+
+

नेपालमा उड्दैछन् चार दशक पुराना जहाज

अच्युत पुरी अच्युत पुरी
२०७८ असोज १७ गते ९:०८

१७ असोज, काठमाडौं । नेपालमा जब विमान दुर्घटना हुन्छ, उडान सुरक्षामा प्रश्न उठ्छ । सरकारले एउटा छानबिन समिति बनाउँछ, समितिले केही समय लगाएर प्रतिवेदन दिन्छ, सकिन्छ । हरेक पटक यही नियति दोहोरिन्छ ।

११ असोजमा बुद्ध एयरको विमान ल्याण्डिङ गियरसम्बन्धी समस्याका कारण अवतरण हुन सकेन । यस पटक पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा समिति बनाएको छ ।

समितिले नेपालमा सञ्चालनमा रहेका वायुसेवा कम्पनीहरुको भौतिक, यान्त्रिक तथा अभिलेखीय अवस्थाको अध्ययन, अवलोकन र अनुसन्धान गर्ने जिम्मेवारी पाएको छ ।

के छ नेपाली विमानहरुको अवस्था ?

समितिले के प्रतिवेदन दिन्छ, अहिले नै अनुमान गर्न हतार हुन्छ । तर नेपाली आकासमा उडिरहेका थुप्रै विमान भने तीन/चार दशक पुरानो भएको पाइएको छ ।

नेपाली आकासमा अहिले उडिरहेका जहाजको आयु केलाउँदा चार दशक अगाडिसम्म पुगिन्छ ।

नेपालमा उडान भरिरहेको सबभन्दा पुरानो जहाज हो, तारा एयरको डीएचसी ६/३०० । दुर्गम भेगमा उडान गरिरहेको यो जहाज ५ अपि्रल १९७९ मा बनेको हो ।

नेपाल एयरलाइन्ससँग पनि अर्को पुरानो जहाज छ, ट्वीनअटर डीएचसी-६ । सन् १९८४ मा किनेका यस्ता तीन वटा जहाज छ नेपाल एयरलाइन्ससँग । एउटा उड्न नसक्ने अवस्थामा छ भने अन्य २ वटा जहाज भने अहिले पनि उडानयोग्य अवस्थामा छन् । हवाई विज्ञहरुका अनुसार ट्वीनअटर जहाजको आयु ६६ हजार घण्टा वा १ लाख ३२ हजार उडान साइकल हो । यसमधये जुन पहिला पुरा हुन्छ, त्यसपछि जहाज उडानयोग्य अवस्थामा रहँदैन ।

आन्तरिक उडान गर्ने अर्को कम्पनी सीता एयरसँग पनि तीन दशकभन्दा पुरानो जहाज छ ।

डोर्नियरले सन् १९८१ देखि १९९८ को बीचमा कुल २४५ वटा जहाज निर्माण गरेको थियो । सीता एयरसँग त्यही सिरिजमा उत्पादन भएका चार वटा ‘डोर्नियर डीओ-२२८’ जहाज छन् । कम्पनीका वरिष्ठ महाप्रवन्धक घनश्याम राज आचार्यका अनुसार सबै जहाजमा आयु (उडान-अवतरणको संख्या र उडान अवधि) तोकिएको छ र त्यो पुरा नभएसम्म चल्छन् । त्यसपछि भने जहाजलाई उडाउन नमिल्ने गरि बिक्रि गरिन्छ वा अन्य प्रयोजनमा प्रयोग गर्नुपर्छ ।

गुण एयरलाइन्ससँग भएको जेटस्ट्रीम जहाज पनि तीन दशक पहिला नै निर्माण भएका हुन् । बि्रटिस एरोस्पेसले सन् १९९२ मा खरीद गरेका यी जहाज यतिले नेपाल भित्राएको हो । यतिबाट हालै खरीद गरेर अहिले गुणले उडाइरहेको छ । गुणले यसअघि सिमि्रक एयरलाइन्सले उडाइरहेका बीचक्राफ्ट १९०० जहाज समेत सन्चालनमा ल्याएको छ । यी मोडेलका जहाज समेत १९८२-२००२ सम्म मात्र भएको हो । त्यसपछि उत्पादन नै बन्द भयो ।

अहिले तारा एयरसँग रहेको डीएचसी–६–४०० वायुयान भने सन २०१६ मा ब्राण्ड न्यू भित्राइएको हो । अर्को नयाँ वायुयान नेपाल एयरलाइन्सले भित्राएका चिनियाँ जहाज हुन् । यी जहाज भने अहिले संचालनमा छैनन् ।

बुद्ध एयरसँग पनि दुई दशक पुराना जहाज

बुद्ध एयरसँग पनि साढे २ दशक पुराना जहाज छन्, यो एटीआर ४२ सिरिजको जहाज हो । सबैभन्दा पछिल्लो पुस्तको जहाज भने एटीआर ७२ मा भित्राइएको छ । यो सन् २०१० मा बनेको थियो । यो जहाज बुद्धले यसै वर्ष नेपाल ल्याएको हो ।

