्नेमा कच्चा पदार्थमै लगाएर सरकारले उल्टो काम गरेको पञ्चकन्या स्टिल प्रालिका नायब महाप्रबन्धक देवेन्द्र साहूले बताए ।

उनले स्पञ्ज आइरनमा शून्य भन्सार महसुल एवं शून्य अन्तशुल्क लाग्ने व्यवस्थाले नेपालमा गुणस्तरीय छड उत्पादनमा शंका उत्पन्न भएको र सीमित उद्योगीले बजारमा एकाधिकार कायम गर्ने बताए ।

उद्योगहरुले समेत विभिन्न परियोजनामा छड आपूर्ति गर्न भारतबाट स्पञ्ज आइरनको सट्टा बिलेट्स नै आयात गरिरहेको साहूले बताए । ‘सरकारको निर्णयले औद्योगिक, आर्थिक, वातावरणीय एवं सामाजिक असरहरु निम्त्याएको छ’ साहूले भने, ‘यो निर्णयले मुलुकको झण्डै १० अर्ब राजस्व गुम्ने अवस्था छ ।’

देशभरका २४ मध्ये रुपन्देहीमा पन्चकन्या, गोयन्का, एसआर, एभरेष्ट, फेरो, विजया र सिद्धिलक्ष्मी गरी ७ वटा रोलिङ स्टिल उद्योग सञ्चालनमा छन् ।

नेपालमा वार्षिक १६ लाख मेट्रिक टन छड खपत हुने गरेकामा ७० प्रतिशत बजार रोलिङ स्टिल उद्योगबाट उत्पादित छडको रहेको छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?