
१३ असोज, काठमाडौं । भूकम्पले क्षतिग्रस्त बनाएका काभ्रेका ६ वटा विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ । भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेका ६ वटा विद्यालय भवनको बुधबार उद्घाटन गरिएको छ ।
पुनर्निर्मित विद्यालय भवनहरुको बुधबार भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव अनुराग श्रीवास्तव, काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटा, काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य गंगाबहादुर तामाङ र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुवप्रसाद शर्माले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
करिब साढे १९ करोड रुपैयाँको लागतमा बनेपा नगरपालिकाको आजाद माध्यमिक विद्यालय, पाँचखाल नगरपालिकाको श्री आजाद माध्यमिक विद्यालय, दुग्धेश्वर माध्यमिक विद्यालय र भगवती माध्यमिक विद्यालय तथा चौरीदेउराली गाउँपालिकाको खाँडादेवी माध्यमिक विद्यालय र पनौती नगरपालिकाको शारदा माध्यमिक विद्यालयको भवन पुनर्निर्माण गरिएको हो ।
विद्यालयको उद्घाटन गर्दै सांसद बाँस्कोटाले भूकम्पपछि नेपाललाई भारत सरकारले निकै सहयोग गरेको भन्दै नेपाल र भारतबीचको सम्बन्ध बहुआयामिक भएको बताए ।
कार्यक्रममा भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव अनुराग श्रीवास्तवले नेपालको आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक धरोहर संरक्षणका लागि भारत सरकारले सहयोग गर्दै आएको बताए ।
यसैगरी २०७२ सालकै भूकम्पबाट क्षतिग्रस्त पनौती नगरपालिकास्थित खोपासी प्राथमिक उपचार केन्द्रको पनि भारत सरकारको अनुदान सहयोगमा पुननिर्माण हुनेगरी भवन शिलान्यास गरिएको छ ।
प्रतिक्रिया 4