+
+

मन्त्रिपरिषद्‍मा प्रधानन्यायाधीशको कोटा : गजेन्द्र हमाल आपूर्तिमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते १४:५७

२२ असोज, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मन्त्रिपरिषद्‍मा भाग लिएका छन् । उनको कोटामा गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष पठाएको १६ मन्त्रीको सूचीमा उनको नाममा रहेको स्रोतले पुष्टि गरेको छ ।

मन्त्रिपरिषद् विस्तार गर्नुपूर्व कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा बोल्दै प्रधानन्यायाधीशले मन्त्रिपरिषद्‍मा भाग खोजेको सत्य नभएको दाबी गरेका थिए ।प्रधानन्यायाधीश जबराले पनि केहीदिन पहिले मन्त्री नमागेको दाबी गरेका थिए ।

तर हमाल, प्रधानन्यायाधीश जबराकै कोटामा मन्त्री बनेको पर्याप्त आधारहरु छन् ।

पहिलो, हालै मात्र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरुसँग भएको भेटमा प्रधानन्यायाधीश जबराले हमाल शेरबहादुर सरहको कांग्रेसको नेता भएको दाबी गरेका थिए । तर न उनी शेरदबहादुर सरहका नेता हुन्, न सक्रिय राजनीतिमा छन् । देउवाले कांग्रेस प्रजातान्त्रिक बनाउँदा बाँके सभापति बनेका उनी पछिल्ला वर्षहरुमा कांग्रेसको सक्रिय राजनीतिमै छैनन् ।

दोस्रो, २०७४ को आम चुनावमा दोस्रो भएको कांग्रेस लामो समय प्रतिपक्षमा रह्यो । संसद विघटनका कारण साबिकको सत्तारुढ नेकपामा आएको विभाजनसँगै सरकारको नेतृत्व गर्ने अवसर पाएको कांग्रेसमा अधिकांश सांसद आकांक्षी छन् । रामचन्द्र पौडेल समूहले तीन मन्त्रालय मागेको थियो, स्वयंम देउवा समूहमा रहेका सांसदहरु मन्त्री बन्न दौडधुपमा थिए ।

उनीहरु सबैलाई छाडेर पार्टी राजनीति र संसदमा नभएका हमाललाई मन्त्री बनाइएको छ । यसले पनि उनी कांग्रेसको होइन, प्रधानन्यायाधीश जबराको कोटामा मन्त्री बनेको हो भन्ने प्रष्ट हुने सत्तारुढ दलका सांसदहरु नै बताउँछन् ।

तेस्रो, मन्त्री बन्न लागेका हमाल, प्रधानन्यायाधीश जबराका नातेदार अर्थात जेठान हुन् । हमाल जबराकी पहिलो पत्नी (जसको मृत्यु भइसक्यो) की दाइ हुन् । जबरालाई न्यायाधीश र प्रधानन्यायाधीश बनाउन उनले लबिङ गरेका थिए । त्यसको गुन तिर्न पनि उनले मन्त्री बनाउन खोजेका हुन् ।

चौथो, हमाल, प्रधानन्यायाधीशकै कोटामा मन्त्री बनेको अर्को आधार भनेको मागेकै मन्त्रालय पाउनु पनि हो ।

५ पुस २०७७ मा पहिलो पटक संसद विघटन भएपछि संवैधानिक परिषद्ले गर्ने नियुक्तिहरुमा भागवण्डा लिएका जबराले दोस्रो विघटनपछि हमाललाई मन्त्री बनाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका थिए । सर्वोच्च अदालतको २८ असारको आदेशअनुसार २९ असारमा देउवा प्रधानमन्त्री बनेपछि जबराले दुई मन्त्री मागेका थिए । सत्तारुढ दलका नेताहरुका अनुसार उनले वन तथा वातावरण र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मागेका थिए ।

अहिले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री हमाल बनेका छन् । यसले पनि उनी जबराकै कोटामा मन्त्री बनेको प्रष्ट हुने स्वयंम सत्तारुढ दलका नेताहरु बताउँछन् । यद्यपि दाइ भाइराजासँग देउवाको निकट सम्बन्ध र मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग पारिवारिक नाता हुनुले पनि हमाललाई सहज भएको बताइएको छ ।

संविधानको धारा ७८ अनुसार मन्त्री बनेका उनी ६ महिनाभित्र संघीय संसदको सदस्य हुनुपर्नेछ । नभए स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?