+
+
Shares

युट्युबमा एकैदिन दुई दर्जन नयाँ गीत, छैन उत्साहजनक भ्युज

गीत सार्वजनिकका लागि किन रोजिन्छ ‘शुक्रबार’ ?

सुशील नेपाल सुशील नेपाल
२०७८ असोज १७ गते १७:२०

१७ असोज, काठमाडौं । सिनेमा हल खोल्ने अनुमति दिएपनि चलचित्रहरु प्रदर्शन भएका छैनन् । चलचित्र छायाँकनका गतिविधि मात्र फाट्टफुट्ट भएका छन् । यस्तोमा म्युजिक भिडियोको भने बाढी नै आएको छ । यतिसम्मकी एकैदिन दुई दर्जनसम्म म्युजिक भिडियो सार्वजनिक भएका छन् । गत शुक्रबार झण्डै दुई दर्जन गीतका म्युजिक भिडियो युट्युबमा सार्वजनिक भए । त्यसमा एउटै कलाकारका एकभन्दा बढी गीत समेत छन् ।

भिडियो सार्वजनिक गर्न किन रोजिन्छ शुक्रबार ?

माहोल सामान्य हुन्थ्यो त शुक्रबार नेपाली चलचित्र प्रदर्शनका लागि होडबाजी हुन्थ्यो । नेपालमा विगतदेखि नै प्रायः शुक्रबार चलचित्र प्रदर्शन हुँदै आएका छन् । त्यस्तो होडबाजी अहिले म्युजिक भिडियोमा देखिएको छ । अन्य दिनको तुलनामा शुक्रबार धेरै संख्यामा म्युजिक भिडियोहरु सार्वजनिक भइरहेका हुन्छन् ।

म्युजिक भिडियो सार्वजनिकका लागि किन रोजिन्छ शुक्रबार ? नेपाल म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष विधान कार्की बिदालाई लक्षित गरेर धेरै म्युजिक भिडियो शुक्रबार सार्वजनिक गर्ने गरिएको बताए । ‘शुक्रबार कार्यालय चाँडो बिदा हुन्छ । मानिसहरु ह्याप्पी मूडमा हुन्छन् । शनिबार बिदा भइहाल्यो,’ कार्की भन्छन्, ‘ह्याप्पी मूड वा बिदामा मानिसहरु गीतसंगीत हेर्ने, चलचित्र हेर्ने, मनोरञ्जन गर्ने गर्छन् । सोही कारण धेरैले शुक्रबार भिडियो सार्वजनिक गर्ने गरेका हुन् ।’

उनले आफूले निर्देशन गरेका प्रायः म्युजिक भिडियो शुक्रबार र शनिबार सार्वजनिक गर्दै आएका छन् । उनको निर्देशन रहेको ‘चुप चाप’बोलको गीतको भिडियो गत शुक्रबार सार्वजनिक गरिएको थियो ।

गीतसंगीत नेपालमा मात्र नभई बाहिर पनि हेरिने र बाहिर शनिबार र आइतबार बिदा हुने भएकाले पनि धेरैले म्युजिक भिडियो सार्वजनिकका लागि शुक्रबार नै रोज्ने गरेको कार्कीले बताए ।

पहिले टेलिभिजनमार्फत प्रायः आइतबार, मंगलबार प्रिमियर गर्ने गरेको स्मरण गर्दै भने,  ‘पहिलेदेखि यस्तो थिएन । अहिले आफ्नै युट्युब भएपछि जहिले सार्वजनिक गरेपनि भयो । त्यसमा उपयुक्त समय धेरैले शुक्रबार रोज्ने गरेका छन् ।’ उनले शुक्रबार सार्वजनिक गरेका भिडियोको इनिसियल भ्यूज बढी जाने गरेको अनुभव संगालेको बताए ।

कोरियोग्राफर एवं निर्देशक रामजी लामिछाने पनि बिदालाई नै लक्षित गरेर धेरैले शुक्रबार भिडियो सार्वजनिक गर्ने गरेको बताउँछन् । गत शुक्रबार उनको कोरियोग्राफी एवं निर्देशनमा ‘रम रम मरौटी’ गीतको भिडियो सार्वजनिक भएको थियो ।

लामिछानेले अनलाइनखबरसँग भने, ‘शनिबार धेरै फुर्सदमा हुँदा भिडियोको भ्युज जान्छ कि भन्ने लोभ पनि होला । अहिले गीत टिकटकमा पनि चल्नुपर्ने अवस्था छ । टिकटक पनि फुर्सदको समयमा बनाउने हुनाले धेरैले शुक्रबारलाई भिडियो सार्वजनिकको उपयुक्त दिन मानेका हुन् ।’

कतिले अन्य बार सार्वजनिक गरेपनि शनिबारको फुर्सदलाई ‘टार्गेट’ गरेर धेरैले शुक्रबार सार्वजनिक गर्ने गरेको बताए । आफूले भ्युजको लोभमा मात्र शुक्रबार भिडियो सार्वजनिक नगर्ने गरेको बताउँदै भने, ‘मेरो कामलाई एप्रिसिएट गरोस् भन्ने हो । मेरो चलचित्रका गीतहरु शुक्रबार सार्वजनिक हुँदा राम्रो पनि भएको थियो । त्यसकै आधारमा म्युजिक भिडियो शुक्रबार सार्वजनिक गर्ने गरेको हुँ ।’

निर्देशक काजिश श्रेष्ठले पनि नेपाल र बाहिरको बिदालाई लक्षित गर्दै धेरैले बिहीबार र शुक्रबार भिडियो सार्वजनिक गर्ने गरेको बताए । त्यसमा पनि संख्यात्मक हिसाबले शुक्रबार नै धेरै भिडियोहरु सार्वजनिक हुने उनले बताए ।

