+
+

डुबेर मृत्यु : बच्चाको होइन, जलाशयको व्यवस्थापन गरौं

अजय यादव, समाजशास्त्री अजय यादव, समाजशास्त्री
२०७८ असोज १८ गते ८:२९

एक वर्ष यता डुबेर मृत्यु हुने घटना ह्वात्तै बढेको छ । सामाजिक संरचनाको स्वरुपले पनि यस्ता घटनाहरू भइरहेका छन् । गाउँघरतिर बच्चा डुब्ने घटना धेरै भइरहेका छन् । गाउँका मानिस अझै पनि के बुझिरहेका छन् भने तिनीहरू वरिपरिका मान्छेहरू सहयोगी छन् । बच्चाहरू खेल्न छाडिदिए पनि ती सुरक्षित नै रहन्छन् । केही भए वरिपरिका मान्छेले बचाइदिन्छन् भन्ने विश्वास अझै छ । यही सोचेर अभिभावक ढुक्क भएर काममा जान्छन् । बच्चाको राम्रो हेरचाह नगर्नुको एउटा कारण यो पनि हो ।

गाउँघरको बनावट नै यस्तो हुन्छ कि घर नजिकै पोखरी, तलाउ र नदी हुन्छ । नदी, तलाउ, पोखरी छेउमा घर भएपछि त्यो पूर्ण रूपमा सुरक्षित त हुँदैन । अर्काे कुरा बच्चाको मस्तिष्कमा यसको जोखिमबारे कुनै ज्ञान हुँदैन ।

गाउँघरको अवस्था हेर्ने हो भने पुरुष मान्छे काम गर्न बाहिर जान्छन् । महिलाहरू खेतीपातीको काममा बाहिर नै हुन्छन् । बुहारी भएर आएकाहरू घरमा हुन्छन् । यिनीहरू घरको काम गर्छन् । घरबाहिर निस्किनै पाइरहेका हुँदैनन् । जसका कारण बच्चा उत्साहित भएर खेलिरहेका हुन्छन् । बच्चा खेलिरहेको ठाउँमा अभिभावक हुँदैनन् । त्यही भएर खेल्दाखेल्दै कतिपय बच्चा डुब्छन् ।

गाउँघरमा टोलपिच्छे पोखरी छन् । केही गाउँमा पोखरीसँगै नहर, तलाउ, नदी पनि छन् । ती जलाशयहरूको गहिराइ कति हुन्छ भन्ने कुरा पनि थाहा हुँदैन । जलाशयमा बच्चा डुबेपछि यस्तो कुनै संयन्त्र देखेको छैन जसले उसको चाँडो उद्धार गरोस् ।

कसैले खाल्डो खनेर काम सकिएपछि पुरेन भने कानून प्रयोग गरेर भए पनि खाल्डो पुर्न लगाउनुपर्छ । यसलाई त प्रकोपको नाम दिएर समयमै उपचार गर्नु जरूरी छ ।

बच्चा स्वभावैले चञ्चल हुन्छन् । बदमासी गर्छन् । त्यसलाई अभिभावकले व्यवस्थापन गर्न सक्दैनन् । पानीले मानवको दुई कुरालाई एट्याक गर्छ । एउटा मानसिक र अर्काे शारीरिक । गाउँमा पानीमा गएर पौडिने कुरा दिमागमा आइरहन्छ ।

अर्काे पानीमा गएपछि गर्मीबाट बच्न सकिन्छ भन्ने अनुभूति हुन्छ । यी दुवै कारणले गाउँमा मानिस पानीमा बढी पस्ने गर्छन् । अन्य उमेरका भन्दा बढी बच्चाहरू पानीमा जान रुचाउँछन् । तर उनीहरू पौडी खेल्न सक्दैनन् अनि जोखिममा पर्छन् ।

बच्चाको होइन, जलाशयको व्यवस्थापन गरौं

बच्चाहरू डुबिरहेको घटनामा अभिभावकले नै चासो राख्नुपर्छ । बच्चालाई दोष दिएर हुन्न । घरको छेउमा रहेको पोखरी, नदीनाला कति सुरक्षित छन् भन्ने यकिन गर्नुपर्छ । धेरै असुरक्षित छन् भने त्यसलाई व्यवस्थापन गर्नुपर्छ । गहिरो छ भने व्यवस्थापन गर्न ठोस योजना बनाएर काम अघि बढाउनुपर्छ । बच्चाको व्यवस्थापन हामी गर्न सक्दैनौं, किनभने बच्चाको स्वभाव नै त्यस्तै हुन्छ । उसमा परिपक्वता आउने उमेर नभएसम्म त्यसलाई रोक्न सकिन्न ।

