+
+

मन्त्री चयनमा पौडेल समूहमै हानथाप

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते ७:१२

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहभित्र सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोटमा रस्साकस्सी देखिएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेल समूहलाई दुई मन्त्रीको नाम सिफारिश गर्न भनेका छन् ।

बुधबार साँझ बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले दुईमध्ये एकको नाम नेता पौडेलसँग मागेका थिए । अर्काे नाम महामन्त्री डा. शशांक कोइरालासँग मागेका थिए । कांग्रेसमा पौडेल समूह भनेर कोइरालासहितको समूहलाई चिनिन्छ । तर प्रधानमन्त्री देउवाले शशांक र पौडेलसँग एक/एक मन्त्रीको नाम मागेको बैठकमा सहभागी एक नेताले बताए ।

महामन्त्री कोइरालाले आफ्नो समूहबाट सुजाता कोइराला र डा. मिनेन्द्र रिजालको नाम सिफारिश गरेका थिए । तर उनले अन्तिममा भने रिजाललाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई प्रस्ताव गरे । पौडेलले पाएको एक मन्त्रीमा पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि दावी गरेपछि कुरा मिल्न नसकेको ती नेताले अनलाइनखबरसँग बताए ।

स्रोतका अनुसार पौडेलले सप्तरी-४ बाट निर्वाचित सांसद तेजुलाल चौधरीको नाम प्रस्ताव गरेका थिए भने सिंहले काठमाडौं-१०बाट निर्वाचित सांसद राजेन्द्रकुमार केसीको नाममा अडान राखे । ‘रामचन्द्र दाइले चाहिँले तेजुलालको नाम लिनुभयो,’ बैठकमा सहभागी ती नेताले भने, ‘तर बागमतीबाट सरकारमा प्रतिनिधित्व भएन भन्नेमा प्रकाशमानको जोड थियो ।’

बैठकमा देउवाले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग पनि नाम मागेका थिए । सिटौलाले भने आफ्नो समूहबाट बारा-१ बाट निर्वाचित सांसद उमाकान्त चौधरीको नाम प्रस्ताव गरे ।

पौडेल समूहले बैठकमा कांग्रेसले पाउने मन्त्रीमध्ये तीन आफ्नो समूहले पाउनुपर्ने माग गरेको थियो । तर देउवाले दुईभन्दा बढी दिन नसकिने बताएपछि पौडेल सहमत भएको बताइएको छ ।

सरकारमा कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री छन् । बाँकी चारमध्ये देउवाले एक आफूसँग राखेका हुन् । देउवाले आफ्नो समूहबाट पुष्पा भुसाललाई मन्त्री बनाउन चाहेको स्रोतले जनाएको छ ।

बालुवाटारमा शीर्ष नेताहरुको बैठक बस्नुअघि पौडेल समूहको छुट्टै बैठक बसेको थियो । बोहोराटारमा बसेको बैठकमा पनि मन्त्री छनौटकै विषयमा छलफल भएपनि टुंगो लाग्न सकेन । महामन्त्री कोइराला निकट स्रोतका अनुसार पौडेल र सिंहबीच नै मन्त्रीको नाममा सहमति हुन नसकेको हो । ‘हामीहरुबीच अझै छलफल गर्नुपर्ने देखिन्छ,’ शशांक निकट एक नेताले भने, ‘पौडेलले पनि आफूले भनेकै मान्छे हुनुपर्छ भन्नुहुन्छ, प्रकाशमान पनि सहजै सहमत हुने अवस्थामा हुनुहुन्न । एक/दुई चरण फेरि बस्नुपर्छ जस्तो छ ।’

नेता पौडेल र सिंहबीच मन्त्रीमा आ-आफ्नै दावी रहेपछि तीन मन्त्री माग्नुपर्ने निष्कर्षमा उनीहरु पुगेका थिए । पौडेल, शशांक र प्रकाशमानबीच एक-एक मन्त्री भागबण्डा लगाउन मन्त्रीको संख्या थप्नुपर्ने प्रस्ताव उनीहरुले प्रधानमन्त्रीसँग गरेका हुन् ।

पौडेल समूहमा मन्त्रीका लागि नेताहरु मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, सुजाता कोइराला, राजेन्द्र केसी, तेजुलाल चौधरी लगायतको चर्चा छ ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत चाहिंले कांग्रेसमा मन्त्री चयनमा कुनै विवाद नरहेको दाबी गर्छन् । ‘हाम्रो पार्टीमा कुनै विवाद छैन, जुन दिन सपथ खाने कार्यक्रम हुन्छ, पार्टीले मन्त्रीको नाम सिफारिस गर्छ,’ उनले भने ।

प्रधानमन्त्री चयन भएको तीन महिना पुग्नै लाग्दासमेत सरकारले पूर्णता पाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?