एयरक्राफ्ट     नेपालमा दर्ता नम्बर   निर्माण भएको वर्ष    नेपालमा सञ्चालनमा आएको वर्ष   
एटीआर ७२-५०० ९एन-एजेओ १९९७ २०१०
एटीआर ७२-५०० ९एन-एजेएस १९९७ २०११
एटीआर ७२-५०० ९एन-एजेएक्स १९९९ २०१२
एटीआर ७२-५०० ९एन-एएमडी २००६ २०१७
एटीआर ७२-५०० ९एन-एएफएम २००७ २०१८
एटीआर ७२-५०० ९एन-एएमयू २००७ २०१८
एटीआर ७२-५०० ९एन-एएमवाई २००७ २०१९
एटीआर ७२-५०० ९एन-एएनआई २००७ २०१९
एटीआर ७२-५०० ९एन-एएनएच २०१० २०२१
एटीआर ७२-५०० ९एन-एजेएल २०१० २०२१
एटीआर ४२-३२० ९एन-एआईएम १९९५ २००८
एटीआर ४२-३२० ९एन-एआइएन १९९५ २००८
एटीआर ४२-३२० ९एन-एआइटी १९९६ २००६
बीचक्राफ्ट १९००डी ९एन-एईई १९९७ १९९७
बीचक्राफ्ट १९००डी ९एन-एईडब्यू १९९८ १९९८

यति एयरलाइन्ससँग रहेका जहाज

यतिसँग रहेका जहाजमध्ये सबैभन्दा पुरानो जहाजको आयु १४ वर्ष रहेको छ । बुद्धको तुलनामा यति निकैपछि अर्थातः २०१७ बाट मात्र एटीआर जहाजमा प्रवेश गरेको हो ।

एयरक्राफ्ट     नेपालमा दर्ता नम्बर   निर्माण भएको वर्ष    नेपालमा सञ्चालनमा आएको वर्ष   
एटीआर-७२ ९एन-एएमएन २००९ २०१७
एटीआर-७२ ९एन-एएमएम २००७ २०१७
एटीआर-७२ ९एन-एएलएन २००८ २०१८
एटीआर-७२ ९एन-एएनसी २००७ २०१९
एटीआर-७२ ९एन-एएनजी २००७ २०१९

श्री एयरलाइन्ससँग रहेका जहाज

निजी क्षेत्रको अर्को कम्पनी श्री एयरलाइन्ससँग रहेका जहाजमध्ये कतिपयको १९ वर्ष आयु पूरा भइसकेको छ । यो कम्पनीले बम्बाडियर सीआरजे एयरक्राफ्ट भित्राएर उडान थालेको थियो । सन् १९९९ बाटै हेलिकोप्टर सेवा दिएको यो कम्पनीले सन् २०१७ बाट नियमित हवाई उडान थालेको हो ।

एयरक्राफ्ट     नेपालमा दर्ता नम्बर   निर्माण भएको वर्ष      नेपालमा सञ्चालनमा आएको वर्ष   
सीआरजे-२०० ९एन-एएमए २००३ २०१७
सीआरजे-२०० ९एन-एएमसी २००२ २०१७
सीआरजे-७०० ९एन-एएमबी २००२ २०१७
सीआरजे-७०० ९एन-एएमओ २००६ २०१८
क्यू-४०० ९एन-एएनई २००७ २०१९
क्यू-४०० ९एन-एएनएफ २००७ २०१९

सौर्य एयरलाइन्ससँग रहेका जहाज र तिनको आयु

एयरक्राफ्ट     नेपालमा दर्ता नम्बर   निर्माण भएको वर्ष      नेपालमा सञ्चालनमा आएको वर्ष   
सीआरजे-२०० ९एन-एएलई २००१ २०१४
सीआरजे-२०० ९एन-एएमई २००३ २०१७

वायुसेवा सञ्चालक कम्पनीहरुले विमान निर्माता कम्पनी तथा नियमन गर्ने निकायले जारी गरेको दिशा-निर्देशलाई अक्षरशः पालना गर्नुपर्छ । नभए दण्डित गरिन्छ । एटीआर जहाजको सामान्यतया आयु ७० हजार घण्टा हो ।

हरेक ५ हजार उडानपछि इन्जिनको पूर्णचेक गरिन्छ । जसलाई सीचेक भन्ने गरिन्छ । कम्पनीका अनुसार धेरै उडान गरेमा यस्तो जहाजको आयु छिटो सकिन्छ, कम उडान गरेमा धेरै वर्षसम्म जहाज टिक्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वउपमहानिर्देशक देवानन्द उपाध्यायका अनुसार वायुयानमा जडान गरिएका हरेक पार्टपूर्जाको पनि छुट्टाछुट्टै आयु हुन्छ । त्यो आयु पूरा हुनासाथ वायुसेवा प्रदायक कम्पनीले सो पार्टपूर्जा अनिवार्य रुपमा मर्मत वा परिवर्तन जे गर्नुपर्ने हो, त्यो गर्नैपर्छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?