+
+

हम जाएगा : दन्त्य कथाझैं बाँचेको एउटा पात्र

मन्दिरा खत्री मन्दिरा खत्री
२०७८ असोज २३ गते १८:००

‘एकादेशमा एक जना हम जाएगा भन्ने मान्छे थियो ।’ पूर्वी पहाडमा कुनैपनि चुट्किला यी पात्रबाट सुरु हुन्थ्यो । हम जाएगा यस्तो थियो, उस्तो थियो, यसो गर्‍यो, उसो गर्‍यो भनी नानाभाँती कथा हालेर हँसाउने टुक्का जोडिन्थ्यो ।

कुनै चर्चित कमिक्सका पात्रभन्दा कम ख्याती थिएन उनको । सबैको मुख-मुखमा झुन्डिएका थिए, हम जाएगा । तर, उनी कस्ता थिए ? कसैलाई थाहापत्तो थिएन । उनी काल्पनिक पात्र हुन् वा वास्तविक व्यक्ति ? त्यो पनि धेरैलाई जानकारी थिएन । किनभने ‘हम जाएगा’को चुट्किला ‘रे’ को भरमै चलेको थियो ।

जस्तो कि,

‘दार्जिलिङतिर एक जना हम जाएगा भन्ने ड्राइभर थियो रे । एक पटक सिलगुढीबाट दार्जिलिङ जाँदै गर्दा बाटोमा उनको गाडी दुर्घटना भएछ । गाडीका सबै जना यात्रु मरे, उनी बाँचेछन् । तब उनले जानीबुझी दुर्घटना गराएको भनी फाँसीको सजाय हुने भएछ ।

उनलाई फाँसीमा चढाउने दिन आयो । फाँसी दिनुअघि उनलाई सोधिएछ, ‘तिम्रो अन्तिम इच्छा के छ ?’

हम जाएगाले फुर्तीसाथ भनेछ, ‘हजुर, मलाई टाउको तल र खुट्टा माथि गरेर फाँसी दिनुहोला ।’

****

हम जाएगाको चुट्किला सुनाउँदै र सुन्दै हुर्किएका मनोज गजुरेललाई लाग्थ्यो कि हम जाएगा एक काल्पनिक पात्र हुन् । तर, धेरैपछि थाहा भयो यी पात्र हामी जस्तै साधरण मान्छे रहेछन्

त्यो बेला फेसबुक थिएन, युट्युब थिएन, टिकटक हुने कुरै भएन । रेडियो, टिभी पनि थिएन । पत्र-पत्रिका अहिले जस्तो सर्वसुलभ थिएन । तैपनि एक पात्रको नाम कसरी सर्वत्र फैलियो ? कसरी उनी चुट्किला एवं ठट्यौलीका मूल चरित्र बने ? कसरी सबैको मुख-मुखमा झुन्डिए ?

हास्य कलाकार मनोज गजुरेलको कथन यस्तो छ, ‘सञ्चार माध्यम पनि अहिले जस्तो सुलभ नभएको त्यो बेला गाउँघरमा घरैपिछे एउटा-एउटा हम जाएगा हुन्थे । जस्तो कि रमाइलो कथा तथा चुटि्कला सुनाएर हामीलाई हँसाइरहने साथीलाई हामी ‘हम जाएगा’ भनेर बोलाउथ्यौं । हामीसँग हम जाएगाको जोक क्लब नै हुन्थ्यो । जोक सुन्ने र सुनाउने क्लब जस्तो हुन्थ्यो । जोक सुन्दासुन्दा सबै जोक सुनिसकेको हुन्थ्यौं, अनि जोक भन्नै नपर्ने एउटा नम्बर भन्दै पुग्ने हम जाएगाको ५ सय २५ नम्बर, हम जाएगा ४ सय १२ नम्बर भनेपछि सब जना गललल हाँस्ने । त्यति कण्ठ हुन्थ्यो हामीलाई उनको सबै चुटि्कलाहरु ।’

हम जाएगालाई चुट्किलाको ‘प्रतीक’को रूपमा लिन्छन्, मनोज गजुरेल । उनी भन्छन्, ‘भारतमा सान्ताबान्ता, विदेशतिर नकनक जोक भने जस्तै नेपालमा चाहिँ हम जाएगा चुट्किलाका सिम्बोलिक पात्राको रुपमा स्थापित भए ।’

साहित्यकार कृष्ण धरावासी बाल्यकालमा हम जाएगाको चुट्किला सुन्दै हुर्किएको स्मरण गर्छन् । उनी भन्छन्, ‘सानो छँदा हम जाएगाको चुटि्कला निकै सुनिन्थ्यो । त्यसबेला हाम्रो मस्तिष्कमा उनी निडर ट्याक्सी ड्राइभरको रुपमा चित्रित थिए । उनी पहाडको बाटोमा गाडी कुदाउँथे । आफ्ना गाडीमा चढ्ने यात्रुलाई चुट्किला सुनाउँदै हँसाइरहन्थे । यसरी यो पात्र क्रमशः सबैको पि्रय बने ।’

