+
+

माझफाल – यार्चा पर्यटन गन्तव्य

प्रेमबहादुर बोहोरा प्रेमबहादुर बोहोरा
२०७८ असोज १६ गते १५:३७

माझफाल उपत्यका । चारैतर्फ हिमालै हिमालले घेरेको ठाउँ । हिमाली घेराभित्र रहनाले बाहिरी संसारले चियाउन समेत पाएको छैन । लुकेर रहेको कुरा जस्तै रहस्यमयी आकर्षण यो क्षेत्रको पर्दा खुल्ने बित्तिकै रोमाञ्चक हिमाली दृश्य, पहाडका पाखापखेरा, खोलानाला र भञ्ज्याङले पर्यटकलाई स्वागत गर्नेछन् । स्थानीय अर्गानिक स्वादले जिब्रो मात्र होइन मनै आनन्दित बनाउनेछ भने रैथाने संस्कृतिले त्यहाँबाट फिर्ता नहुँदै फेरि अर्को आगमनको योजना बुन्न बाध्य पार्नेछ । यहाँको यात्रामा आउनेहरूले चौंरी, गाईभैंसी र हिमाली च्याङ्ग्रा चरिचरनसँगै फोटो खिचाउन, भिडियो सुट गर्नुका साथै हिमाली परिदृश्य समेटेर सेल्फी पनि खिच्न छुटाउने छैनन् ।

हिमाली हीरा अर्थात् यार्चा सिजनमा यससँग जोडिएको स्थानीयको जनजीवनका बहुआयामिक पाटाहरू केलाउन सकिन्छ । हिमाली बालबालिका तथा अन्य मानिससँग गफगाफ गरी जीवनका अन्य आयामसँग पनि घुलमिल हुन सकिन्छ । यी र यस्तै अनुभव तथा अनुभूतिका लागि डोल्पाको दक्षिणी भेगको स्वाद दिन एकपटक तपाईं आफैं पुग्नुपर्नेछ । बाइक, गाडी वा पदयात्रीको रूपमा । जहाजमा होस् वा हेलिकप्टरमा नै किन नहोस्, एकपटक पर्यटकीय स्वाद लिनैपर्ने क्षेत्रको नाम हो- माझफाल ।

हिमाल र पहाडको घेरा तोड्ने र माझफाललाई बाहिरी संसारसँग जोड्ने माध्यम नहुँदा धर्तीमा रहेको यो स्वर्गको टुक्रा लुकेरै रह्यो । लुकेकैले पनि हिमाली दर्शनार्थी अर्थात् पर्यटकहरूले यो क्षेत्रको दर्शन भ्रमण गर्न पाएनन् भने पर्यटकीय कारणले हुने अर्थोपार्जनबाट माझफालवासी वञ्चित हुनपुगे ।

यसर्थ, दुवैतर्फको घाटालाई पूर्ति गर्ने, स्थानीयवासीको आर्थिक सबलीकरणका साथै पर्यटकलाई माझफाली र माझफाल क्षेत्रबाट पाइने पर्यटकीय सेवा मार्फत नाफातिरको यात्रा तय गर्नेतिर लाग्नुपर्ने देखिन्छ । सांस्कृतिक, धार्मिक, प्राकृतिक र अर्गानिकताको संयोजन त यस क्षेत्रमा उपलब्ध छ नै, यहाँसम्म पुग्न र सहज रूपमा पर्यटकीय सेवा लिन सकिने वातावरण सृजना गर्न पर्यटन पूर्वाधारमा ध्यान पुर्‍याउन सके, हाम्रो सपनाले साकार रूप लिनेछ ।

माझफालवासी यार्चाको रस मिसिएको पानी पिउँछन् । यार्चा संकलन त गर्छन् नै, प्रत्येक वर्ष श्रावण पूर्णिमामा तीर्थयात्रा पनि गर्छन्, तीनै पाटनहरूमा । एउटा पर्यटकले यस क्षेत्रमा एउटा मात्र स्वाद लिने छैनन्, जीवनको थप अनौठो तर जीवन्तता महसूस गर्न पाउनेछन् । एकजना पर्यटकले यहाँ एकसाथ बहुआयामिक पर्यटनको अनुभव लिन सक्छन् ।

