+
+

जब मृत्युको समाचार झुटो सावित भयो…!

श्रवण देव श्रवण देव
२०७८ कात्तिक ६ गते १४:१६
स्व.रमानन्दन गुप्ता

५ कात्तिक शुक्रबार प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा एक किसिमको तनाव थियो ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको विरोधमा इन्जिनियरहरु प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरुको प्रदर्शनलगत्तै जनमत पार्टीका कार्यकर्ताले पक्राउको विरोधमा विरोधमा जिल्ला प्रहरी कार्यालय घेराउ गरे ।

यी दुई विषयमा रिपोर्टिङ गरेर समाचार लेख्न कम्प्युटर खोलेलगत्तै नेपाल पत्रकार महासंघ, सिरहाका अध्यक्ष मनोज बनैताको फोन आयो । ‘रमा दाइ अब रहनुभएन । साँझ ६ बजे सिरहा र सप्तरीको सिमाना बलान नदी तटमा उहाँको दाह संस्कार गर्ने कुरा छ । तपाईं आउने प्रयास गर्नुहोला’ उनले भने ।

रमा दाइ अर्थात् रमानन्दन गुप्ता । पत्रकारिता क्षेत्रका हाम्रा अग्रज । अहिले नेपाल पत्रकार महासंघ, प्रदेश २ का उपाध्यक्ष र सिरहा शाखाका पूर्वअध्यक्ष । उनको मृत्यु भएको खबर शुरुमा नेपाल पत्रकार महासंघ, सिरहाका अध्यक्ष बनैताले नै सुनाए ।

मन भारी भएर आयो । लेख्दै गरेको समाचार दिमागबाट हरायो । जतिसुकै चिन्ता भए पनि म एउटा सूचना प्रवाह गर्ने व्यक्ति । फेरि जनकपुरम भएको प्रदर्शनबारेको समाचार लेख्न थालेँंर अनलाइनखबर डटकममा पठाएँ ।

रमानन्द दाइको निधनको खबर विश्वासै लागेको थिएन । एक पटक फेसबुक खोलेँ । फेसबुकमा धेरैले उनको फोटो राखेर श्रद्धाञ्जली दिएका थिए । नेपाल पत्रकार महासंघका प्रदेश २ का अध्यक्ष राजेश कर्णदेखि प्रदेशका मुर्धन्य पत्रकारले पनि उनको फोटो हालेर श्रद्धाञ्जली दिएका थिए ।

मुख्यमन्त्री लालबाबु राउतले पनि गुप्ताको मृत्यु भएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका रहेछन् । मैले पत्रकार महासंघको प्रदेश समिति र सिराहा जिल्ला समितिका केही साथीहरुसँग घटनाबारे थप जानकारी लिएँ । त्यसपछि उनको मृत्युबारे छोटो समाचार लेखेँ र अनलाइनखबरमा पठाएँ । समाचार प्रकाशित पनि भयो र सामाजिक सञ्जालमा शेयर गरेर मैले पनि रमानन्द दाइलाई श्रद्धाञ्जली दिएँ ।

सोच्नै नसकिने फोन …

राति झण्डै ७ सिरहाका पत्रकार सुरेन्द्र कामतीले फोन गरेर भने, ‘दाजु, रमानन्द दाजुबारेको समाचार सच्याउनुपर्ने भयो ।’

मैले सोधेँ, ‘के भयो र ?’

उनले भने, ‘उहाँ त ज्यूँदै हुनुहुन्छ ।’

मैले भने, ‘हो र !’

‘हो दाजु, त्यसलाई सच्याइदिनुस् ‘ उनले भने ।

एकातिर रमानन्द दाइ जिउँदो भएको कुरामा खुशी लाग्यो भने आफूले लेखेको समाचार गलत भएकामा दु:ख लाग्यो ।

दुई मिनेटपछि सिरहाकै पूर्वपत्रकार दिलीप सिंह (अहिले निजामती कर्मचारी) ले फोन गरेर सोधे, ‘राजविराजको हस्पिटलमा भेन्टिलेटर खाली छ कि चाँडो बुझिदिनुस् न ।’
मैले सोधेँ, ‘कसलाई के भएको छ ?’

