+
+

साताका १० गीतः दशै तिहारका गीतदेखि पल मलिकाको ‘लाखौं हजारौंसम्म’

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते १४:१३

यससाता पनि तीन दर्जन बढी गीतको म्युजिक भिडियोहरु सार्वजनिक भए । दशैं नजिकिँदै गरेको कारण सार्वजनिकमध्ये यससाता पनि दशैं तिहार गीतहरुकै वर्चश्व देखियो । त्यसबाहेक अन्य गीतहरु समेत युट्युबमा सार्वजनिक भए । सार्वजनिक भएकामध्ये केही गीतले चर्चा समेत कमाए । पछिल्लो साता कुन–कुन गीत सार्वजनिक भए ? गत शुक्रबारदेखि हिजो बिहीबारसम्म सार्वजनिक भएकामध्ये १० गीत यसप्रकार छन् ।

पल र मलिकाको अभिनयमा ‘लाखौं हजारौं’

अभिनेता पल शाह र अभिनेत्री मलिका महतको जोडी म्युजिक भिडियोमा खुबै रुचाईएको छ । यी दुईले एकपछि अर्को म्युजिक भिडियोमा काम गरिरहेका छन् । यस्तैमा गत आईतबार पल र मलिकाको अभिनयमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हो ।

यावेश थापाको लिरिक्स एवं कम्पोजिशन, सञ्जु मोक्तानको स्वरमा ‘लाखौं हजारौं’ गीतको भिडियोमा यी दुईले अभिनय गरेका हुन् । तेन्जु योञ्जनको कोरियोग्राफी, युगल पोमो लिम्बुको निर्देशनमा बनेको भिडियो पृथक खालको बनाईएको छ ।

अर्जुन तिवारी एण्ड टिमको छायाँकन रहेको भिडियोमा जिवन थापाको सम्पादन छ । भिडियोलाई अहिलेसम्म ११ लाख २६ हजार बढी पटक हेरिएको छ ।

टंक बुढाथोकीको ‘दशैं आयो तिहार आयो’

गायक एवं संगीतकार टंक बुढाथोकीले गत मंगलबार ‘दशैं आयो तिहार आयो’ बोलको गीत सार्वजनिक गरेका हुन् । टंक र बुनु उप्रेतीको शब्द एवं संगीत रहेको गीतमा टंक बुढाथोकी, अशोक दर्जी, बुनु उप्रेती, प्रकाश आचार्य, कविता शिवाकोटी, विन्दु परियार, दक्षता श्रेष्ठको स्वर छ । गाउँघरको कथा ब्यथालाई यस दशैं तिहार गीतमा प्रस्तुत गरिएको गायक टंकले बताएका छन् ।

टंककै कथा, कन्सेप्ट तथा निर्देशनमा यसको भिडियो तयार गरिएको हो । भिडियोमा लक्ष्मी गिरी, सुरवीर पण्डित, टंक बुढाथोकी, अशोक दर्जी, बुनु उप्रेती, दक्षता श्रेष्ठ, सोनु चापागाईँ, मबिना थापा, राजु सेञ्चुरी लगायतको अभिनय छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । भिडियोलाई तीन दिनमै १० लाख ६५ हजार बढी पटक हेरिसकिएको छ ।

प्रमोदको स्वरमा ‘भूपू माया ४–नबोल नबोल’

‘भूपू माया ४–नबोल नबोल’बोलको गीत गत आईतबार सार्वजनिक गरिएको हो । रोशन सिंहको शब्द एवं संगीत, विशाल निरौलाको एरेन्जमा प्रमोद खरेलले स्वर दिएका हुन् ।

विक्रम चौहानको कथा, कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोमा विक्रम बुढाथोकी र रेणु पुनको अभिनय छ । उत्सव दाहालको एण्ड टिमको छायाँकन, मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोलाई ७ लाख ७५ हजार बढी पटक हेरिएको छ ।

राजेशपायल, दयाहाङ र विल्सनको अभिनयमा ‘देम सारो’

गायक राजेशपायल राईको स्वरमा गत शुक्रबार ‘देम सारो’ बोलको गीत सार्वजनिक भएको छ । ‘दर्शन नमस्ते ५’ एल्बममा समावेश गीतमा राजन मुकारुङको शब्द, राजेशपायलको संगीत, फणिन्द्र राईको एरेन्ज छ ।

कमल राईको कोरियोग्राफी, किरन चाम्लिङ राईको निर्देशनमा बनेको भिडियोमा अभिनेता दयाहाङ राई, विल्सन विक्रम राई र राजेशपायल स्वयंमका साथमा रजनी गुरुङ देखिएकी छिन् । दयाहाङ, विल्सन विक्रम र राजेशपायल पहिलोपटक एउटै फ्रेममा देखिएका हुन् ।

विक्रम डिसीको छायाँकन, मनोज कार्कीको सम्पादन रहेको भिडियोलाई ५ लाख ८० हजार पटक हेरिएको छ । राजेश पायलले आफ्नै युट्युब च्यानलमा यो गीत सार्वजनिक गरेका हुन् ।

कुलेन्द्र र सुनिता बुढाक्षेत्रीको स्वरमा ‘जलजला’

