+
+

मोरङका १७ मध्ये २ पालिकामा मात्र देउवा पक्ष विजयी

हरि अधिकारी हरि अधिकारी
२०७८ असोज १७ गते १५:०७
फाइल तस्वीर

१७ असोज, विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङका १७ मध्ये १५ स्थानीय तहको नेतृत्व संस्थापन इतर पक्षले पाएको छ । दुई पालिकाको नेतृत्व देउवा पक्षले पाएको छ । अधिकांश स्थानीय तहमा केन्द्रीय सदस्य शेखर कोइराला निकट उम्मेदवार विजयी भएका छन् भने केहीमा नेता कृष्ण सिटौला पक्षका उम्मेदवार विजयी भएका छन् ।

काङ्ग्रेसका जिल्ला सभापति डिगबहादुर लिम्बुका अनुसार चार वटा पालिकामा सर्वसम्मत र अरुमा निर्वाचनबाट नेतृत्व चयन भएको हो ।

सभापति लिम्बुका अनुसार उर्लाबारी नगरपालिकामा सुरेन्द्र लिम्बु, रतुवामाई नगरपालिकामा पोष्टबहादुर बस्नेत, केराबारी गाउँपालिकामा प्रकाश बस्नेत र जहदा गाउँपालिकामा महेन्द्रप्रसाद मण्डल सर्वसम्मत सभापतिमा निर्वाचित भएका छन् । ती मध्ये जहदाका सभापति मण्डल देउवा पक्षका हुन् ।

विराटनगर महानगरपालिकाको नगर सभापतिमा दीपक चापागाई निर्वाचित भएका छन् । चापागाईं २१२ मतसहित निर्वाचित हुँदा देउवा पक्षका उम्मेदवार सन्तोष न्यौपानेले १६५ मत प्राप्त गरे । संस्थापन इतर पक्षका कृष्ण कार्कीले १३३ र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली निकट उम्मेदवार अरुण न्यौपानेले १२७ मत प्राप्त गरे । कोइराला समूहमा रहेका पराजुली पछिल्लो समय कृष्ण सिटौलासँग नजिक छन् ।

कानेपोखरी सभापतिमा योगेन्द्र दाहाल ७३ मत ल्याएर विजयी हुँदा देउवा पक्षका उम्मेदवार दीपक चापागाईले ७१ मत प्राप्त गरे ।

बेलबारी नगर सभापतिमा छत्र लिम्बु १३६ मत ल्याएर विजयी भए । अर्का उम्मेदवार शम्भु भट्टराईले ९४ मत पाए ।

लेटाङ नगरसभापतिमा दीपकचन्द्र राई ६० मतसहित विजयी भए । सभापतिका अर्का उम्मेदवार देवराज चाम्लिङले ५६ र कुबेर पौडेलले ४१ मत प्राप्त गरे ।

पथरीशनिश्चरेमा रुपनारायण भट्टराई ८२ मत प्राप्त गर्दै बिजयी भए । अर्का उम्मेदवार लोकनाथ खरेलले ५८ मत प्राप्त गरे ।

सुनबर्सी नगरपालिका सभापतिमा कमलकिशोर सिंह निर्वाचित भए । सिंहले १०५ मत ल्याए भने अर्का उम्मेदवार महेश्वर राजवंशीले ८९ र बैजनाथ झाले ८ मत पाए ।

रंगेली नगरपालिकामा जगरनाथ मण्डल १०६ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिष्पर्धी जितनारायण खवासले १०४ मत पाए ।

सुन्दरहरैचा नगरपालिका सभापतिमा भक्ति सिटौला १६९ मत ल्याएर विजयी भए । सभापतिका अर्का उम्मेदवार महेन्द्र धिमालले ६७ मत प्राप्त गरे ।

कटहरी गाउँपालिका सभापतिमा रामकुमार कामत निर्वाचित भएका छन् । पालिका प्रमुखसमेत रहेका कामतले ८४ ल्याए भने अर्का उम्मेदवार हरिनारायण माझीले ४४ मत प्राप्त गरे ।

मिक्लाजुङ गाउँपालिकामा बबी राई १३४ मतसहित निर्वाचित भए । अर्का उम्मेदवार अरुणविक्रम बस्नेतले २१ मत प्राप्त गरे ।

ग्रामथान गाउँपालिका सभापतिमा तुलसी विश्वास निर्वाचित भएका छन् । । उनले ९३ मत प्राप्त गरे । सभापतिका उम्मेद्वार भूपनारायण माझीले ७२ र नमोनारायण माझीले १७ मत प्राप्त गरे ।

बुढीगंगा गाउँपालिका सभापतिमा जीतनारायण थापा निर्वाचित भएका छन् । उनले ७६ मत प्राप्त गर्दा सभापतिका अकाए उम्मेदवार रेवतीनारायण चौधरीले ५४ मत प्राप्त गरे ।

धनपालथानमा सभापतिमा दीपकवीर पाण्डे विजयी भएका छन् । पाण्डेले ८३ मत र अर्का उम्मेदवार बासुदेव रायले ३७ मत प्राप्त गरे ।

निर्वाचन भएका १३ पालिकामध्ये धनपालथानमा विजयी भएका पाण्डे मात्रै सभापति देउवा पक्षका हुन् । मोरङ क्षेत्र नम्बर ५ मा सभापति देउवा समूहका नेता अमृत अर्यालको पकड छ । धनपालथान र जहदा गाउँपालिका क्षेत्र नम्बर ५ मा नै पर्छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?