उनले भने, ‘रमानन्द दाइको शरीरले रेस्पोन्स गर्न थालेको छ । तत्कालै भेन्टिलेटरमा राख्दा ठीक हुन्छ कि ?’

तत्कालै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सक डा. रञ्जित झालाई फोन गर्दा चार वटा भेन्टिलेटर जडान गरिए पनि सञ्चालन गर्न नसकेको सुनाएँ ।
मलाई एकातिर रमानन्द दाजुको सास चलिरहेको खबरले खुशी तुल्याइरहेको थियो भने मृत्युबारे दुई प्याराग्राफको समाचार लेखे वापतको पछुतो ।

मनमा यस्तै कुरा खेलाइरहेकै बेला प्रदेश २ का मिडिया प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले फोन गरे । उनले रमानन्द दाइको मृत्युबारेको समाचारकै कुरा झिकेर दुःख व्यक्त गरे । र सँगै पत्रकारले स्रोतमा भर पर्दा गल्ती भएको भन्दै ढाडस पनि दिए ।

नेपाल पत्रकार महासंघ, प्रदेश २ का अध्यक्ष राजेश कर्णले आफूले रमानन्दको छोरासँगै कुरा गर्दा मृत्यु भएको पुष्टि गरेकाले फेसबुकमा लेखेको बताए । ‘मैले उनको छोरालाई फोन गर्दा उनले, ‘मेरो बुवा रहनुभएन’ भनेपछि फेसबुकमा श्रद्धाञ्जली दिएको हुँ’ उनी भन्छन् ।

नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता कात्तिक तीन गते उच्च रक्तचापका कारण गम्भीर बिरामी भई विराटनगरको न्युरो अस्पतालमा उपचार गराउँदादेखि रमानन्द दाइको परिवारसँग नियमित सम्पर्कमा थिए ।

शुक्रबार करिब ३ बजे आफूले रमानन्दको परिवारकै सदस्यबाट मृत्युको जानकारी पाएको र साँझ ६ बजे दाह-संस्कारको लागि पत्रकारहरुलाई बोलाइदिन आग्रह पनि गरेको बनैता बताउँछन् ।

तर शुक्रबार साँझ मृत्यु भएको भनी घर ल्याएपछि शरीरमा चाल देखिएपछि रमानन्द दाइलाई पुनः उपचारका लागि लहान अस्पताल र त्यसपछि विराटनगर लगिएछ । उनलाई पुनः भेन्टिलेटरमा राखिएछ ।

मैले भरपर्दाे स्रोतको आधार नभएसम्म समाचार लेख्ने गरेको छैन । बरु जति नै समय किन नलागोस् । तर यस पटक भने आफूले लेखेको समाचार गलत भइरहेको थियो । त्यो पनि मानिसको मृत्युजस्तो विषयमा ।

रमानन्द दाइको मृत्युको सूचना उनको पारिवारिक स्रोतबाटै आएको थियो । यस्तो अवस्थामा त्यो सूचना प्रवाह गर्दा ठीकै हुने लाग्यो । यसपछि मैले समाचार लेखेँ । हालसम्म मेरो विश्वसनीयतामाथि अविश्वास नगर्ने अनलाइनखबरले समाचार पनि पोष्ट गर्‍यो ।

तर, घटनामा एक्कासी आएको बदलावले एकातिर खुशी दियो भने अर्काेतर्फ गलत समाचार लेखियो भनेर पश्चाताप । निधन भएको समाचार लेखिसकेपछि उनको शरीर हलचल भएपछि समाचार झुटो सावित भइहाल्यो । त्यसका लागि सम्पूर्ण पाठकसँग क्षमायाचना गर्दछु ।

तर, यति लेख्दालेख्दै रमानन्द दाइलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्न सकिएन । कारण, उनको शनिबार बिहान २ बजे न्यूरो अस्पताल विराटनगरमै निधन भएको छ ।
मृत्यु भएपछि उनको शव पुनः शनिबार बिहान लहान नै ल्याइएको छ । हार्दिक श्रद्धाञ्जली रमानन्द दाइ ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?