तर, उनी वास्तविक पात्र हुन् वा काल्पनिक ? साहित्यकार धरावासीले भेउ पाउन सकेका थिएनन् । यही विषयमा हम जाएगाको चुट्किला सुन्ने र भन्नेबीच कहिलेकाहीँ वादविवाद समेत हुने गरेको उनी सम्झन्छन् । ‘सानो छँदा हामी आफँै चुट्किला बनाउँदै दौतरीलाई सुनाउने गथ्र्यौं । अनि अन्तिममा चाहिँ हम जाएगाले यसो भन्थ्यो, उसो भन्थ्यो भनेर उनको नाम जोडिदिन्थ्यौं ।’

जब ‘हम जाएगा’को भेद खुल्यो

कुनैबेला यस्तो लाग्थ्यो कि संसारभरको उट्पट्याङ गर्ने उही हम जाएगा हुन् । कुनै यस्तो चुट्किला हुँदैनथ्यो, जहाँ हम जाएगा छैनन् । हम जाएगा सर्वत्र छन् र युगौं युग बाँचेका छन् ।

हम जाएगाको चुट्किला सुनाउँदै र सुन्दै हुर्किएका मनोज गजुरेललाई लाग्थ्यो कि हम जाएगा एक काल्पनिक पात्र हुन् । तर, धेरैपछि थाहा भयो यी पात्र हामी जस्तै साधारण मान्छे रहेछन् । गजुरेल भन्छन्, ‘उनी दार्जिलिङमा ट्याक्सी चलाउने चालक रहेछन् । त्योपनि मेरै छिमेकी जिल्लाको । उनको पूर्खा पाँचथरका रहेछन् । पछि दार्जिलिङ गएका रे ।’

एउटा सामान्य चालक कसरी चुट्किलाका चर्चित पात्र बने ? उनलाई ताजुब लाग्छ ।

त्यो बखत उनको चुट्किला कतै लेखिएको थिएन, कतै रेकर्ड भएको थिएन । एउटाले अर्कालाई सुनाएकै भरमा यी पात्र सर्वव्यापी भएका थिए । अहिले पनि सामाजिक सञ्जालमा हम जाएगाको चुट्किला प्रशस्तै पाइन्छन् । हम जाएगाको नाममा फेसबुक ग्रुप पनि बनेका छन् । यही प्रसंग जोड्दै गजुरेल सुनाउँछन्, ‘अहिले त सामाजिक सञ्जालमा हम जाएगाको थुप्रै चुट्किला पढ्न पाइन्छ । तर, म सानो छँदा अरूको मुखबाट मात्रै सुनेको हुँ ।’

कृष्ण धरावासीले हम जाएगाको थुप्रै किस्सा सुनेका छन् । उनलाई यो नाम कसरी रह्यो भन्ने कुरा पनि थाहा रहेछ । धरावासी यसरी सुनाउँछन्, ‘हम जायेगाको अर्थ म जान्छु भन्ने हो । कुनैपनि गाडीले यात्रुलाई चढाउन नमान्दा ‘कोही नहीँ जाएगा तो हम जाएगा’ भनेर उनले यात्रुलाई गाडीमा चढाउने गर्थे रे । एकताका मधेशबाट दार्जलिङ घुम्न आएका भारतीयले अंग्रेजीमा ‘हु वान्ट्स टु गो’ भनी प्रश्न गर्दा अरूले चाहिँ ‘हम नहीँ जाएगा’ भनेछन् । किनभने त्यसबेला गाडी चलाउने समय त्यति प्रतिकुल थिएन रे । अन्ततः हत्तपत्त हम जाएगाले भनेछन्, ‘हम जाएगा’ । यसरी जहाँ पनि जान र जुनबेला पनि यात्रुलाई सुविधा दिन तत्पर उनी एक सकारात्मक पात्र हुन् भन्ने मलाई लाग्छ ।’

को थिए हम जाएगा ?

हम जाएगा वास्तवमा एक गाडी चालक थिए । उनको खास नाम, दलबहादुर गुरुङ । तर, उनलाई दलबहादुर भनेर नभई हम जाएगा भनेर चिने ।

उनको पुर्खा पाँचथरको माक्लुङम्बा गाउँबाट बसाइँ सरेर मारेबुङ टि स्टेट चुङथुङ दार्जिलिङ पुगेको थियो, सन् १८१४ मा । त्यहीको चिया बगानमा दल बहादुरको सन् १९२२ मा जन्म भयो । हुर्किंदै गएपछि उनले ट्याक्सी चलाउने पेसा अपनाए ।

खासमा हम जाएगा पाइलट बन्न चाहन्थे । तर, शिक्षाको कमीको कारण उनको यो लक्ष्य पूरा हुन पाएन । पछि उनले एक इन्जिनियरिङ कलेजका प्राध्यापकसँग गाडी चलाउन सिके । सन् १९४८ देखि हम जाएगाले गाडी चलाउन थाले, दार्जिलिङमा । उनी यस्ता चालक थिए, जो जहाँ पनि जुनसुकै समयमा गाडी चलाउन राजी हुन्थे । पहिलो पटक दार्जिलिङको टाइगर हिल र तुम्लिङको चुचुरोमा उनैले पहिलो पटक गाडी कुदाएका थिए ।

