१९ असोज, बार्सिलोना । नेपालको राजनीतिक गठबन्धनका आधारमा नै उम्मेदवारी दिने भन्दै बेल्जियम निवासी व्यवसायी लोकप्रसाद दाहालले कुल आचार्य प्यानलबाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
अध्यक्षका प्रत्यासी कुल आचार्यले संचालन गर्दै आएको ‘खुला डबली’ कार्यक्रममा सोमबार बोल्दै वर्तमान सहकोषाध्यक्ष समेत रहेका दाहालले आचार्य समूहबाट उम्मेदवारी दिने बताएका हुन् ।
यसअघि दाहाललाई डा. बद्री केसीको प्यानलबाट कोषाध्यक्ष पदको उम्मेदवारको रुपमा प्रचार गरिएको थियो ।
‘कुलजीसँगै हिजो लामो छलफलपछि नेपालमा भएको गठबन्धनको जुन एउटा समीकरण छ । त्यही अनुसार प्रवासमा भएका साथीहरु पनि एकै ठाउँमा जानुपर्छ भन्ने निष्कर्षमा पुग्यौं। मैले यसै टिमबाट कोषाध्यक्ष पदमा उम्मेदवार दिने निर्णय गरेको छु,’ दाहालले खुला डबलीमा भने। बेल्जियम निवासी व्यवसायी दाहाल नेकपा माओवादी केन्द्र निकटका हुन् ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफू निकट एनआरएनए उम्मेदवारहरुलाई जिताउन सर्कुलर जारी गरेपछि अध्यक्षका दावेदारहरूले बनाउँदै आएका प्यानलमा समेत प्रभाव परेको छ ।
एनआरएनए संस्थापन पक्षको प्यानलमा रहेका दाहाल अन्तत: पार्टीको सर्कुलरपछि बाहिरिएका छन् । उनले कांग्रेस निकटका उम्मेदवार कुल आचार्यलाई रोजेपछि एनआरएनए वृत्तमा खैलाबैला मच्चिएको छ। दाहालको आगामनसँगै आचार्य समूह भने निकै हौसिएको छ ।
मुख्यत: नेकपा एमाले समर्थक मतदाताहरुको नेतृत्व गरेका डा. बद्री केसीले चलाखीपूर्वक राजनीतिक गठबन्धन मिलाएर समूह बनाएका थिए ।
उनले प्रजातान्त्रिक विचारधारादेखि, माओवादी, एमाले र एकीकृत समाजवादी निकटका उम्मेदवारहरुलाई पनि समेटेका थिए। तर, दाहालसँगै अन्य उम्मेदवारहरू पनि समूह छोड्नेमा डा. केसीको समूह सशंकित बनेको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4