+
+

आशीर्वादको नाममा जेष्ठ नागरिकलाई संक्रमणको जोखिममा नपारौं

प्रेम लामा प्रेम लामा
२०७८ असोज २८ गते २०:४५

२८ असोज, काठमाडौं । नेपालमा कुल जनसंख्याको ८.१३ प्रतिशत अर्थात् करिब ३० लाख जेष्ठ नागरिक छन् । उनीहरूमध्ये सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या १३ लाख जति छन् ।

जीवनको उर्जाशील समय परिवार, समाज र राष्ट्र निर्माणमा व्यतित गरेका जेष्ठ नागरिकहरू उमेरजन्य कारणबाट सामाजिक, आर्थिक र स्वास्थ्य सुरक्षा लगायत राज्यबाट प्राप्त हुनुपर्ने सेवा सुविधाबाट वञ्चित छन् ।

गाउँबाट सहर, सहरबाट विदेश हुँदै बसाइँसराइँ र बढ्दो वैदेशिक रोजगारीले जेष्ठ नागरिकको हेरचाह र पालनपोषणमा चुनौती थपिँदै गएको छ । यो बीचमा कोरोना महामारीले जेष्ठ नागरिकलाई थप समस्यामा पारेको छ । कोरोनाको दुवै लहरमा जेष्ठ नागरिक बढी प्रभावित छन् ।

महामारीको समयमा जेष्ठ नागरिकको उचित व्यवस्थापन र उपयुक्त वातावरण सिर्जनामा लाग्ने दायित्व सबै नेपाली नागरिकको भएको राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदन दास श्रेष्ठ बताउँछन् ।

कोभिड–१९ को असरले सामान्य परिस्थितिभन्दा फरक र जटिल अवस्था सिर्जना भएको हुँदा जेष्ठ नागरिकहरुमाथि अझ बढी दुव्र्यवहारका घटनाहरु हुन सक्ने उनी बताउँछन् । यसतर्फ सचेत रहँदै जेष्ठ नागरिकले सम्मानित र मर्यादापूर्वक जीवनयापन गर्ने सवालमा सबैको समान दायित्व हुने श्रेष्ठको भनाइ छ ।

दशैंको समयमा हुने पारिवारिक जमघटले जेष्ठ नागरिकलाई संक्रमणको खाडलमा पुर्‍याउन सक्ने उच्च जोखिम हुन्छ ।
–मदन दास श्रेष्ठ

दशैंको समयमा हुने पारिवारिक जमघटले जेष्ठ नागरिकलाई संक्रमणको खाडलमा पुर्‍याउन सक्ने उच्च जोखिम रहेको श्रेष्ठ बताउँछन् । दशैंमा विशेषगरी जेष्ठ नागरिकबाट टीका थाप्ने, आशीर्वाद लिने, एकै ठाउँ बसेर खानपिन गर्ने जस्ता क्रियाकलापले जोखिम हुने उनी बताउँछन् । त्यसैले घरमा जेष्ठ नागरिक भएका परिवारले विशेष महत्व दिएर सुरक्षित रूपले चाडपर्व मनाउन उनी सुझाव दिन्छन् ।

अध्यक्ष श्रेष्ठ भन्छन्, ‘प्रायः जेष्ठ नागरिकहरूले कोरोना खोप पाइसकेका छन् । खोप पाइसके पनि पुनः संक्रमित हुने जोखिम त हुन्छ । त्यसैले सावधानी अपनाउन आवश्यक छ ।’

हवाई र स्थलमार्गबाट नेपाल आउने यात्रुको अध्यागमन विन्दुमै एन्टिजेन परीक्षणपछि मात्रै घर जान पाउने प्रावधान सरकारले बनाएको छ । हवाईमार्गबाट आउनेको अध्यागमन विन्दुमा एन्टिजेन परीक्षण सम्भव भएपनि स्थलगतमार्फत् आउने सबैको एन्टिजेन परीक्षण सम्भव छैन । त्यसैले भारतमा रोजगारी गरी फर्कनेले आफ्नो घरमा भएका जेष्ठ नागरिकलाई संक्रमण फैलाउने बढी जोखिम रहने अध्यक्ष श्रेष्ठ बताउँछन् ।

खोप पाइसकेका कारण संक्रमणबाट गम्भीर हुने सम्भावना कम हुने भनिएपनि कोभिडले निम्त्याउने निमोनियाले जेष्ठ नागरिक उच्च जोखिममा पर्न सक्ने उनको भनाइ छ । अध्यक्ष श्रेष्ठ भन्छन्, ‘सरकारले जेष्ठ नागरिकलाई लक्षित गरी निमोनियाको खोप अभियान सञ्चालन गर्नुपर्छ ।’

के भन्छन् जेष्ठ नागरिक रोग विशेषज्ञ ?

