
४ कात्तिक, हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पदको छिनोफानो कात्तिक १० गते मात्रै हुने भएको छ ।
बिहीबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत मागिन् । उनको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल भयो तर, मतदान भने एक हप्ता पछि सारियो । छलफल सकिएपछि सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा बैठक कात्तिक १० गतेसम्म स्थगित गरिदिए । अब १० गते विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुनेछ ।
नेकपा एमाले विभाजित भएपछि मुख्यमन्त्री शाक्यले असोज २४ गतेभित्र विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेश गर्नुपर्ने थियो । सोही अनुसार उनले असोज २४ गते नै विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा पेश गरिन् । उक्त प्रस्तावमाथि १२ दिनपछि मात्र सभामुख श्रेष्ठले प्रदेशसभामा छलफल गराए । तर छलफल सकेपछि पुनः एक साताका लागि बैठक स्थगित गरिदिए ।
नेकपा एमालेले बिहीबारको प्रदेशसभा बैठक स्थगित गर्नुपर्ने नभए आफूहरु सहभागी नहुने चेतावनी दिएको थियो । एमाले संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले प्रदेशसभा सचिवालयमा कात्तिक १० गतेअघि बैठक नराख्न आग्रह गरी पत्र लेखेका थिए ।
तर विपक्षी दलले जसरी पनि बैठक राख्नुपर्ने अडान लिए । त्यसपछि सहमतिमा बिहीबार विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान नगरिएको नेताहरुले बताएका छन् । बिहीबार प्रस्तावमाथि छलफल मात्रै गर्ने र अर्को बैठकमा मतदान गर्ने गरी सहमति गरेपछि एमाले प्रदेशसभा बैठकमा सहभागी भएको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बताए ।
‘आजको बैठकमा एमाले आउनै मानिरहेको थिएन, एकै पटक १० गते बैठक राख्न भनिरहेको थियो । आज छलफलमात्रै गरौं अर्को बैठकमा मतदान गरौंला भनेपछि एमाले बैठकमा सहभागी भयो’ उनले भने, ‘दलीय सहमतिमै प्रदेशसभाको बैठक १० गते बस्ने तय भएको हो ।’
प्रदेशसभाको समीकरणअनुसार शाक्य अल्पमतमा छिन् । हाल रहेका १ सय ९ प्रदेशसभा सदस्यमध्ये शाक्यलाई ४३ जना नेकपा एमालेका सांसदको साथ छ । विपक्षी गठबन्धनको पक्षमा नेकपा माओवादी केन्द्रको २३, नेपाली कांग्रेसको २२, नेकपा (एकीकृत समाजवादी) को १३ र जनता समाजवादी पार्टीको १ जना प्रदेशसभा सदस्यको साथ रहेको छ ।
छोटो समयमै धेरै उपलब्धि : मुख्यमन्त्री शाक्य
विहीबार दिउँसो १ बजे सुरु हुने भनिएको प्रदेश सभाको वैठक ४ बजे पछि मात्रै शुरु भएको थियो ।
ढिलो गरी शुरु भएको बैठकमा विश्वासको मत माग्दै मुख्यमन्त्री शाक्यले आफ्नो कार्यकालमा भएको कामको विवरण सुनाइन् । उनले छोटो समयमै धेरै उपलब्धि हासिल गरेको दाबी गरिन् । आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्र, सुशासन, वित्तीय सुशासनको महत्वपुर्ण कामहरु भएको बताइन् । उनले १३ वटै जिल्लामा पिसिआर र अक्सिजन प्लान्ट स्थापना गरेर कोभिड १९ सँग लडिरहेको बताइन् ।
प्रदेश सभाको वैठकमा बोल्दै मुख्यमन्त्री शाक्यले प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको स्थापाना कालमा संरचना निर्माण, नीति निर्माण लगायतको काममा महत्वपुर्ण काम गरेको बताइन् ।
मुख्यमन्त्री शाक्यले राखेको प्रस्तावमाथि छलफलमा भाग लिने नेताहरुले भने व्यंग्यसहित शाक्यको राजीनामा माग गरेका छन् ।
एमालेले दम्भ देखायो : जम्मकट्टेल
माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले संसदमा एमालेले दम्भ देखाएको बताए ।
केपी ओली प्रवृत्ति प्रदेश सभामा देखिएको उल्लेख गर्दै उनले विधि अनुसार नचलेर एमालेले दादागिरी देखाएको बताए । उनले भने, ‘सरकारले विश्वासको मत लिनुपर्ने ठाउँ संसद छोड्ने धम्की दिनु कस्तो हो ?’
अब प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले गर्ने उनले बताए ।
जम्मकट्टेलले नेकपा एमालेका मुख्य सचेतक दीपक निरौलाले प्रदेश सभाको वैठक सार्ने दिएको पत्रको पनि विरोध गरे । उनले मुख्यमन्त्री शाक्यलाई राजीनामा दिन सुझाव दिए ।
गठबन्धन सरकारले चुनाव गराउँछ : बानियाँ
नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले अब गठबन्धनको सरकारले आगामी चुनाव गराउने बताए । कम्युनिष्टको दम्भ र हुईयाँ नटिकेको उल्लेख गर्दै उनले भने, ‘अब गठबन्धन सरकारले चुनाव गराउँछ ।’
अब गठबन्धनको सरकारले चुनाव गराएपछि एमालेको होस खुल्ने भन्दै उनले ब्यङ्ग्य पनि गरे ।
कांग्रेस नेता बानियाँले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आएको राजनीतिक दलसम्बन्धी अध्यादेश गलत भएको तर, शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश व्यवस्था र संविधान बचाउने अर्थमा सही भएको बताए ।
शाक्यविरुद्ध उभिनुपर्ने भयो : राजेन्द्र पाण्डे
नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशका संसदीय दलका नेता राजेन्द्र पाण्डेले विगतमा संगै रहे पनि आफू केपी ओलीका कारण मुख्यमन्त्री शाक्यविरुद्ध उभिनु पर्ने दिन आएको बताए ।
‘आजको अवस्थामा म राजेन्द्र पाण्डे मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य विरुद्ध उभिनु पर्ने दिन केपी ओली कै कारणले आएको हो’ उनले थपे, ‘हिजो संगै डोरमणि पौडेल र केपी ओलीविरुद्ध लड्यौं अहिले डोरमणि पौडेलले गरेको कामको फेहरिस्त मुख्यमन्त्री शाक्यले सुनाउँदा अनौठो लागेको छ ।’
प्रतिक्रिया 4