. यार्चा पर्यटन

डोल्पाको नाम सुन्ने बित्तिकै धेरैले यार्चा सम्झिन्छन् । बहुमूल्य जडीबुटी यार्चाको फाइदा स्थानीयले कष्टप्रद रूपमा उठाउने र बाहिरी व्यापारीले नाफा सोहोर्ने गरेका छन् । कमै फाइदा हुने थाहा हुँदाहुँदै पनि डोल्पा बाहिरका दर्जनौं जिल्लाका बीस हजार भन्दा बढी मानिस वर्षेनि माझफालका पाटन क्षेत्रहरूमा प्रवेश गर्दछन् । पोखेपानी, साईकुमारी, रुपाटन, बागडाँडा, चिनाराङ्सी, माझगाडी तथा ढोकेनी मुख्य पाटन हुन् । पर्यटन पूर्वाधार बनाई पर्यटक भित्र्याउन थालियो भने दुःख र कष्ठका साथ स्थानीयले यार्चा संकलन गर्नै पर्दैन । बरु पर्यटकहरूको खानपिन, डुलघुम र यार्चा टिप्नमा सघाई उनीहरूको रहर पूरा गराउँदै कमाइ गर्न सक्नेछन् ।

. हिमालमा घोडा/चौरी सवार

हिमाल शब्द सुन्दा नै धेरैको तनमा ऊर्जा र मनमा रोमाञ्चकता जागृत हुन्छ । यार्चा पाटन अर्थात् हिमालको एक फेदको डाँडापाखामा घोडसवार गरी चारैतिरका सेता हिमालहरूको दृश्यावलोकन गरेको कल्पना गर्दा मात्र पनि मनै फुरुङ्ग हुन्छ भने साँच्चिकै त्यो सुविधा भोग गर्न पाइए कस्तो होला ? जेठ असारदेखि कात्तिकसम्म घोडसवारका लागि उचित हुन्छ । घोडा मात्र होइन माझफालमा चौंरी पालनसँगै चौंरी सवार पनि गर्न सकिन्छ ।

गाईभैंसी र चौंरीको दूधबाट बन्ने खीर, सिल्ला, दही, मही, घिउ, नौनी लगायत विभिन्न परिकारको स्वाद लिन सकिन्छ । लेकाली च्याङ्ग्राको स्वाद त छँदैछ ।

. तीर्थयात्रा तथा धार्मिक पर्यटन

तीर्थस्थलले भरिएको डोल्पामा सुनदह, पोखेपानी, साइकुमारी, चिनाराङ्सी, जगदुल्ला, त्रिपुरासुन्दरी मन्दिर, व्यासऋषि आदि चर्चित छन् । प्रकृति पूजक डोल्पालीहरूले मान्ने देवीदेवताका सँगसँगै तीर्थालुहरूले हरेक वर्ष साउन पूर्णिमामा यिनै तीर्थस्थलमा नुहाउन जाने चलन छ । माझफालका साईकुमारी, सुनदह, पोखेपानी लगायत तीर्थस्थलहरूमा तपाईंले स्नान गरी धार्मिक पर्यटन अर्थात् तीर्थयात्रा गर्न सक्नुहुनेछ ।

. दशैं तिहार

माझफाल क्षेत्रमा नौ गाउँहरू छन् । दशैंमा यी गाउँहरूमा लहरे नाँच नाच्ने चलन छ । बाइस खण्डे पाँच दिन लगातार नाचिने लहरे नाँच र देउडाको रमाइलोसँगै नेपालको गाउँको मौलिक चाड मनाउँदाका फरक फरक परिदृश्यहरू महसूस गर्न सक्नेछन्, पर्यटकहरूले ।

. हिउँ चिप्लेटी अर्थात स्क

दश कि.मी. क्षेत्रमा फैलिएको माझफालको रुपाटन स्कीको सम्भावना रहेको ठाउँ हो । रुकुम र डोल्पा दुवैतिरबाट हिमालमा उक्लिने केबलकार, स्कीका लागि पूर्वाधार निर्माणसँगै हिमाली रिसोर्टको सम्भावना छ । सो गर्न सकिए, अर्बौंको कारोबार हुनेछ जसबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा स्थानीयले वार्षिक लाखौंको कमाइ गर्नेछन् । र महत्वपूर्ण कुरा त, स्कीमा रुचि हुनेले विदेश धाउनुपर्ने छैन ।

. साहसिक पदयात्रा

साहसिक पदयात्राका लागि पदयात्रीहरूको रोजाइ हुन्छ, उत्तरतर्फको माथिल्लो डोल्पा । शे गुम्बा, धो, फोक्सुण्डोको व्यापक चर्चा हुन्छ । दक्षिणतर्फको डोल्पा पनि उत्तिकै हिमश्रृङ्खलाले भरिएको छ । पूर्वी र पश्चिम रुकुमबाट डोल्पा प्रवेश गर्ने बाटो होस् या माझफालभित्रै पनि पोखेपानीदेखि ढोकेनी हुँदै सुन्दह पुग्ने कुरा होस्, यी रोमाञ्चक र साहसिक पदयात्राका पाटाहरू हुन् । धेरै टाढा नगइकनै पनि सडक पुग्ने ठाउँमै वा हवाई अड्डा नजिकै यो अवसर छ, तर त्यो नखुल्दा धेरैलाई थाहा नै छैन ।

