+
+

‘मुख्यमन्त्रीको सारथी सभामुख, दशैं मनाउने इच्छा पूरा’

हरि अधिकारी हरि अधिकारी
२०७८ असोज २४ गते २०:५४

२४ असोज, विराटनगर । गत बुधबार प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दसैं मनाएर मात्रै प्रदेशसभामा विश्वासको मत लिने इच्छा व्यक्त गरेका थिए ।

मुख्यमन्त्रीको अभिव्यक्तिपछि प्रतिपक्षी दलले दशैंविदा अघि नै प्रक्रिया टुङ्ग्याउन जोडबल गरे । तर सभामुख प्रदीपकुमार भण्डारीले सत्तापक्ष अनुकुल निर्णय गर्दा आचार्यको दशैं मनाएर मात्रै विश्वासको मत लिने इच्छा पूरा भएको छ ।

आइतबार प्रदेशसभाको दोस्रो बैठकपछि सभामुखले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । तर बैठक सकिएको तीन घण्टा बित्न नपाउँदै प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले विशेष कारणवश वैठक कात्तिक ५ गतेसम्मका लागि स्थगीत भएको जानकारी गराएका छन् ।

सभामुखले १२ दिनका लागि बैठक स्थगित गरेपछि विपक्षी दलहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले सभामुख सत्ता पक्षको सारथी बन्दा संवैधानिक व्यवस्था उल्लङ्घन भएको बताए ।

गत भदौ १० गते नियुक्त भएका मुख्यमन्त्री आचार्य अल्पमतमा छन् । दल विभाजन भएको ३० दिन भित्र विश्वासको मतका लागि प्रक्रिया शुरु गर्नुपर्ने संवैधानिक बाध्यता छ ।
संविधानको धारा १८८ को उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गरेको दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ ।

सोही प्रावधान अनुसार सोमबार विश्वासको मतका लागि सूचना संसद सचिवालयमा दर्ता गर्ने तयारी छ । प्रदेशसभामा दल विभाजनको पत्र दर्ता भएको सोमबार ३० दिन पुग्दैछ । सत्ता पक्षले सोमबार सूचना दर्ता गरेपनि छलफल भने कात्तिक ५ गते शुक्रबार बस्ने बैठकबाट शुरु हुनेछ ।

सत्तापक्षसँग मिलेर सभामुखले बैठक स्थगित गरेको माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले बताए । सभामुख भण्डारीले एमाले संसदीय दलको निर्णयलाई कार्यान्वयन गरेको उनले बताए । सोमबारबाट सरकारलाई संविधानले नचिन्ने बताउँदै उनले असंवैधानिक सरकारले नियुक्ति र बजेट निकासाको काम गर्न नपाउने बताए ।

‘३० दिनभित्र विश्वासको मत नलिएका कारण सरकारलाई संविधानले चिन्दैन,’ उनले भने, ‘सभामुखले तटस्थता र निष्पक्षता होइन पक्षधरता जनाउदै संविधान र नियमावली च्यातेर आफ्नो असली चरित्र उदाङ्गो पार्नुभएको छ, यी सबै परिघटनाको समीक्षा र मुल्यांकन इतिहास र भविष्यले गर्नेछ ।’

एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र राईले सभामुखले सत्तापक्षसँग मिलेर असंवैधानिक काम गरेको बताए । प्रतिपक्षी दलको बैठक सोमबार बस्ने बताउँदै उनले बैठकबाट निर्णय गरेरअघि बढ्ने बताए ।

बागमतीमा पनि त्यस्तै

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा पनि दशैंपछि मात्र छलफल हुने भएको छ । प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश भए पनि सभामुख सानुकुमार श्रेष्ठले छलफल नगरी प्रदेशसभा बैठक १२ दिन स्थगित गरिदिए ।

आइतबारको प्रदेशसभा बैठकमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले दशैंभरि मन्त्री हुन रहर गरेको भन्दै आलोचना गरे ।

नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले मन्त्रीहरुलाई झण्डा हल्लाउँदै टीका थाप्न जाने रहर लागेको टिप्पणी गरे । ‘मन्त्रीज्यूहरुलाई झण्डा हल्लाएर टीका थाप्न जान रहर होला, तर अल्पमतको मन्त्री बनेर टीका थाप्न नजानुस्’ उनले भने ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?