+
+

एनआरएनएको १०औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित

वसन्त रानाभाट वसन्त रानाभाट
२०७८ असोज २५ गते ८:२२

२५ असोज, बार्सिलोना । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ। आइतबार भर्चुअल रुपमा सम्पन्न अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो। आगामी अक्टोबर २३-२५ मा संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने मिति तय भएको थियो।

अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गर्ने निर्णय भएको संघका महासचिव डा. हेमराज शर्माले अनलाइनखबरलाई बताए। ‘यो बाहेक ६५ प्रतिशत प्रतिनिधि छनोटबारे परराष्ट्रको परिपत्रलाई हामीले स्वीकार गरेनौं। त्यसबारे कानुनविद तथा परराष्ट्रसँग थप परामर्श गर्ने निर्णय गरेका छौँ,’ उनले भने।

अधिवेशनको नयाँ मितिबारे थप निर्णय अर्को साता बस्ने आईसीसीको बैठकले निर्णय गर्ने महासचिव शर्माले बताए। कार्यसमितिको कार्यकाल थप गर्ने सहमति भएको भन्दै उनले भने, ‘६ महिना अवधि थप्नेबारे सहमति भएको छ। यो पनि आईसीसीको बैठकले नै निर्णय गर्नेछ। यी सबै विषयहरुमा आईसीसीमा एकैचोटी टेबुल हुन्छ।’

सन् २०१९- २०२१ को कार्यकाल अक्टोवर १८ देखि सकिदै छ। त्यो अगावै आईसीसीको बैठक बसेर महत्वपूर्ण निर्णयहरु गर्ने तयारी संघले थालेको छ। ‘महाधिवेशन सर्ने भनेपछि कार्यकालको समायावधि आँफै बढ्यो भन्ने हाम्रो बुझाइ छ।तर यो बारे कानुनविद्हरुसँग परामर्श गर्छ,’ महासचिव शर्माले भने।

विवाद झनै जटिल बन्दै 

परराष्ट्र मन्त्रालयले शुक्रबार संघलाई पुन: पत्र लेखेपछि संघको विवाद झनै जटिल मोडमा पुगेको छ। परराष्ट्रले पत्रमा ६५% महाधिवेशन प्रतिनिधि नयाँ वा पुरानो कार्यसमिति कसले छान्ने विधानमा उल्लेख नभएकोले पूर्वअभ्यास अनुसार गर्ने भनी उल्लेख गरेको छ ।अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षले पनि पूर्वअभ्यास अनुसार नै हुनुपर्ने माग राख्दै परराष्ट्रमा उजुरी दिएको थियो।

तर संघका महासचिव डा. हेमराज शर्माले परराष्ट्र मन्त्रालयको भनाइमा सत्यता नरहेको बताए । ‘विधानको अनुसूची ६(क) मा उल्लेख गरिएको छ । प्राथमिकताको सूचीमा रहेका व्यक्तिहरूले (अर्थात ६५% मा पर्ने योग्यता भएका व्यक्तिहरूले) ले राष्ट्रिय समन्वय परिषद्को निर्वाचन पूर्व तोकिएको प्रणालीमा आफ्नो नाम दर्ता गराउनु पर्नेछ,’ महासचिव शर्माले भने, ‘राष्ट्रिय समन्वय परिषदको निर्वाचन पूर्व’ कुन कार्यसमिति हुन्छ भन्ने उल्लेख गर्नु पर्दैन । निर्वाचनभन्दा पहिले पुरानो कार्यसमिति नै अस्थित्वमा रहेको हुन्छ ।’

उनले नयाँ कार्यसमितिले ६५% प्रतिनिधि छान्न पाउनु पर्छ भन्ने परराष्ट्रको तर्क विधान विपरित रहेको बताए।

एनसीसीहरूलाई सदर गर्ने वा बदर गर्नेबारे अन्यौल

परराष्ट्रको पत्रपछि प्राविधिकरुपमा जुलाईमा निर्वाचन हुन नसकेका एनसीसीहरूलाई सदर गर्ने वा बदर गर्नेबारे पनि प्रश्न उठेको छ । एनसीसीको महाधिवेशन अनिवार्य रुपमा जुलाई १-३१ तारिखसम्म सम्पन्न हुनु पर्ने भन्दै परराष्ट्रले पत्रमा उल्लेख गरेपछि संघमा थप जटिलता देखिएको हो ।

‘यस मन्त्रालयबाट मिति २०७७/१२/ २४ मा प्रमाणित गैर आवासीय संघको विधान २००३ (२०२१) संशोधन सहितको दफा १३ (७) को ग अन्तर्गत चयन हुने ६५ प्रतिशत प्रतिनिधिको सम्बन्धमा स्पष्ट व्यवस्था नभएकाले विगतको प्रचलित व्यवस्था अनुसार प्रतिनिधि चयन गर्ने व्यवस्था गर्न,’ पत्रमा उल्लेख छ।

अमेरिका, युके, पोर्चुगल, फ्रान्स, साइप्रस, डेनमार्क, ओमानलगायतका १० वटा एनसीसीहरूको निर्वाचन जुलाइभन्दा पहिले वा पछि गरी सम्पन्न भएका छन् । यी देशहरुमा पुन: निर्वाचन गर्ने वा बदर गर्नेबारे अन्यौलता सिर्जना भएको छ। परराष्ट्रले पत्रमा बदर वा पुन: निर्वाचनबारे भने केही खुलाएको छैन।

विदेशस्थित शिक्षण संस्थामा अध्ययन गरिरहेका ब्यक्तिलाई पंजीकृत सदस्यता दिन नमिल्ने व्यवस्था भएकाले त्यस्ता मतदाताहरुबाट भएको राष्ट्रिय समन्वय परिषदहरुको छानविन गरी पुनरावलोकन गर्ने व्यवस्था गर्न संघलाई निर्देशन दिएको छ।

लेखकको बारेमा
वसन्त रानाभाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?