चाडपर्वको समयमा बढी घुलमिल हुने भएकोले सबै उमेर समूहका मानिस संक्रमणको जोखिममा हुने जेष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कंडेल बताउँछन् ।
पछिल्लो समय कोरोना संक्रमण केही थामिँदै गएपनि संक्रमण दर उच्च रहनुले समुदायस्तरमा जोखिम कायमै रहेको उनको भनाइ छ ।

डा. कंडेल भन्छन्, ‘प्रायः अधिकांश जेष्ठ नागरिकले खोप पाइसकेका छन् । संक्रमणबारे मानिसमा जनचेतना पनि गुणात्मक रूपमा बढेको छ । यसको सकारात्मक प्रभाव घट्दो संक्रमण दर र मृत्युदरले पनि देखाएको छ । तर पनि समुदायस्तरमा जोखिम भने कायमै छ ।

मानिसहरु अहिले पनि संक्रमणदेखि नडराएको जस्तो व्यवहार देखाइरहेका छन् । पछिल्लो समय सरकारले निषेधाज्ञा हटाएसँगै जात्रा, चाडपर्व लगायत राजनीतिक कार्यक्रममा भीडभाड बढेको छ । जसले गर्दा कोरोना संक्रमण अपेक्षित घट्न सकिरहेको छैन ।’

‘आशीर्वाद लिने नाममा जेष्ठ नागरिकलाई संक्रमणको खाडलमा पुर्नु त भएन नि ।’ – डा. रमेश कंडेल

अहिले मुलुक चाडपर्वमय छ । घरघरमा पारिवारिक जमघट चलिरहेको छ । रोजगारी, शिक्षा लगायतका कारण देश तथा विदेशमा बसेका मानिसहरु पनि घर फर्किएका छन् र फर्कने क्रम जारी पनि छ । परिवारका कोर सदस्य मात्रै होइन बाहिरका मानिस समेत एकापासमा घुलमिल हुने क्रम बढ्दो छ । यसले जोखिम अझ बढ्न सक्ने डा. कंडेल बताउँछन् ।

डा. कंडेलले भने, ‘चाडपर्वमा हुन सक्ने लापरवाहीले जेष्ठ नागरिक एवं दीर्घरोगी संक्रमणको उच्च जोखिममा पर्न सक्छन् । संक्रमण दर बढेमा अस्पताल भर्ना हुने, मृत्युहुने दर स्वाभाविक रूपमा बढ्न जान्छ ।’

प्रायः अधिकांश जेष्ठ नागरिकहरुले कोभिडविरुद्धको खोप लगाइसके पनि खोप लगाएकै भरमा जोखिम हुँदैन भन्ने नबुझ्न डा. कंडेलको सुझाव छ ।

खोपका कारण जेष्ठ नागरिकको स्वास्थ्यमा गम्भीर समस्या नदेखिए पनि संक्रमणले गर्दा कोभिड निमोनिया हुने जोखिम रहेकाले ढुक्क हुने अवस्था नरहेको डा. कँडेल बताउँछन् । कोभिड निमोनियाले जेष्ठ नागरिकको स्वास्थ्यमा गम्भीर समस्या ल्याएर अस्पताल भर्ना गर्नुपर्ने अवस्था समेत आउन सक्ने उनले बताए ।

जेष्ठ नागरिक उच्च जोखिममा किन ?

प्रायः सबै जेष्ठ नागरिकले कोरोना खोप पाइसकेका छन् । खोपको प्रभावकारिताबारे अध्ययन जारी छ । खोपले पूर्ण सुरक्षा दिन नसक्ने भएकोले केही जोखिम कायमै रहेको डा. कँडेल बताउँछन् ।

‘जेष्ठ नागरिक एवं दीर्घरोगीलाई संक्रमण भएमा कोभिड निमोनिया हुने उच्च जोखिम हुन्छ । अध्ययनअनुसार ८० प्रतिशत मानिसमा कोरोनाले गर्दा निमोनिया हुने जोखिम हुन्छ । त्यसैले खोप लगाउन छुटेका जेष्ठ नागरिक र वयस्क व्यक्तिले पनि खोप लगाउन भुल्न नहुने उनको सुझाव छ ।

विशेषतः जेष्ठ नागरिकहरूको उमेर ढल्कँदै जाँदा रोगसँग लड्ने प्रतिरोधी क्षमता पनि कमजोर बन्दै जान्छ । भाइरससँग लड्न क्षमता कमजोर बन्न पुग्छ । जसले गर्दा भाइरस सहजै शरीरमा प्रवेश गरेर संक्रमण गराउँछ । उमेर ढल्केसँगै जेष्ठ नागरिकको शरीर पनि रुघ्न बन्दै जान्छ । सानो इन्फेक्सनले पनि जेष्ठ नागरिकको शरीरमा ठूलो संक्रमण गराउने डा. कँडेल बताउँछन् ।

