+
+

एमालेमा १० बुँदे कार्यान्वयन गर्न मापदण्ड तय

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते २०:२७
१० बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक भीम रावल । फाइल तस्वीर

१२ असोज, काठमाडौं । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयन गर्न मापदण्ड तय गरिएको छ । उपाध्यक्ष भीम रावल संयोजक रहेको कार्यदलले १० बुँदे सहमति कार्यान्वयन गर्न मापदण्ड तय गरेको हो ।

आइतबार बसेको कार्यदलको बैठकले माओवादी छाडेर एमालेमै रहेका नेताहरु सहित २ जेठ २०७५ अगाडिको एमाले संरचनाका नेताहरुसहितको बैठक राखेर पार्टी सञ्चालनमा ल्याउने निर्णय गरेको हो । यसरी बस्ने बैठकले आवश्यकताका आधारमा थप सदस्य मनोनित गर्ने निर्णय पनि भएको कार्यदलका एक सदस्यले बताए ।

उनले यो मापदण्ड अनुसार सम्पूर्ण पार्टी संरचना कायम गरिनेछ । ‘१० बुँदेमा जुटेको सहमति पनि यही हो, त्यसैअनुसार अगाडि बढ्ने सहमति भएको छ,’ ती नेताले भने ।

सोमबारको स्थायी कमिटी बैठकले १० बुँदे कार्यान्वयन गर्न रावललाई संयोजक तोकेको थियो भने शंकर पोखरेललाई कार्यदलमा थप गरेको थियो । यसअघि १० भदौको केन्द्रीय कमिटी बैठकले कार्यदल बनाएको थियो । रावलको नेतृत्वमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव द्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट छन् ।

तर माधव नेपालको साथ छाडेर एमालेमै बसेका नेताहरुले १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका थिए । विशेषगरी सुदूरपश्चिम, बागमती र प्रदेश २ मा यस्तो समस्या देखिएको थियो । १० बुँदेअनुसार २ जेठ २०७५ अगाडिको एमाले र साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भीम रावल सुदूरपश्चिम प्रदेश इन्चार्ज थिए ।

तर नेकपा विभाजित भएपछि अध्यक्ष केपी शर्मा ओलीले लेखराज भट्टलाई इन्चार्ज तोकेका थिए । भट्टले इन्चार्ज नछाडेपछि रावल असन्तुष्ट थिए । सूदुरपश्चिमजस्तै बागमतीमा पनि एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य एमाले र पछि नेकपा बन्दा पनि इन्चार्ज थिइन् । ओलीले भने रामबहादुर थापा बादललाई इन्चार्ज तोकेका थिए ।

‘१० बुँदे कार्यान्वयन नभएको भनिएको अन्य पार्टी संरचनामा पार्टी विभाजनपछि तोकिएको भूमिका कायमै राख्न खोज्नु हो,’ १० बुँदे सहमतिपछि एमालेमै बसेका अर्का नेता भन्छन् ।

तर कार्यदलको सहमतिबाट भने २ जेठ २०७५ अगाडिको एमाले पार्टी संरचनाका नेताहरु र माओवादीबाट आएकाहरु सहितको बैठकले आवश्यक निर्णय गर्ने बाटो खोलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?