अर्काे कुरा पूर्ण रूपमा रोक्नलाई जनचेतना अभियान पनि चलाउनुपर्छ । अहिले जनचेतना शब्दकै दुरुपयोग भइरहेको छ । जनचेतना शब्द एकदमै मीठो हो । तर, जनचेतना अभियान संचालन गर्ने भन्ने व्यक्तिले स्थानीयको भावना बुझेकै हुँदैनन् । त्यो अभियानबाट मान्छे कति लाभान्वित भएको छ ? प्रभाव के परेको छ ? त्यसको विश्लेषण गर्नुपर्छ । मधेशमा डुबेर हुने मृत्युमा अहिलेसम्म यसको विश्लेषण भएकै छैन ।

पोखरी, नदीनालामा मात्रै नभई अहिले त सडकमै भएको खाल्डामा जमेको पानीमा पनि बच्चाहरूको डुबेर मृत्यु भइरहेको छ । यो विडम्बना हो र, हामी सबै यसमा दोषी छौं । खाल्डो हुन नदिन स्थानीय जनप्रतिनिधिको पनि जिम्मेवारी हो । खाल्डो किन भएको छ ? किन पुरिएको छैन ? त्यसतर्फ स्थानीय सरकारले पनि चासो राख्नुपर्छ ।

हाम्रो सामाजिक पक्ष कस्तो छ भने खाल्डो छ भने पनि हामी कसले बनायो, किन बनायो भनेर चासो राख्दैनौं । नागरिक समाजले यसमा जिम्मेवारी नै निर्वाह गरिरहेको छैन । समाजले जनप्रतिनिधिलाई घचघच्याउनुपर्छ र प्रशासनले पनि यसमा सहयोग गर्नु जरूरी छ । कसैले खाल्डो खनेर काम सकिएपछि पुरेन भने कानून प्रयोग गरेर भए पनि खाल्डो पुर्न लगाउनुपर्छ ।

राज्यलाई जगाउने काम हामी सबैको हो । राज्यले त्यत्तिकै कुनै काम गर्दैन । राज्यलाई सूचना नदिएसम्म, जानकारी नगराएसम्म र दबाब नदिएसम्म उसले यस्ता कुरामा ध्यानै दिंदैन ।

डुबेर मृत्यु भइरहेका घटनाले जनप्रतिनिधि र नागरिक समाजको मनमा कहिल्यै पनि यो कुरा आएन कि यसले हाम्रो समाजलाई खतरातर्फ धकेलिरहेको छ । डुबेर बालबालिकाको मृत्यु जस्तो यत्रो मानवीय क्षतिमा कोही पनि गम्भीर छैन । घटना भएपछि प्रशासन आउँछ एक पटक स्थलगत निरीक्षण गर्छ र रिपोर्ट बनाएर जान्छ । यसलाई त प्रकोपको नाम दिएर समयमै उपचार गर्नु जरूरी छ ।

यसमा सक्रियता देखाउनु सरकारसँगै नागरिकको पनि दायित्व हो । घटना भइरहेको छ हामी टुलुटुल हेरिरहेका छौं । हेर्छाैं पचाइहाल्छौं । पीडित बाहेक अरूलाई खासै छोइरहेको छैन यस्ता घटनाले ।

यसको नियन्त्रणमा सरकारको धेरै जिम्मेवारी हुन्छ । अहिले मुलुकमा राजनीतिक अवस्था यस्तो छ कि हाम्रा जनप्रतिनिधिले संसदमा आवाज त उठाउँछन् तर सुन्ने कोही छैन ।

नागरिक समाज, युवावर्ग, प्रशासन, सम्बन्धित निकाय जनप्रतिनिधि मिलेर छलफल गरेर ठोस रूपमा पाइला नबढाएसम्म सरकारले पनि केही गर्नेवाला छैन । हामी जागेर, आवाज उठाएर, दस्तावेज पठाएपछि र समाधानको बाटो देखाएपछि बल्ल सरकार जाग्छ । त्यो कामै भएको छैन ।

(जनकपुरधामस्थित रारा बहुमुखी क्याम्पसका समाजशास्त्रका प्राध्यापक यादवसँग अनलाइनखबरकर्मी श्रवणकुमार देवले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?