+
+

आर्यन खान र आशीष मिश्राः दुई सन्तानको कहानीमा रुमल्लिएको भारत

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते १२:१०

सबैभन्दा पहिला बलिउड सुपरस्टार साहरुख खानका २३ बर्षिय छोरा आर्यन खानको बिषयमा कुरा गरौं । उनलाई अक्टुबर २ तारिखमा एक क्रुज पार्टीमा ड्रग्स लिएको आरोप पक्राउ गरियो । अर्कोतिर, भारतका गृह राज्यमन्त्रीका छोरा आशीष मिश्राको कुरा गरौं । उनीमाथि किसानहरुको र्यालीमा आफ्ना ड्राइभरलाई गाडी कुदाउन आदेश दिएको आरोप लाग्यो । आशीषका ड्राइभरले गाडी कुदाउँदा ४ जना किसानको निधन भयो ।

आर्यन र मिश्रा दुबैले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएका छन् । यी दुइको घटना एक अर्कासँग जोडिएको छैन । तर, भारतका यी दुई सन्तानमाथि देखिएको कानुनको परिभाषाले भने विश्व बजार हल्लिएको छ । आर्यनको साथबाट न त ड्रग्स भेटिएको छ, न त उनले ड्रग्स नै सेवन गरेको पाइएको छ । तर, उनी विगत २० दिनदेखि न्यायिक हिरासतमा छन् । उनलाई अदालतले जमानत दिन पनि अस्विकार गरेको छ ।

आर्यन खानको ह्वाट्सअप च्याटको आधारमा उनीमाथि अनुसन्धान भैरहेको छ । जबकी, ह्वाट्सअप च्याटलाई प्रमाण मान्न नसकिने फैसला केही समय अगाडि भारतको सर्वोच्च अदालतले गरिसकेको छ । नायिकाहरु दीपिका पादुकोण, सारा अली खान, राकुल प्रित लगायतलाई ह्वाट्सअप च्याटकै आधारमा एनसीबीले कारबाही प्रक्रिया अगाडि बढाएन । तर, आर्यनमाथि मात्र किन यस्तो शैली अपनाइयो भन्ने प्रश्न सामाजिक संजालमा उठिरहेको छ ।

आशीष मिश्राको जघन्य अपराधको मुद्दा मिडियाबाट ओझेलमा छ । जबकी, मिडियाको सम्पूर्ण ध्यान आर्यनमाथि छ । विश्लेषकहरुका अनुसार, आर्यनलाई हिरासतमा राख्नुपर्ने कुनै कारण नै छैन । आर्यनका वकिल सतीस मानसिन्देले अदालतमा बहसका क्रममा, क्रुजमा चढ्नु अगाडि आर्यनको २ पटक खानतलासी भएको र उनको साथबाट ड्रग्स नपाइएको, उनले कुनै पनि नशालु पदार्थ सेवन नगरेको बताएका छन् ।

अर्कोतिर, उत्तर प्रदेशको लखिमपुर जिल्लामा प्रधानमन्त्री नरेन्द्र मोदीका सहयोगी अजय मिश्राका छोरा आशीष मिश्राको कार किसानहरुको भिडबाट कुद्यो र ८ जनाको निधन भयो । विपक्षी दल र किसानहरुको चर्को विरोधपछि मात्र प्रहरीले आशीषलाई आरोपी मानेको छ । प्रहरीले यो घटनाको उजुरी दर्ता गर्न लामो समयसम्म इच्छा व्यक्त गरेन ।

लखीमपुर घटना निक्कै नै गम्भिर छ, तर चर्चामा आर्यनको गिरफ्तारी मात्र देखिन्छ । टेलिभिजनमा आर्यनको बिषयमा चर्को बहस भैरहेको छ । तर, आशीषको बिषयमा अधिकांश मिडिया मौन छन् । कतिपय मिडियाले ‘एउटा रेव पार्टीको पर्दाफास’ भन्दै हेडलाइन बनाए भने कतिपयले बलिउड र ड्रग्सको कनेक्शन समाप्त गर्नुपर्ने तर्क पेश गरे ।

पूर्व पत्रकार जोन थामसका अनुसारले बीबीसीसँग भनेका छन्–‘स्टारका छोराको स्टार भ्यालु निक्कै माथि छ । यसले, मानिसहरुको रुचीलाई प्रभावित बनाउन सक्छ । अर्कोतिर, एक गृह राज्यमन्त्रीका छोरा आम मानिसहरुका लागि अज्ञात छन् । उनलाई निक्कै कम मानिसहरु मात्र चिन्दछन् ।’

विश्लेषकहरुका अनुसार, निरन्तर आर्यनमाथिको कभरेज बलिउडलाई कलंकित गर्ने एजेन्डाको रुपमा नै अगाडि आएको बताएका छन् । केही समय अगाडि नायक सुशान्त सिंह राजपुतको निधनपछि उनकी प्रेमिका रिया चक्रवर्तीलाई पनि भारतीय मिडियाले त्यसरी नै प्रस्तुत गरेका थिए, जसरी अहिले आर्यन खानलाई प्रस्तुत गरिरहेका छन् । विशेषगरि, सरकारका गम्भिर गल्तीहरु लुकाउनका लागि बलिउडलाई एजेन्डा बनाउने गरिएको छ । यसको नेतृत्व केही नाम चलेका टेलिभिजनका नाम चलेका पत्रकारले नै गरिरहेका छन् ।

रियामाथि लागेको आरोपमा कुनै दम थिएन, तर यसले उनको करिअरलाई नै अप्ठ्यारो मोडमा ल्याइदिएको छ । आर्यनको गिरफ्तारीपछि पुष्टी भैसकेको छ कि उनले ड्रग्सको सेवन गरेका थिएनन् । तर, यसले खान परिवारको प्रतिष्ठामा आँच पुर्याएको छ ।

यदि, यो एक जमानती अपराध थियो भने एनसीबीले किन उनको रिमान्ड माग्यो ? आर्यनलाई एनसीबीले आरोप मात्र लगाएको छ, जुन पुष्टी भएको छैन । तर, एनसीबीले यसलाई प्रचारको ठूलो बिषय मानिरहेको छ ।

भारतको केन्द्रिय सरकार बढ्दो तेलको मुल्य, ३ हजार किलो ड्रग्सको घटना, आशीष मिश्राको हिट एन्ड रन केसलाई लुकाउन चाहन्छ । यसैले, पनि सरकारको यो शैलीलाई भारतीय मिडियाले खुलेरै साथ दिएका छन् ।

यस अगाडि भने बलिउडमाथि यस्ता शैली नअपनाइएको होइन । केही दिन अगाडि मात्र बलिउड कलाकार सोनु सुदमाथि भारतको आयकर विभागले छापा मार्यो । सोनुले दिल्लीको आम आद्मी पार्टीको एक कार्यक्रममा सहभागीता जनाएपछि सुनियोजित रुपमा उनको छवि धमिलो बनाउने कोशिश गरिएको थियो ।

बलिउडमा नायक अक्षय कुमार लगायतका नायकहरु मोदी सरकारको खुलेरै समर्थन गरिरहेका छन् । अर्कोतिर, साहरुख खान, आमिर खान लगायतका नायकहरु मोदीको बिषयमा मौन छन् । यसैले, पनि भारतको बीजेपी सरकार आफूलाई खुलेरै समर्थन नगर्ने बलिउडका स्टारमाथि विभिन्न मुद्दा लगाएर दबाब दिन चाहन्छ । आर्यन खानको केसलाई पनि अधिकांशले यही शैलीको निरन्तरताको रुपमा हेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?