+
+

विमानस्थलको छड्के अनुगमनमा पुगे पर्यटनमन्त्री आले

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते १९:३२

१ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका कमी–कमजोरीलाई अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन् ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के अनुगमनमा पुगेका मन्त्री आलेले विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने बताए ।

अनुगमनका क्रममा विमानस्थलमा टयाक्सीले मिटरमा यात्रु नबोक्ने, सरसफाइ नभएको, यात्रुहरुलाई चिया, कफिमा समेत शुल्क महङ्गो लिने गरेको, कर्मचारीले आफ्नो जिम्मेवारी पूर्णरुपमा पालना नगरेको पाइएकाले भन्दै उनले कमजोरीलाई अन्त्य गरिने बताए ।

मन्त्री आलेले आइतबार काठमाडौँबाट भोजपुरका लागि उडेको नेपाल वायु सेवा निगमको जहाजले केही यात्रु उडाएको र केही यात्रु छोडेकाले सो विषयमा नेपाल वायु सेवा निगमका महानिर्देशकसँग लिखित जवाफ माग गरेको समेत जानकारी दिए ।

उनले गल्ती गर्नेलाई कारवाही गर्न निर्देशन दिएको बताए । आइतबार छुटेका यात्रुलाई सोमबार गन्तब्यमा पुर्‍याइएको छ । मन्त्री आलेले नेपाल वायु सेवा निगमलाई हवाइ टिकटका लागि ई–टिकेट (अनलाइन) को व्यवस्था गर्न निर्देशन समेत दिएका छन् ।

अनुगमनकै क्रममा मन्त्री आलेले आफु पदमा रहुन्जेल सम्म नेपाल वायुसेवा निगमलाई माथि उठाउन लाग्ने बताए । अबका दिनमा अन्तराष्ट्रिय विमानस्थलमा यात्रुहरुले कुनै पनि समस्या नपाउन भन्दै सोही अनुसार काम गर्न उनले कर्मचारीलाई निर्देशन दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज पार्किङका लागि निकै साघुँरो तथा असहज भएकाले यहाँका जहाज धनगढी, नेपालगञ्ज, पोखारा, भैरहवा, बिराटनगर लगाएका बिमानस्थलमा पार्किङको व्यवस्थाका लागि पहल भइरहेको समेत उनले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?