+
+

लुम्बिनीमा कांग्रेसले मन्त्री टुंग्याउन नसकेपछि मन्त्रिपरिषद विस्तार रोकियो

टोपराज शर्मा टोपराज शर्मा
२०७८ असोज २२ गते १६:१९
लुम्बिनी प्रदेशको सत्ता गठबन्धनको फाइल तस्वीर ।

२२ असोज,बुटवल । नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउन नसकेपछि लुम्बिनी प्रदेशमा शुक्रबार हुने भनिएके मन्त्रिपरिषद विस्तार सरेको छ ।

नेपाली कांग्रेसबाट बाँकेका सुरेन्द्र हमाल र रुपन्देहीका वसिउद्दिन खाँलाई मन्त्री बनाउने विषयमा पार्टीमा सहमति जुटेपनि थप एक मन्त्री र दुई राज्यमन्त्रीमा सहमति जुट्न नसकेको हो । कांग्रेसले मन्त्री हुनेको नाम टुंगो लगाएको भए मुख्यमन्त्री कुलप्रसाद केसी शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा थिए ।

वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा खाँलाई पठाउने विषयमा कांग्रेसभित्र सहमति छ । तर एकजना मन्त्री र दुईजना राज्यमन्त्रीका लागि कांगे्रेसमा आकांक्षी धेरै भएपछि प्रदेश संसदीय दलले मन्त्री हुने नेताको नाम टुंगो लगाउन नसकेको हो ।

अब मन्त्रीको नाम केन्द्रबाट टुंगो लगाउन अनुरोध गर्दै कांग्रेसको एक प्रतिनिधि मण्डल राजधानी जाने भएको छ । ‘दुईजनाको नाममा विवाद नभएपनि एक मन्त्री र दुई राज्यमन्त्री टुंगो लगाउन सकिएन’ कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले भने–‘केन्द्रबाटै नाम टुंगो लगाउनका लागि एक पार्टीका साथीहरुलाई काठमाडौं पठाउंदै छौं ।’

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीका लागि रूपन्देहीका अष्ठभुजा पाठक र पाल्पाका वीरबहादुर रानाबीच सहमति हुन नसकेको हो । मन्त्री दावेदार दुबैजना रामचन्द्र पौडेल पक्षका नेता हुन् । त्यस्तै कांग्रेसले पाएको दुई राज्यमन्त्रीमा कपिलवस्तुकी रिना नेपाल र अर्घाखाँचीकी निर्मला क्षेत्रीसहित अन्य दुई पुरुष सांसदको पनि दाबी रहेको छ ।

कांग्रेसबाट यसअघि दाङका डिल्लीबहादुर चौधरी पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री भइसकेका छन् । अब आइतबारसम्म मन्त्रीको नाम टुंगो लाग्ने र मन्त्रिपरिषद विस्तार हुने कांग्रेस प्रमुख सचेतक खानले जानकारी दिए ।

माओवादी केन्द्रको नेतृत्वमा साउन २८ गते चार दलीय गठवन्धन सरकार बनेको थियो । दलहरुले दलभित्रै र गठवन्धनमा मन्त्रालय र मन्त्रीको भागवण्डा मिलाउन नसक्दा दुई महिनासम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । दुई महिनासम्म मन्त्रिपरिषद विस्तार गर्न नसक्दा जनस्तरबाट दलहरु र सरकारको चौतर्फी आलोचना हुने गरेको छ ।

१३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । जसपाले भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय पाएको छ । त्यस्तै स्वतन्त्र सांसद अजय शाही उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री छन् ।

माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने टुंगो लागेको छ । यसअघि माओवादीबाट प्युठानका कृष्णध्वज खड्का आर्थिक मामिला तथा सहकारी मन्त्री बनेका छन् । माओवादीले आन्तरिक मामिला तथा सञ्चार, कानुन, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ ।

माओवादी केन्द्रले अब एक राज्यमन्त्रीको नाम टुंगो लगाउन बाँकी रहेको पार्टीका सांसद इन्द्रजित थारुले बताए । माओवादीले दाङकी बिमला खत्री वलीलाई राज्यमन्त्री बनाउने सम्भावना बढी छ ।

एक जना मात्र सांसद रहेको नेकपा एकीकृत समाजवादीबाट रमा घर्ती पनि मन्त्री बन्ने तयारी छ । माओवादीले पाएका ४ मन्त्रालयमध्ये एक मन्त्रालय नेकपा एकीकृत समाजवादीले पाउने भएको हो ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?