+
+

कांग्रेस महाधिवेशन : मोरङमा देउवा समूहका दुई मात्रै नगर सभापति

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १५:२०
प्रतीकात्मक तस्वीर

१७ असोज, विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङका १७ मध्ये १५ पालिकाको नेतृत्वमा संस्थापन इतरपक्ष पुगेको छ । दुई पालिकाको नेतृत्व देउवा पक्षले पाएको छ ।

कांग्रेस मोरङ सभापति डिगबहादुर लिम्बुका अनुसार चारवटा पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । सर्वसम्मत नेतृत्व चयन भएका चारमध्ये एक पालिकामा देउवा पक्षका व्यक्ति आएका छन् ।

निर्वाचन भएका १३ मध्ये १२ पालिकामा संस्थापनइतर पक्ष विजयी भएको छ । विजयी भएका उम्मेदवार केन्द्रीय सदस्य डा. शेखर कोइराला निकट हुन् ।

सभापति लिम्बुका अनुसार उर्लाबारी नगर सभापतिमा सुरेन्द्र लिम्बु, रतुवामाई नगरपालिकामा पोष्टबहादुर बस्नेत, केराबारी गाउँपालिका सभापतिमा प्रकाश बस्नेत र जहदा गाउँपालिकामा महेन्द्रप्रसाद मण्डल सर्वसम्मत चयन भएका हुन् । तीमध्ये जहदाका सभापति मण्डल देउवा पक्षका हुन् ।

विराटनगर महानगरपालिकाको नगर सभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन् । २१२ मतसहित निर्वाचित हुँदा देउवा पक्षका उम्मेदवार सन्तोष न्यौपानेले १६५ मत प्राप्त गरे । संस्थापनइतर पक्षका कृष्ण कार्कीले १३३ र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली निकट उम्मेदवार अरुण न्यौपानेले १२७ मत प्राप्त गरे । कोइराला समूहमा रहेका पराजुली पछिल्लो समय कृष्ण सिटौलासँग नजिक छन् ।

कानेपोखरी गाउँपालिकाको सभापतिमा योगेन्द्र दाहाल निर्वाचित भएका छन् । कोइराला पक्षका दाहालले ७३ मत प्राप्त गरे । देउवा पक्षका उम्मेदवार दीपक चापागाईंले ७१ मत प्राप्त गरे ।

बेलबारी नगर सभापतिमा छत्र लिम्बु विजयी भएका छन् । उनले १३६ मत प्राप्त गर्दा सभापतिका उम्मेदवार शम्भु भट्टराईले ९४ मत प्राप्त गरे । लेटाङ नगर सभापतिमा दीपकचन्द्र राई ६० मतसहित विजयी भए । सभापतिका उम्मेद्वार देवराज चाम्लिङले ५६ र कुबेर पौडेलले ४१ मत प्राप्त गरे ।

पथरीशनिश्चरे नगरपालिकामा रुपनारायण भट्टराई ८२ मत प्राप्त गर्दै विजयी भए । अर्का उम्मेदवार  लोकनाथ खरेलले ५८ मत प्राप्त गरे ।

सुनबर्सी नगरपालिका सभापतिमा कमलकिशोर सिंह निर्वाचित भए । सिंहले १०५ मत ल्याए । सभापतिका उम्मेद्वार महेश्वर राजवंशीले ८९ र बैजनाथ झाले ८ मत पाए ।

रंगेलीमा जगरनाथ मण्डल निर्वाचित भएका छन् । उनले १०६ ल्याउँदा निकटतम प्रतिस्पर्धी जितनारायण खवासले १०४ मत पाए ।

सुन्दरहरैंचा नगरपालिका सभापतिमा भक्ति सिटौला निर्वाचित भए । उनले १६९ मत प्राप्त गरे । सभापतिका अर्का उम्मेदवार महेन्द्र धिमालले ६७ मत प्राप्त गरे ।

कटहरी गाउँपालिका सभापतिमा रामकुमार कामत निर्वाचित भएका छन् । पालिका प्रमुखसमेत रहेका कामतले ८४ ल्याएका थिए । सभापतिका अर्का उम्मेदवार हरिनारायण माझी ४४ मत प्राप्त गरे ।

मिक्लाजुङ गाउँपालिकामा बबी राई १३४ मतसहित निर्वाचित भए । अर्का उम्मेदवार अरुणविक्रम बस्नेतले २१ मत प्राप्त गरे ।

ग्रामथान गाउँपालिका सभापतिमा तुलसी विश्वास निर्वाचित भएका छन् । उनले ९३ मत प्राप्त गरे । सभापतिका उम्मेदवार भूपनारायण माझीले ७२ र नमोनारायण माझीले १७ मत प्राप्त गरे ।

बुढीगंगा गाउँपालिका सभापतिमा जीतनारायण थापा निर्वाचित भएका छन् । उनले ७६ मत प्राप्त गर्दा सभापतिका उम्मेदवार रेवतीनारायण चौधरीले ५४ मत प्राप्त गरे ।

धनपालथान गाउँपालिकाको सभापतिमा दीपकवीर पाण्डे विजयी भएका छन् । पाण्डेले ८३ मत र बासुदेव रायले ३७ मत प्राप्त गरे ।

निर्वाचन भएका १३ पालिकामध्ये धनपालथानमा विजयी भएका पाण्डे मात्रै सभापति देउवा पक्षका हुन् । मोरङ क्षेत्र नम्बर ५ मा सभापति देउवा समूहका नेता अमृत अर्यालको पकड छ ।  धनपालथान र जहदा गाउँपालिका क्षेत्र नम्बर ५ मा नै पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?