+
+
WC Series
विराटनगर किंग्स 2025
126/10 (16.5)
VS
Chitwan won by 48 runs
Won चितवन राइनोज 2025
174/5 (20)
Shares

जापानबाट फर्केर घर्ती दम्पतीले थाले व्यावसायिक कालिजपालन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २८ गते १६:३८
फाइल तस्वीर

२८ असोज, गलकोट। कोरोना सङ्कट र सकसकै समयमा बागलुङको ताराखोला गाउँपालिकाका ललितबहादुर घर्ती र मनकुमारी घर्ती दम्पतीले भने लाखौँको लगानीमा गाउँमै नयाँ आम्दानीको सम्भावना खोज्न थालेका छन् ।

ताराखोला गाउँपालिका-२ सिलेका घर्तीले व्यावसायिक कालिज फार्म सञ्चालन गरेका छन् । लामो समय वैदेशिक रोजगारीका क्रममा जापानमा बसेका घर्ती दम्पतीले अहिले गाउँमै दुई सय २५ वटा कालिज पालेर व्यवसाय सुरु गरेका छन् ।

पाँच रोपनी जग्गामा नुवाकोटबाट उन्‍नत जातका कालिज ल्याएर व्यावसायिक यात्रा थालेको उनको भनाइ छ । ‘साढे ५ वर्ष जापानमा आफ्नो पसिना बगाए । सोचेजस्तो विदेशमा कहाँ हुन्छ र ? विदेशमा जस्तो मिहिनेत आफ्नै देशमा गरे के सम्भव नहोला र ? भन्‍ने सोचले आफ्नै गाउँमै अर्ग्यानिक कृषि तथा पशुपक्षी नामको प्राइभेट कम्पनी दर्ता गरेर व्यवसाय थालेको छु,’ उनले भने, ‘मैले आफ्नै गाउँठाउँमा केही गरौं भनेर आफूसँगै श्रीमतीलाई पनि जापानबाट फर्काएको छु।’

घर्ती दम्पतीका दुई छोरा र एक छोरी छन् । उनीहरुलाई समेत विदेशी मोहबाट मुक्त गरेर नेपाल फर्किएको घर्तीले बताए । जापनमा मेरै गाउँ जस्तै गाउँमा ठूलाठूला कृषि फार्महरु सञ्चालन गरेको देख्दा मनमा आफ्नै गाउँको याद र सम्भावना बोध भएपछि नेपाल फर्किएको उनको भनाइ छ ।

आफ्नै पुर्ख्यौली खेतबारीमा अहिले कालिजपालन थालिएको छ । अहिले ५० लाखको लगानी गरेर कालिज पालेको र अझै ५० लाखको लगानी गरी गाउँमै जडीबुटीको नर्सरी, कालिजपालनसँगै रेष्टुरेन्ट, तरकारी खेती र ह्याचिङ मेसिनको तयारी गरिरहेको उनको भनाइ छ । डेढ वर्षदेखि तयारी गरेर सञ्चालित फार्ममा अहिले कालिज बेच्नलाई तयार भएको र अण्डा पार्नसमेत थालेको घर्तीले बताए ।

ताराखोला अग्र्यानिक कृषि उत्पादन र पशुपक्षीपालनको धेरै सम्भावना बोकेको ठाउँ हो । ताराखोलामा विभिन्न खालका जडीबुटी, फलफूल, तरकारी, च्याउ, ताराखोलाको साग, ओखर, आलु, भाँगोको राम्रो माग, उत्पादन तथा बिक्री हुँदै आएको छ । यसलाई अझ व्यवस्थित तवरबाट गरेर उत्पादन बढाउने घर्ती दम्पतीको योजना छ । विशेषतः कालिजपालनसँगै ताराखोलामा होमस्टेसमेत सञ्चालन गर्ने योजना बनाएको उनले बताए ।

‘सतुवाको माग अहिले धेरै छ, सतुवा समुन्द्री सतहदेखि दुई हजार दुई सय देखि दुई हजार तीन सयको उचाइमा हुने जडीबुटी हो, यो जडीबुटी जुनसुकै ठाउँमा नहुने कारणले यो ताराखोलामा उत्पादन गर्न सकिने भएकाले सतुवाको नर्सरी गर्ने योजना पनि छ’, उनले भने, ‘ताराखोलामा उत्पादन हुने हरेक कुरामा ताराखोला ब्रान्ड बनाउने सोच गराएको छु। यसलाई देशमा मात्र नभएर विदेशमा पनि बिक्री गर्ने योजना छ।’

ताराखोलामा उत्पादन गरेका सबै कुरालाई अक्षेते बजार, बुर्तिबाङ बजार, गल्कोट, बागलुङ बजार मात्र नभएर नेपालको चर्चित पर्यटकीय गन्तव्यस्थल मुस्ताङमा समेत पुर्‍याउने सोच घर्तीको छ । ‘अहिलेसम्म पालिकाले कुनै सहयोग गरेको छैन, सहयोग र अनुदान पाउला भनेर गरेको व्यवसाय पनि होइन’, उनले भने, ‘पालिकाका कृषि प्रमुखले हामीहरुले गरेको कामलाई हेरेर सल्लाह सुझाव दिएमा आफूलाई काम गर्न सहज हुनेछ । कृषि र पशुपक्षीपालनमा अरू प्रोत्साहित गर्ने अनुदान सहयोग गरेमा पनि राम्रै हुनेछ।’

‘अहिले ताराखोलाको आलु, ताराखोलाको बेसार, ताराखोलाको अर्ग्यानिक घीउ, भाँगोहरु बागलुङमा मात्र नभएर अन्य जिल्लामा पनि बिक्री गरेका छौँ।’ उनले भने । ताराखोला गाउँपालिकाले ताराखोलामा उत्पादन गरेका कुराहरुलाई प्राथमिकतामा राख्नुपर्ने घर्तीको भनाइ छ । ताराखोलाको उत्पादनलाई गाउँपालिकाले ब्रान्डका रुपमा अन्य ठाउँमा चिनाउनुपर्नेमा पालिका पछि परेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?