+
+

चाँदीको भन्सार महसुल बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते १९:०१

५ कात्तिक, काठमाडौं । सरकारले चाँदीको भन्सार महसुल वृद्धि गरेको छ । नेपाली बजारमा चाँदीको मूल्य सस्तो हुँदा भारततर्फ तस्करी बढेको निष्कर्षपछि चाँदी आयातमा लाग्दै आएको भन्सार शुल्क बढाइएको अर्थ मन्त्रालयले जनाएको छ ।

असोज १९ को निर्णयबाट चाँदीको भन्सार शुल्क प्रति १० ग्राम ८५ रुपैयाँबाट बढाएर १०७ रुपैयाँ पुर्‍याइएको अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए । नयाँ निर्णयअनुसार चाँदीको प्रति १० ग्राम भन्सार शुल्क २२ रुपैयाँले बढेको हो । बढाइएको भन्सार महसुलपछि भारतीय बजारमाभन्दा नेपालमा चाँदी महँगो हुने सरकारी आकलन छ ।

भारतीय बजारमा शुक्रबार चाँदीको प्रति १० ग्राम मूल्य ६५३ भारु अर्थात नेपाली रुपैयाँ १ हजार ४४ रुपैयाँ ८ पैसा छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले तोकेको मूल्यअनुसार नेपाली बजारमा १० ग्राम चाँदीको मूल्य एक हजार ७२ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली बजारमा चाँदीको खपतभन्दा उच्च परिमाणमा आयात हुनथालेपछि चाँदीको कारोबार अपारदर्शीताको आशंका बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सामान्य अवस्थामा नेपाली बजारमा दैनिक ३०० देखि ४०० किलो चाँदीको खपत हुने महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए । चाँदीको धेरै कारोबार हुने तिहारमा एक हजार किलो चाँदीको खपत हुन्छ तर धेरै खपत नहुने बेलैमा चाँदीको आयात उकासिएको पाइयो,’ अध्यक्ष शाक्याले भने ।

भन्सारको विवरणअनुसार विगत तीन महिनामा दैनिक तीन/चार हजार किलोका दरले चाँदीको आयात भएको पाइएको थियो । नेपाली बजारको आवश्याकता भन्दा धेरै बढी अर्थात ३ महिनामा ६ अर्बको चाँदी आयात मुलुकको हितमा नदेखिएको र सरकारी नीतिमा संघको पनि सर्मथन रहेको अध्यक्ष शाक्याले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?