५३ बर्षको उमेरसम्म उनले गाडी चलाए र पछि चुट्किलाको किताब लेख्न थाले । उनका सात छोरी र तीन छोरा थिए । उनको मृत्यु सन् १९९२ अपि्रलमा भयो ।

एकथरीको भनाइ के छ भने, उनी लाहुरे भएर अवकाश पाएपछि चालक बनेका हुन् । आर्थिक अभावको कारण विद्यालय जान नपाएपछि उनी कोलकत्ता पुगे । त्यहाँ रहँदा उनले लाहुर जाने कल्पना गर्न थाले । तर, उनी लाहुरका लागि योग्य ठहरिएनन् । तर, उनको सपना अझै बाँकी नै थियो । यस्तैमा उनले एक अंग्रेजलाई भेटे र आफ्नो लक्ष्यबारे सुनाए । ती अंग्रेजले उनलाई बालीगञ्ज इन्जिनियरिङ कलेजमा पढ्ने व्यवस्था मिलाए । आखिरमा उनी लाहुरे भए । सन् १९४८ मा उनले अवकाश पाए र दार्जिलिङ फर्किए । अनि गाडी चलाउन थाले ।

अनि बने हम जाएगा

हम जाएगा पहिलो चालक थिए, जसले दार्जिलिङको टाइगर हिलमा गाडी पुर्‍याए । त्यो दार्जिलिङको चर्चित पर्यटकीय गन्तव्य थियो । तर, त्यहाँसम्म गाडी पुर्‍याउन कठिन थियो । चालकहरु त्यहाँ जान आनाकानी गर्थे । यस्तैमा एकदिन यात्रुले सोधे, ‘हु वान्ट्स टु गो ?’

दलबहादुर गुरुङले फुर्तीसाथ भने, ‘हम जाएगा ।’ यसपछि नै हो उनको नाम हम जाएगा रहेको । उनी एक रसिक मान्छे थिए । यात्रुलाई हँसाइरहन्थे ।

आफ्नो ट्याक्सीमा चढेका यात्रुलाई उनी यात्राभर कुनै न कुनै चुट्किला सुनाउँथे । उनका चुट्किला सुनेका यात्रुहरुले नै हम जाएगालाई दार्जिलिङको सेरोफेरोभन्दा टाढा-टाढासम्म फैलाए ।

मनोज गजुरेलले हम जाएगालाई रमाइलो ट्याक्सी चालकको रुपमा चित्रण गरेका छन् । हम जाएगाको चुट्किला सुनिरहँदा यो पात्रप्रति उनको जुन छवि बनेको थियो, वास्तवमा अलि भिन्न रहेको उनले पछि थाहा पाए ।

‘हम जाएगा भन्ने बितिक्कै रमाइलो ट्याक्सी ड्राइभर जो बोलिरहने, हाँसिरहने, अरूलाई हँसाइरहने, कहिलै सिरियस नहुने, छत्रे टोपी अनि आरावाल कट्टु लगाएको पात्रको रुपमा कल्पना हुन्थ्यो’ मनोज थप्छन्, ‘तर उहाँको पछिल्लो किताब पढ्दा मैले चित्रण गरेको पात्रभन्दा अलि फरक पाएँ । उनी फोटोमा आफ्नो दुई नातिहरुसँग बसेको अग्लो, पातलोर दुब्लो मैले सोचेको भन्दा अलि फरक हुनुहुँदो रहेछ ।’

फिल्ममा हम जाएगा

‘दाजु यो गाडी सेन्ट मेरिज कलेज जान्छ ?’ एक युवती सोध्छिन् ।

‘होइन हौ नानी, यो गाडी त पर लेबोंग पो जाने हो त ।’

युवती हडबडाउँछिन्, ‘ए, अरू कुन गाडी होलो ?’

अनायसै एक फुर्तिलो चालक रसिक भावमा भन्छन्, ‘अरे, हम जाएगा ।’

तुलसी घिमिरे निर्देशित चलचित्र ‘कुसुमेरुमाल’को यही दृश्यमा देखिन्छन्, हम जाएगा । चलचित्रमा उनलाई हम जाएगाकै रुपमा पेस गरिएको छ । उनलाई जोक पनि भन्न लगाइएको छ । अभिनेत्री तृप्ति नाडकरलाई गाडीमा राखेर उनले उसैगरी चुट्किला सुनाउँछन्, जो वास्तविक जीवनमा पनि सुनाउँदै आएका थिए । उक्त चलचित्रमा अभिनय गर्दा उनी ७० वर्षका थिए । त्यसो त हम जाएगाकै कथामा पनि एउटा चलचित्र निर्माण भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?