. स्थानीय अर्गानिक स्वाद

माझफालमा उत्पादन हुने चिनो, फापर, कोदो, मकै, जौ, आलु जस्ता अन्नबाली, स्याउ, ओखर, आरु लगायतका फलफल र यार्चा लगायत सयौं जडीबुटीबाट बनेका कैयौं परिकारका स्वाद लिन पाइन्छ । हिमालको चिसो सिरेटोमा नदीको दृश्यावलोकन गर्दै स्थानीय कोदो र जौबाट बनेको लोकल पेयपदार्थको सेवन पनि गर्न सकिन्छ । पौष्टिकताले भरिपूर्ण यी खाद्यपदार्थहरू बजार नपाएर पुरानो भएर र कतिपय अवस्थामा कुहिएर जाने गरेका छन् । त्यसको सदुपयोगले स्थानीयहरूको उत्पादन क्षमता बढ्ने मात्र होइन आम्दानी बढ्दा शिक्षा र स्वास्थ्यमा पनि सुधार हुनेछ ।

. परम्परागत मौलिक नेपाली गाउँको जीवनशैली

नेपालका गाउँघरहरूले नेपालीपन अर्थात् मौलिकता हराउँदै गए पनि माझफालमा भने त्यो यथावत् छन् । खस भाषा, दौरा सुरुवाल, गुन्युँ चोला र घलेकको पहिरन । देवीदेवताको पूजाआजा, चाडपर्व र भाकाहरू । यी प्रत्यक्ष र दैनिक रूपमा देख्न, अवलोकन गर्न र सहभागी हुन सकिन्छ । यी बाहेक अन्य थुप्रै आयाम छन् जुन गाउँमा छिरेपछि मात्र अनुभव गर्न सकिन्छ ।

. जैविक विविधता

उत्तर र दक्षिण दुवैमा हिमाल छन् । समुद्र सतहको २००० मिटरमा नदी छ भने गाउँ ३००० मिटर र गाउँमाथिका हिमाल पाखाहरू ५००० मिटर अग्ला छन् । त्योभन्दा अग्ला छन् यहाँबाट देखिने हिमश्रृङ्खलाहरू । नदीदेखि हिमालसम्म पाइने बोटबिरुवा, जीवजन्तु, पशुवस्तु र वन्यजन्तु आदिको अवलोकन गर्न पनि माझफाल भ्रमण गर्न सकिन्छ ।

१०. हिमाली रिसोर्टको परिकल्पना

परम्परागत रूपमा प्रयोगमा आएका ओडार र खोरहरूको संयोजन गरी विशेष किसिमको रिसोर्टको व्यवस्था गर्न सकिन्छ । यसले बनावटमा मौलिकता र परम्परागत पहिचान झल्कनेछ भने सुविधाका हिसाबले कुनै पाँचतारे होटल भन्दा कमी नहुने गरी व्यवस्थापन गर्न सकिन्छ । यसो गर्दा, हिमालको चुचुरा नजिकै रहेर शहरी सुविधा समेत सहजै उपभोग गर्न पाइनेछ ।

माझफाल आफैंमा एक पूर्ण पर्यटकीय क्षेत्र त हुँदै हो, यसको अलावा यो क्षेत्र डोल्पाको अन्य चर्चित पर्यटकीय गन्तव्यहरूको गेट वे पनि हो । यहाँबाट त्रिपुरासुन्दरी माताको मन्दिर, शे गुम्बा, फोक्सुण्डो ताल र व्यासऋषि आदिमा समेत पुग्न सकिन्छ ।

तसर्थ, यस क्षेत्रको पर्यटन संभावनाले हजारौं रोजगारी सृजना गर्नेछ जसको फाइदा यस क्षेत्रले मात्र होइन डोल्पा जिल्ला र कर्णाली प्रदेशले समेत लिन सक्छ ।

अनेकन् सेवा र सुविधाबाट स्थानीयवासीले पर्यटकहरूलाई स्वागत तथा सत्कार गर्नेछन् । यस पूर्व भने केही पूर्वाधारहरूको व्यवस्था र व्यवस्थापन गर्नैपर्ने हुन्छ ।

