News Summary
Generated by OK AI. Editorially reviewed.- रामधुनी नगरपालिका–६ स्थित शङ्करबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ।
- सिमसारमा वनभोजका लागि दैनिक १० हजारभन्दा बढी पर्यटक आउने र शुल्कबाट संरक्षण तथा व्यवस्थापन गरिने समितिले जनाएको छ।
- कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा दुई करोड रुपैयाँ विनियोजित गरी पूर्वाधार निर्माण गरेको छ।
१० चैत, धरान (सुनसरी) । यहाँको रामधुनी नगरपालिका–६स्थित शङ्करबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
१३ वर्षअघि स्थापना गरिएको उक्त सिमसार क्षेत्र उपभोक्ता समितिको सक्रियता, संरक्षण, सरसफाइ तथा प्रदेश र स्थानीय सरकारको सहयोगमा पर्यटकीयस्थलका रुपमा विकास गरिएको हो ।
सिमसार व्यवस्थापन समितिका पूर्वअध्यक्ष रत्न राईका अनुसार यहाँ दैनिक हजारौँ पर्यटक आउने गरेका छन् । वनभोजका याममा दैनिक १० हजार बढी र ‘अफ सिजन’मा दैनिक १५० बढी पर्यटक आउने गरेको राईले बताए ।
कात्तिकदेखि पुससम्म र वैशाख १५ देखि जेठ २० सम्म वनभोजका लागि यहाँ आउनेको भीड हुने उनले बताए ।
शङ्करबेली वन उपभोक्ता समितिले संरक्षण गर्दै आएको उक्त सिमसार प्राकृतिक मनोरञ्जन र वनभोजका लागि उपयुक्तस्थल मानिन्छ ।
सिमसार वरपरका शिरीषका फूल वैशाख महिनामा फुल्दा यस क्षेत्रको सौन्दर्यले आकर्षित गर्ने गर्छ । सो समयमा पर्यटकको चाप पनि बढ्ने गरेको समितिको भनाइ छ ।
एकै पटक करिब ११० टोलीले वनभोज खान सक्ने क्षमता रहेको यस क्षेत्र वनभोजका लागि उपयुक्त स्थल मानिन्छ । वनभोजका लागि आउने टोलीबाट ३०० रुपैयाँदेखि एक हजार रुपैयाँसम्म शुल्क लिने गरिएको छ ।
उक्त रकमबाट सिमसारको संरक्षण, सरसफाइ तथा व्यवस्थापन गरिँदै आएको समितिले जनाएको छ ।
करिब साढे चार बिघा क्षेत्रफलमा फैलिएको सिमसारमा कोशी प्रदेश सरकारद्वारा गत आर्थिक वर्ष २०८०/८१ मा विनियोजित दुई करोड रुपैयाँले विभिन्न पूर्वाधार निर्माण गरिएको उपभोक्ता समितिका सदस्य निश्चल तामाङले जानकारी दिए ।
पोखरीको बीचमा अवस्थित रामधुनी नगरपालिकाको सहयोगमा करिब एक लाख ५० हजार रुपैयाँमा निर्माण गरिएको ‘ह्वाइट हाउस’ले सिमसारको आकर्षण थप बढाएको छ ।
यहाँ धरान, इटहरी, विराटनगर, झापा र उदयपुरलगायत भारतबाट पर्यटक आउने गरेका छन् ।
प्रतिक्रिया 4