डा. कँडेल भन्छन्, ‘निमोनिया धेरै किसिमका व्याक्टेरियाबाट हुन्छ । कोभिडले गराउने निमोनिया भाइरसले गर्दा हुने निमोनिया हो । व्याक्टेरियाले हुने निमोनियाबाट जोगाउन निमोनियाविरुद्धको खोप लगाउनुपर्छ । विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार खोप लगाउन सकिन्छ ।’

राष्ट्रिय खोप कार्यक्रममा जेष्ठ नागरिकहरू समावेश छैनन् । फाट्टफुट्ट रूपमा चिकित्सक आफैँले अग्रसरता लिएर जेष्ठ नागरिकहरुलाई निमोनियाविरुद्धको खोप लगाउने गरिएको उनले बताए ।

राज्यले जेष्ठ नागरिकलाई पनि निमोनियाविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको सुझाव छ । निमोनियाका कारण जेष्ठ नागरिक अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था आएमा बचाउन धेरै गाह्रो हुने उनले बताए ।

डा. कँडेल अगाडि थप्छन्, ‘रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिन खोप अभियान सञ्चालन गर्नसके अति उत्तम हुन्छ । यसले जेष्ठ नागरिकको स्वास्थ्यमा आँच आउन दिँदैन भने उपचारमा लाग्ने ठूलो खर्चको समेत कटौती हुन्छ ।’

त्यसोभए दशैं कसरी मनाउने ?

डा. कँडेल भन्छन्, ‘शताब्दीमा एकपटक यस्तो महामारीको अवस्था आउँछ । २० औं शताब्दीको सुरुमा पनि स्पेनिस फ्लुको महामारी आएको थियो ।’ महामारीको यो अवस्थामा चाडपर्व भव्य रुपमा नमनाउन उनको सुझाव छ । उनी भन्छन्, ‘स्वास्थ्य नै ठूलो धन हो । यसपालिको दशैंमा हामीले जेष्ठ नागरिकलाई सुरक्षित राख्न सक्यौं भने अर्कोवर्ष वा दुई तीन वर्षपछि त नियमित रूपमा उहाँहरूबाट आशीर्वाद लिन सक्छौं । आशीर्र्वाद लिने नाममा जेष्ठ नागरिकलाई संक्रमणको खाडलमा पुर्नु त भएन नि ।’

परिवारका कोर सदस्यभित्रै सीमित भएर, नियमित सम्पर्कमा रहेका परिवारका सदस्यमात्रै सहभागी भएर दशैं मनाउँदा जेष्ठ नागरिकलाई संक्रमणबाट बचाउन सकिने उनको तर्क छ । सावधानीपूर्वक चाडपर्व मनाउनु भनेको संस्कृतिप्रतिको सम्मान भएको उनको भनाइ छ ।

डा. कँडेल अहिलेको यो विषम परिस्थितिमा चाडपर्व सेलिब्रेसन गर्ने तरिका परिवर्तन गर्नु आवश्यक रहेको बताउँछन् ।

दशैंमा जेष्ठ नागरिकहरूबाट टीका ग्रहण गर्दा र आशीर्वाद थाप्दा विशेष सावधानी अपाउनु जरूरी रहेको उनी बताउँछन् । पारिवारिक जमघटमा दशैंको टीका ग्रहण र आशीर्वाद थाप्दा जोखिम न्यून हुने गरी टीकाको कार्यक्रम गर्न उनको सुझाव छ ।

  • जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्ने
  • टीकाको कार्यक्रम घरको खुल्ला ठाउँ (आँगन वा छत) मा गर्ने
  • टीकाको कार्यक्रम बन्द कोठामा नगर्ने । बन्द कोठामै गर्नुपर्ने बाध्यता भए एसी र पङ्खा नचलाउने ।
  • टीका लगाइदिने र टीका ग्रहण गर्ने व्यक्तिले अनिवार्य मास्क लगाउने
  • दुवै पक्षले राम्रोसँग हात धुने वा सेनिटाइज प्रयोग गर्ने
  • परिवारका कोर सदस्यमात्रै सहभागी हुने
  • कोरोनासँग मिल्दो लक्षण भएका व्यक्ति टीका ग्रहण, खानपिन लगायतका जमघटमा सहभागी नहुने
  • टीका लगाइसकेपछि खानपिनको कार्यक्रम खुला ठाउँमा दुई मिटरको दूरी कायम गर्ने
  • जेष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गरी खानपिनको व्यवस्था मिलाउने
  • जोखिमका कारण परिस्थितिलाई मध्यनजर राखेर आफूलाई परिमार्जन गर्ने
  • देश तथा विदेशबाट घर पुगेका परिवारका सदस्यहरूले विशेष सावधानी अपनाउने
  • जेष्ठ नागरिक उच्च जोखिममा हुने कुरालाई मध्यनजर राखी सावधानी पूर्वक व्यवहार गर्ने ।
लेखकको बारेमा
प्रेम लामा

लामा अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?