+
+

बालुवाटारमा सर्वदलीय बैठक, एमाले अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १४ गते ११:२७

१४ असोज, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई बोलाइए पनि नेकपा एमालेका नेताहरू भने सहभागी भएनन् ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधामन्त्री एवं पार्टी सभापति देउवा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा(एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक संसदको अवरोधलाई निकास दिने विषयमा केन्द्रित थियो । संसद बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले लगातार अवरोध गर्दै आएको छ ।

आजै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । त्यसअघि सहमति जुटाउने प्रयासमा प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।

संसदको अवरोध खुलाउन सभामुख अग्निप्रसाद सापकोटाले पहल गरे पनि निकास ननिस्किएपछि प्रधानमन्त्रीले नै पहल थालेका हुन् । सभामुख सापकोटाले बोलाएको बैठकमा पनि प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली सहभागी भएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?