+
+

स्वतन्त्रताको अन्तिम रात, मदमस्त पुष्प खड्का 

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १५:५४

दशैंको रंग चढिसकेको छ । आकासमा चंगाहरु बत्तिइरहेका छन् । गाउँ-घरमा लिङ्गे पिङ हाल्न थालिएको छ । चोक-चोकमा घोर्ले खसीको मोलमोलाई सुरु भएको छ । कामकाजले शहर पसेकाहरु मूलघर फर्कदैछन् । दशैं आउँदैछ ।

दशैं, अर्थात खाने पिउने पर्व । यो बेला नेपाली समाजले माछा-मासु मात्र होइन मदिरा पनि धेरै खपित गर्छ । दशैंको पूर्वसन्ध्यामा यस्तै एउटा मदमस्त गीत सार्वजनिक भएको छ । गीतले भन्छ, ‘पिउन सुरु गरेपछि होश पनि त कहाँ हुन्छ, पिउनुको मज्जा नपिउनेलाई कसरी थाहा हुन्छ ?’

यसमा स्वर दिएका छन्, शिव परियारले । यसअघि उनले ‘पिउँदिन भन्दा भन्दै, पिलायो साथीले’ बोलको गीत गाएका थिए, जो सर्वाधिक रुचाइएको छ । यसपाली गीत पनि करिब उस्तै ढाँचामा प्रस्तुत गरेका छन् ।

उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कथानक शैलीमा प्रस्तुत गरिएको भिडियोमा अभिनेता पुष्प खड्का मूख्य भूमिका देखिन्छन् । उनलाई साथ दिएका छन् आलिया अधिकारी र अन्जलील लुइटेलले ।

यो गीत लेखेका हुन् रविन स्वप्निल गिरीले । संगीत, दीपकराज विश्वकर्माको । संगीत संयोजन गरेका छन् राजन इशानले भने मिक्सिङ महेश्वर मान राजभण्डारीको । म्युजिक भिडियोलाई निर्देशन गरेका छन्, विक्रमादित्य शाहले । कविराज गहतराजको कोरियोग्राफी र हरि हुमागाईको सिनेम्याटोग्राफी रहेको छ । मिडिया हबको आधिकारिक च्यानलबाट यो गीत सार्वजनिक भएको हो ।

दशैं–तिहार जस्तो पर्वलाई लक्षित गरेर सार्वजनिक गीतको भाव अनुसार म्युजिक भिडियो बनेको छ । रंग–विरंगी प्रकाशमा मदमस्त नृत्य पेश गरिएको छ । खासमा ब्याचलर्स पार्टीको थीममा यसको कथा बुनिएको छ । विवाहअघिको अन्तिम रात मनाउने क्रममा ‘मदिरा महात्म्या’ गाइएको छ ।

पश्चिमा संस्कार हो, व्याचलर्स पार्टी । विवाह हुनुअघि आफ्ना हितैषी दौतरीसँग मिलेर पुरुषहरुले यस्तो भोजको आयोजना गर्छन् । विवाहपछि पारिवारिक जिम्मेवारी बढ्ने र दाम्पत्य जीवन सुरु हुने भएकाले साथीभाईसँग अन्य दिनजस्तो हाँसखेल, रमाइलो गर्न फुर्सद नमिल्न सक्छ । त्यही कारण विवाह अघिको एउटा रात उनीहरु खुलेर मनोरञ्जन लिन्छन् । यसमा चर्को संगीतको धुन, मस्त मदिराको साथ खोजिन्छ । यसैलाई स्वतन्त्रताको अन्तिम रात पनि भनिन्छ ।

पछिल्लो समय नेपालमा पनि यस्तो संस्कार भित्रिएको छ । यसैको पृष्टभूमीमा यो गीतको म्युजिक भिडियो तयार भएको छ । गीत निकै मनोरञ्जनात्मक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?