माझफालको घुम्टो उघार्नुअघि चाहिने पर्यटन पूर्वाधार

१. सडक र पदमार्ग जोड्ने

जति नै सुन्दर ठाउँ र परिवेश भए पनि त्यहाँ पुग्न नसकिए त्यसको महत्व हुँदैन । देशैभरि सडक निर्माण द्रुतगति भइरहेपनि देशका मुख्य सडकहरूले डोल्पालाई छुनसकेका छैनन् । भेरी करिडोरको सडकको ट्रयाक खोलिएको छ तर कम्तीमा ७ वटा पुल नबनेसम्म त्यसको पूर्ण प्रयोग हुँदैन ।

यसको विकल्प अर्थात् एउटै पनि पुल नबनाई सदरमुकामसम्म सडक पुर्‍याउन र पर्यटकीय गन्तव्यको केन्द्र बन्ने ठाउँ माझफालसम्म पुग्न सहज बनाउन पालाङ्ग, पोखेपानी, माझफाल, जुफाल हुँदै दुनैसम्मको सडकखण्डको निर्माण गर्नैपर्ने हुन्छ । अर्कोतिर दुर्गाउँ र काँडातालीबाट द्वारी लेक हुँदै पश्चिम रुकुमसँग जोड्नुपर्छ, माझफाललाई । एउटा सडकले निश्चित ठाउँसम्म पुर्‍याउँछ भने त्यसपछिका गन्तव्यहरूमा पदमार्गले डोर्‍याउनेछन् । अतः माझफाललाई बाहिरी संसारमा चिनाउनु अघि नै यत्तिको पूर्वाधार निर्माण हुनैपर्छ ।

. होमस्टे र रेसोर्टको सुविधा

परम्परागत ओडार, खोर र घरहरूलाई पर्यटकीय सेवा र सुविधा सहित प्रयोगमा ल्याउनुपर्नेछ । यसका लागि राज्यले पूँजी लगानीका साथसाथै निश्चित पूर्वाधार निर्माणमा व्यावसायिक व्यक्तिहरूलाई सहयोग गर्नुपर्ने हुन्छ । यसका साथै स्थानीयसँगको साझेदारीमा बाहिरी लगानी भित्राउन पनि सकिन्छ ।

. अर्गानिक अन्न, फलफल तथा तरकारी उत्पादनमा वृद्धि

निर्वाहमुखी कृषि उत्पादन त भइरहेकै छ । अब अरुलाई पनि खुवाउनुपर्छ भन्ने लक्ष्य सहित खाद्यान्न उत्पादनमा जोड दिनुपर्नेछ ।

. पर्यटक पथप्रदर्शक तथा अन्य पर्यटन तालिम प्राप्त मानव संसाधन

जहाँको ठाउँ त्यहींकै पथप्रदर्शक भए, पर्यटकहरूले अझ बढी सेवा लिन सक्छन्, गाउँ, ठाउँ, परिवेश बुझ्न र सहज यात्रा तय गर्न पनि । तसर्थ, पथप्रदर्शकदेखि अन्य सेवाका लागि स्थानीय युवायुवतीलाई तालिम दिई दक्ष म्यानपावरको रूपमा तयार पार्नुपर्छ ।

. स्वास्थ्य उपचारको उचित व्यवस्था

बस्ने, खाने र घुम्ने कुराका साथमा अर्को नभई नहुने पक्ष भनेकै स्वास्थ्य उपचार हो । पर्यटकहरूलाई जतिखेरै पनि जे पनि समस्या आइपर्न सक्छ, त्यसको कम्तीमा पनि आधारभूत उपचार सुविधा माझफालमै उपलब्ध गराउन सक्नुपर्दछ । पर्यटकका लागि अस्पताल तय गर्न स्थानीयवासीले पनि त्यसको सुविधा त लिने नै हुन् ।

यसका अलावा साहसिक खेलकुदका पूर्वाधार तयार गरी खेलकुद आयोजना गर्न सकिन्छ । हिमाली क्षेत्रमा हुने यस्ता खेलहरू देशमा मात्र नभई विदेशीहरूका लागि पनि चासोको विषय हुन सक्दछन् ।

यो क्षेत्र अर्थात् माझफाल यार्चा पर्यटनको संभावनालाई वास्तविकतामा बदल्न सके, यस क्षेत्र अर्थात् माझफालको मात्र नभई ठुलिभेरी नगरपालिका र सँगै जोडिएको त्रिपुरासुन्दरी नगरपालिकाका नगरवासीहरूले समेत प्रत्यक्ष फाइदा लिन सक्नेछन् ।

छिट्टै नै यहाँहरूलाई स्वागत गर्न आतुर छ, माझफाल- यार्चा पर्यटन गन्तव्य ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?