
१३ असोज, वीरगञ्ज । प्रहरीले मुस्कान खातुनलाई एसिड प्रहार गर्ने युवकलाई पुनः पक्राउ गरेको छ ।
रौतहटको परोहा गाउँपालिका-७ घर भई हाल वीरगञ्ज महानगरपालिका -२ छपकैया बस्ने १९ वर्षीय समसाद मियाँलाई पक्राउ गरेको हो । उनले २०७६ भदौ २० गते बिहान वीरगञ्जको गणेशमान चोकमा खातुनमाथि एसिड प्रहार गरेका थिए ।
घटनालगत्तै पक्राउ परेका मियाँलाई जिल्ला अदालत पर्साले ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्नेसम्बन्धी कसूरमा पूर्पक्षका लागि बालसुधार गृह पठाएको थियो ।
कोभिड-१९ को पहिलो लहरको प्रकोपका बेला २०७६ चैत ११ गते अदालतकै आदेशामा मियालाई चैत १२ गते अभिभावकको जिम्मा लगाइएको थियो । चैत २६ गते अदालतले बाँकी कैद ५ महिना १६ दिन पुनः बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय तोकेको थियो ।
तर फैसला कार्यान्वयन गर्ने सिलसिलामा उनी फरार भएका थिए । उनलाई बुधबार वीरगञ्ज-२, ईदगाह चोकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
प्रतिक्रिया 4