कुलेन्द्र विश्वकर्मा र सुनिता बुढाक्षेत्रीको स्वर रहेको ‘जलजला’बोलको गीत गत शुक्रबार सार्वजनिक गरिएको हो । प्रल्हाद सुवेदीको शब्द रहेको गीतमा बसन्त थापाको संगीत, आशिष अविरलको एरेन्ज छ । कुमार केसीको निर्देशनमा बनेको भिडियोमा प्रकाश सपूत र जुना सुन्दासले अभिनय गरेका छन् ।

अजय रेग्मीको छायाँकन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियोलाई हालसम्म युट्युबमा ६ लाख बढी पटक हेरिएको छ ।

दुर्गेश थापाको ‘बहिष्कार’

दुर्गेश थापाले गत शुक्रबार ‘बहिष्कार’बोलको गीत सार्वजनिक गरेका हुन् । यसवर्ष उनको तीज गीतलाई लिएर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आपत्ति जनाएको थियो । गीतलाई लिएर उनलाई बहिष्कारको निर्णय समेत प्रतिष्ठानले गरिसकेको थियो । तर, प्रतिष्ठानले निर्णय सच्याउँदै संस्थाबाट निलम्बन गर्यो । सोही ‘बहिष्कार’ शब्दलाई लिएर दुर्गेशले गीत तयार गरेर सार्वजनिक गरेका हुन् । गीतमा दुर्गेशकै शब्द, संगीत, स्वर एवं अभिनय समेत रहेको छ ।

शिव वि.क.को कोरियोग्राफी एवं निर्देशनमा बनेको भिडियोमा दुर्गेशसँगै अभिनेता पल शाह देखिएका छन् । भिडियोलाई एक सातामा ६ लाख १० हजार बढी पटक हेरिएको छ ।

अर्जुन तिवारीको (एमबिएल फिल्मस)को छायाँकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

पशुपति शर्माको ‘पैसाको बुटो’

पशुपति शर्माले बिहीबारमात्रै ‘पैसाको बुटो’बोलको दशैं गीत सार्वजनिक गरेका छन् । परदेशीको कथामा तयार गीतका शब्दहरु पशुपतिले नै कोरेका हुन् । गीतमा उनकै संगीत, सुनिल परियारको एरेन्ज छ । गीतमा पशुपति शर्मा, रमेशराज भट्टराई, खुमन अधिकारी, सन्दीप न्यौपाने, देवी घर्ती, सम्झना भण्डारी, जानकी तारामी मगर, लुभिना शर्माको स्वर छ ।

प्रकाश भट्टको निर्देशनमा बनेको भिडियोमा गायक–गायिका स्वयंमले अभिनय गरेका छन् ।भिडियोमा अजय रेग्मीको छायाँकन, विष्णु शर्माको सम्पादन छ । भिडियोलाई युट्युबमा एक दिनमै २ लाख ५० हजार बढी पटक हेरिएको छ ।

रमेशराज र रचनाको ‘तिम्रै निम्ति हो’

‘तिम्रै निम्ति हो’ बोलको गीतमा रमेशराज भट्टराई र रचना रिमालको स्वर छ । निशा शर्मा अर्यालको शब्द, रमेशराजको संगीत, विश्वास नेपालको एरेन्ज रहेको गीत गत शनिबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको थियो ।

विक्रम चौहानको निर्देशनमा बनेको डान्सिङ विटको गीतको भिडियोमा सागर लम्साल र गरिमा शर्माको नृत्य छ । भिडियोलाई ३ लाख ७० हजार बढी पटक हेरिएको छ । अजय रेग्मी एण्ड टिमको छायाँकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

दशैं गीत ‘आउँदैछु गाउँतिर’

‘आउँदैछु गाउँतिर’ बोलको दशैं गीत गत आईतबार सार्वजनिक गरिएको हो । विष्णु न्यौपानेको शब्द, खुमन अधिकारीको संगीत संकलन, सुनिल परियारको एरेन्ज रहेको गीतमा खुमनसँगै सुनिता बुढा क्षेत्री, चिज गुरुङ, दिया नेपालको स्वर छ । जेरी भण्डारीको निर्देशनमा बनेको भिडियोमा अञ्जली अधिकारी र अभिषेक खड्काको अभिनय छ ।

करन चैसिरको छायाँकन, नविन घर्ती मगरको सम्पादन रहेको गीतको भिडियोलाई युट्युबमा ३ लाख ४५ हजार बढी पटक हेरिएको छ ।

जम्बो कलाकारको अभिनयमा ‘दशैं आयो है’

लोकदोहोरी क्षेत्रका थुप्रै कलाकारहरुको अभिनयमा ‘गावै रमाईलो २– दशैं आयो है’बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । कुलेन्द्र विश्वकर्मा, विमल परियार र सविता परियारको स्वर रहेको गीतको भिडियो बुधबार मात्रै सार्वजनिक गरिएको हो । शिव हमालको शब्द, संगीत रहेको गीतमा सुनिल परियारको एरेन्ज छ ।

विक्रम चौहानको कोरियोग्राफी एवं निर्देशनमा बनेको भिडियोमा रामजी खाँण, कुलेन्द्र विश्वकर्मा, राजु गुरुङ, रञ्जिता गुरुङ, रीना थापा, राज कुमार अधिकारी, शिशिर पौडेल, निर आले, अर्जुन खड्का लगायतको अभिनय छ । गीतले दशैं आउँदा छाउने उमंग र उत्साहको भाव बोकेको छ ।

राजेश घिमिरे एण्ड टिमको छायाँकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । युट्युबमा यस गीतको भिडियोले २ लाख १० हजार बढी भ्यूज बटुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?