पहिलेको सन्दर्भमा यस्तो नरहेपनि पछिल्ला डेढ-दुई वर्षयता भिडियो धेरै बन्न थालेसँगै धेरैले शुक्रबार सार्वजनिक गर्ने परिपाटी बढेको बताए ।

शुक्रबार एकैदिन दुई दर्जन गीत

खेम सेञ्चुरी र अस्मिता अधिकारीको स्वर, पूजा शर्मा र ओबी रायमाझी अभिनित ‘रम रम मरौटी’ गत शुक्रबार सार्वजनिक गरियो । वसन्त थापा र देवी घर्तीको स्वरमा ‘उही खोलीमा पानी २-जवानीको औषधि’ गत शुक्रबार सार्वजनिक भयो । यसको भिडियोमा लोमश शर्मा र रविना भण्डारीको अभिनय छ ।

त्यस्तै मेलिना राई र लोक पौडेलको स्वर तथा प्रकाश सपूत र आँचल शर्माको अभिनय रहेको ‘बेरुवाको औंठी’, निशान भट्टराईको स्वर तथा पल शाह र उषा उप्रेतीको अभिनय रहेको ‘मलाई भुलिदिनु’, रामकृष्ण ढकाल र अञ्जु पन्तको स्वर तथा दिलीप रायमाझी र गरिमा शर्माको अभिनयमा ‘माछीले चलायो पानी’, शिव परियारको स्वर तथा सरोज खनाल, पल शाह, आकाश श्रेष्ठ, प्रमिला कार्कीको अभिनयमा ‘जति बिर्सौं तिम्रो याद’, रोशन अधिकारी र अस्मिता अधिकारीको स्वर तथा रोशन र नम्रता सापकोटाको अभिनयमा ‘चुपचाप’ शुक्रबार नै युट्युबमा सार्वजनिक भए ।

कुलेन्द्र विश्वकर्मा, निश्चल घिमिरे, लक्ष्मी मल्ल र टीका पुनको स्वर तथा रामजी खाँण, करिश्मा ढकाल लगायतको अभिनय रहेको ‘देखेर मायालाई’, कुशल बेलवासेको स्वरमा विनोद भण्डारी र जुना गुरुङको अभिनय रहेको ‘उतै जान पर्छ’, समीक्षा अधिकारी र विनोद गुरुङको स्वर तथा सुनिल क्षेत्री र दिवयानी वलीको अभिनयमा ‘भमरा’, राजकुमार बानियाँको स्वर तथा गौरी मल्ल, सुधीर श्रेष्ठ लगायतको अभिनय रहेको ‘परदेशको पीडा’ गीतको भिडियो पनि शुक्रबार सार्वजनिक भयो ।

त्यस्तै रचना रिमालको स्वरमा ‘विरोध छैन’, कर्मा ग्याल्जेन बम्जनको स्वरमा ‘तिम्रो याद’, राजेशपायल राई र सुनिता तेगिमको स्वरमा ‘बोली मीठो’, सागर आले मगरको स्वरमा ‘सानु’, बीमा सारु मगर र कृष्ण केसीको स्वरमा ‘मायाले बोलायो किन’, निरज आचार्यको स्वरमा ‘आकाश राम्रो’, आर्यन तामाङ र  रचना रिमालको स्वरमा ‘सुन्छु अरे’ लगायतका गीतको म्युजिक भिडियो पनि शुक्रबार नै सार्वजनिक भए ।

छैन उत्साहजनक ‘भ्युज’

सार्वजनिक गीतले युट्युबमा उत्साहजनक भ्युज भने पाउन सकेका छैनन् । अधिकांश भिडियोलाई ‘बुष्ट’ गरिएको छ, तर भ्युज निकै कम छ । केही सीमित गीतले मात्र दुई दिनमा १ लाख भ्युज पार गरेका छन् । शिव परियारको ‘जति बिर्सौं तिम्रो याद’ दुई दिनमा २ लाख २० हजार बढी पटक हेरिएको छ ।

यस्तै खेम सेञ्चुरी र अस्मिताको स्वर रहेको ‘रम रम मरौटी’ले दुई दिनमा १ लाख २५ हजार भ्युज पाएको छ । वसन्त थापा र देवी घर्तीको स्वरमा ‘उही खोलीमा पानी २-जवानीको औषधि’ले बल्लतल्ल १ लाख भ्यूज पुर्‍याएको छ । रोशन अधिकारी र अस्मिता अधिकारीको स्वर रहेको ‘चुपचाप’ले २० हजार मात्र भ्युज पाएको छ । निशान भट्टराईको स्वरमा पल शाह र उषा उप्रेती अभिनित ‘मलाई भुलिदिनु’लाई अहिलेसम्म १ लाख भ्यूज पुर्‍याउनै हम्मेहम्मे देखिएको छ ।

रामकृष्ण ढकाल र अञ्जु पन्तको स्वर तथा दिलीप रायमाझी र गरिमा शर्माको अभिनयमा ‘माछीले चलायो पानी’को भ्युज ७ हजार मात्र छ । पछिल्लो समय म्युजिक भिडियोको भ्युज कम गएको निर्देशकहरु बताउँछन् । ‘अहिले एकदमै धेरै भिडियो आउन थाले,’ निर्देशक विधान भन्छन्, ‘यति धेरै भिडियोहरु आउँछ कि कुन हेर्ने कुन नहेर्ने, कुन राम्रो कुन नराम्रो दर्शकलाई थाहै नहुने भयो । सोही कारण भ्युज कम गएजस्तो लाग्छ ।’

लेखक
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?