+
+

पोखरामा देउवालाई खबरदारी : सरकारको कारण कांग्रेसले चुनाव नहारोस्

अमृत सुवेदी अमृत सुवेदी
२०७८ असोज २४ गते २१:११

२४ असोज, पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले ३ दिनअघि आपूर्ति मन्त्री बनाएका गजेन्द्र हमालले आइतबार राजीनामा दिएपछि ठूलो तरंग उत्पन्न भइरहेको थियो ।

हमालको राजीनामा स्वीकृत गरेर कांग्रेस सभापतिसमेत रहेका देउवा गण्डकी प्रदेशलाई साक्षर घोषणा गर्न पोखरा आइपुगेका थिए ।

मन्त्री नियुक्तिको विषयलाई लिएर सरकारको आलोचना भइरहेका बेला पोखरा आएका शेरबहादुर देउवाले के भन्छन् भन्ने कांग्रेस कार्यकर्तामा मात्र होइन, अन्य वृत्तमा पनि चासो थियो ।

साक्षर प्रदेश घोषणा गरेपछि देउवा पोखरा महानगरपालिका वडा नम्बर १७ मा कांग्रेसले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी भए ।

कार्यक्रममा कास्की कांग्रेसका सभापति कृष्ण केसीले देउवाप्रति लक्षित गर्दै गल्ती गर्ने छुट कसैलाई नभएको बताए । देउवाले भने अरुलाई दोष लगाउनुभन्दा आफैंलाई हेर्दा वेश हुने भनी जवाफ दिए ।

कार्यक्रमको शुरुमै बोलेका केसीले कांग्रेसलाई नचाहँदा नचाहँदै सरकारको नेतृत्व गर्ने जिम्मेवारी आएको भन्दै सरकार सञ्चालनको क्रममा गल्ती गर्ने कसैलाई पनि छुट नभएको बताए ।

१८ महिनापछि आउने निर्वाचनमा सरकारका कारणले हार ब्यहोर्नुपरे त्योभन्दा दुखदायी अर्को नहुने केसीले बताए । ‘सरकार सञ्चालनका क्रममा गल्ती गर्ने छुट अहिले छैन,’ केसीले भने, ‘आशै नगरेको सत्ता सञ्चालनको जिम्मेवारी आएको छ । १८ महिनापछि हुने तीनै तहको निर्वाचनमा सरकार सञ्चालनका कारण चुनाव हारियो भने त्योभन्दा दुखदायी अरु हुँदैन ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले इतिहासले कांग्रेसलाई ठूलो जिम्मेवारी सुम्पिएको बताए । ‘प्रधानमन्त्री चाहिँदैन भन्दाभन्दै पनि प्रधानमन्त्री हुनुभएको छ । किनकी अहिलेको चुनौती समना गर्ने सामर्थ कांग्रेसबाहेक अरुमा छैन,’ पोखरेलले भने, ‘त्यो चुनौती अब निर्वाचनमा देखाउनुपर्छ ।’

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले बोल्ने क्रममा सुरुमै कास्की कांग्रेस सभापति केसीलाई जवाफ फर्काए । ‘अघि पार्टी सभापतिले बोल्नुभयो केही कुराहरु । जिल्लाकै सभापति हुनुहुन्छ उहाँ, पार्टीमा कति योगदान दिनुभयो थाहा छ हामीलाई, के गर्न सक्नुभयो के सक्नुभएन भनेर,’ देउवाको जवाफ थियो, ‘अरुलाई भन्न सजिलो छ, आफूलाई हेर्दा वेश हुन्छ ।’

देउवा पक्ष कमजोर रहेको कास्की जिल्लाका सभापति केसी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन् । मुख्यमन्त्री नेपाली पनि संस्थापनइतरकै मानिन्छन् ।

प्रधानमन्त्री देउवाले कांग्रेसलाई कसैले हराउँछ भने आफ्नैले हराउने बताए । ‘हाम्रो पार्टीलाई कसैले हराउँछ भने हामी आफैंले हराउँछौं । यो सत्य कुरा हो । एक भयौं भने संसारको कुनै तागतले हामीलाई हटाउन सक्दैन,’ देउवाले भने, ‘त्यसकारण एकता गरौं । संसारको कुनै शक्तिले हराउन सक्दैन, हाम्रो पार्टीको इतिहास छ, योगदान छ ।’

एकता भए मात्रै पार्टीको भविष्य रहने बताउँदै देउवाले कांग्रेसजत्तिको प्रजातान्त्रिक पार्टी अरु कोही नभएको दाबी गरे । महाधिवेशन आइसकेको बताउँदै देउवाले सकेसम्म सर्वसम्मति गर्न र नसके सौहार्दपूर्ण प्रतिस्पर्धा गर्न पोखराका नेता कार्यकर्तालाई आग्रह गरे ।

‘पोखराका साथीहरुलाई एक भएर जानका लागि आग्रह गर्न चाहन्छु । भरसक पार्टी सभापतिलगायत पदाधिकारीमा पनि सहमति गर्नुहोस् । यदि सक्दै सकिएन भने चाहिँ प्रजातान्त्रिक ढंगबाट स्वस्थ प्रतिस्पर्धा गरौं’, देउवाले भने, ‘त्यो प्रतिस्पर्धा तिक्ततामा होइन, सौहार्दपूर्ण होस् ।’

देउवाको पोखरा आगमनलाई आसन्न महाधिवेशनसँग जोडेर नेता कार्यकर्ताले हेरेका छन् । कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाट, नेता शुक्रराज शर्मा, यज्ञबहादुर थापालगायत नेता कार्यकर्ता उपस्थित थिए ।

दिउँसो साढे ३ बजे सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा सहभागी भएर देउवा राष्ट्र बैंक चोकको अतिथि गृहमा कार्यकर्ता भेटघाटमा व्यस्त बनेका छन् ।

देउवासँगको भेटमा कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य शुक्रराज शर्माले चुनौतीको चाङमाथि रहेको बताउँदै इतिहास रच्ने अवसरलाई सदुपयोग गर्ने आग्रह गरे ।

‘तपाईं चुनौतीको चाङमाथि हुनुहुन्छ । विवादित हुने काम गर्नुभयो भने आगामी चुनावलाई असर गर्छ । इतिहास रच्ने अवसर पनि तपाईंलाई छ,’ देउवासँगको भेटमा भएको कुराकानी सुनाउँदै शर्माले भने, ‘उहाँले बाहिर हल्लाको पछि नलाग्न र पार्टीलाई बलियो बनाउनमा ध्यान दिन निर्देशन दिनुभयो ।’

नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा आएका देउवाले पोखरा संग्रहालयस्थित साक्षर प्रदेशको स्तम्भ अनावरण गरे भने त्यसपछि साक्षर प्रदेश घोषणा कार्यक्रममा सहभागी भए ।

बिहान १० बजे पोखरा आइपुगेका देउवा दिनभर कार्यक्रम र कार्यकर्ता भेटघाटमा व्यस्त बनेका छन् । देउवा सोमबार बिहान पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरी काठमाडौं फर्किने कार्यतालिका छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?