+
+

वीरेन्द्रनगरका १२ स्थानमा ‘हाइ–मास्ट’ लाइट जडान

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते ७:३०

२५ असोज, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रमा ‘हाइ–मास्ट’ लाइट सञ्चालनमा ल्याइएको छ । १ करोड २० लाख रुपैयाँ लागतमा नगर क्षेत्रका व्यस्त १२ स्थानमा हाइ–मास्ट लाइट जडान गरी सञ्चालनमा ल्याइएको हो ।

नगर उज्यालो कार्यक्रममार्फत उज्यालो र सुरक्षा दुवैलाई मध्यनजर गरी उक्त लाइटहरु जडान गरिएको वीरेन्द्रगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

‘उज्यालो र सुरक्षालाई मध्यनजर गरेर नगर क्षेत्रका व्यस्त चोक, मानिसको बढी आवतजावत र भीडभाड हुने स्थानलाई केन्द्रित गरेर लाइटहरु जडान गरिएको छ,’ उनले भनिन् ।

नगरको सुब्बा कुनादेखि बांगेसिमलसम्मको मुख्य राजमार्गलाई प्राथमिकतामा राखेर लाइट जडान गरिएको छ । वीरेन्द्रनगर बजार क्षेत्रका वीरेन्द्र चोक, गणेश चोक, मंगलगढी चोक, एरिचोक, घण्टाघर चोक, कालुङ्गचोक, देउती बज्यै चोक, धुलियाविट र बसपार्क लगायतका ठाउँहरूमा हाइ–मास्ट लाइट जडान गरिएको हो ।

उपप्रमुख ढकालका अनुसार बिजुलीबाट चल्ने यी बत्तीहरू बाल्दा लाग्ने विद्युत महसुल र पोलको भाडा नगरपालिका स्वयंले नै बेहोर्ने छ । विद्युत र पोल भाडा गरी एउटा पोलको मासिक १० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । १२ वटा बत्तीको शुल्क मासिक १ लाख २० हजार रुपैयाँ हुनेछ ।

बजारमा राखिएका सिसी क्यामेराहरूमा भिडियो कैद गर्नका लागि पनि हाइ–मास्ट लाइट उपयुक्त हुनेछन् । यस्ले नगरको सुरक्षालाई पनि थप सहज बनाउने छ ।

अग्लो र धेरै क्षेत्र समेटने हाइ–मास्ट लाइट सेन्सरमा आधारित छ । अँध्यारो हुँदै गए आफैं बल्ने र उज्याले भए आफै निभ्ने उक्त लाइटले २०० मिटर वरपरको भागलाई उज्यालो दिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताए ।

१६ मिटर उचाइका हाइ–मास्ट लाइटका लागि अण्डर ग्राउण्ड विद्युत लाइन प्रयोग गरिएको छ । १६ मिटरको पोलमा ८ वटा ४०० वाटका एलईडी लाइट जडान गरिएका छन् ।

कर्णाली प्रदेश सरकारको एक करोड र नगरपालिकाको २० लाख रुपौयाँको लगानीमा उक्त लाइट जडानमा गरिएको ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?