News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल-चीन सीमामा २६ अगस्ट २०२६ को बाढीपहिरोले नेपालमा ७०० भन्दा बढीको ज्यान लिएको र हजारौं बेपत्ता भएको छ।
- त्रिशूली र भोटेकोशी प्रणालीमा हिमनदीको ठूलो टुक्रा भाँचिएर खस्दा बाढीपहिरो आएको र नेपालीसहित दर्जनौं मुलुकका पर्यटक तथा तीर्थयात्री प्रभावित भएका छन्।
- चिनियाँ र नेपाली उद्धार टोलीले केरूङ्ग सीमा नाकासहित प्रभावित क्षेत्रमा खोजी जारी राखेको छ, जहाँ पुनर्निर्माण र राहतका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने अनुमान गरिएको छ।
२६ अगस्ट २०२६ को बिहान नेपाल र चीनको सीमामा गएको विनाशकारी बाढीपहिरोले संसारभरका ठूला सञ्चारमाध्यमहरूको ध्यान तानेको छ। त्रिशूली र भोटेकोशी नदी प्रणालीमा हिमनदीको ठूलो टुक्रा भाँचिएर खसेपछि उत्पन्न भएको यस विपत्तिले नेपालमा मात्रै ७०० भन्दा बढीको ज्यान लिइसकेको छ । हजारौंको संख्यामा बेपत्ता छन् ।
मृतक र बेपत्ता हुनेमा नेपाली नागरिकका साथै भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसियालगायत दर्जनौं मुलुकका पर्यटक र कैलाश मानसरोवर जाने तीर्थयात्रीहरू पनि परेका छन् । घटनाको गम्भीरता र यसको अन्तर्राष्ट्रिय प्रकृतिका कारण विश्वका मिडियाहरूले यसलाई प्राथमिकताका साथ रिपोर्ट गरिरहेका छन्।
तर यी माध्यमहरूले केवल मानवीय पीडा र उद्धारको साझा कथामा मात्र सीमित नरहेर आ-आफ्नै भूराजनीतिक स्वार्थ, वैज्ञानिक चासो र आ- आफ्नो झुकावअनुसार फरक-फरक कोणबाट यस विपत्तिलाई हेरेका छन्।
अमेरिकी पत्रिका द न्यूयोर्करमा पत्रकार इशान थरूरले लेखेको विश्लेषणले यस विपत्तिलाई केवल प्राकृतिक प्रकोपको रूपमा मात्र नहेरी विश्वव्यापी जलवायु अन्यायको प्रतीकको रूपमा प्रस्तुत गरेको छ। थरूरको लेखको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको जलवायु न्यायको प्रश्न हो। उनले नेपालले विश्वव्यापी उत्सर्जनमा निकै कम योगदान गरे पनि सबैभन्दा छिटो तात्दै गएको हिमनदी प्रणालीको मारमा परेको ‘नेपाल यस संकटको असाधारण रूपमा असमान मूल्य चुकाइरहेको छ’ भन्ने विषय समेटेका छन्।

थरूरले हिन्दू पौराणिक कथासँग यसलाई जोडेका छन् । भगवान शिवले कैलाश पर्वतमा गंगा नदीलाई आफ्नो जटामा थुनेको कथा उल्लेख गरेका छन् । जसले हिमालयको पवित्र भूगोल र मानवसिर्जित जलवायु परिवर्तनको सम्बन्धलाई प्रतीकात्मक रूपमा देखाउँछ । भारतीय टिप्पणीकार ब्रह्म चेल्लानीको भनाइ पनि थरूरले समेटेका छन्, जसमा चीनले तिब्बती पठारमाथिको नियन्त्रणबाट रणनीतिक लाभ लिइरहेको र सीमापार नदीहरूमा बाँधहरूको शृंखला बनाएर तनावको बेला जलस्रोत सम्बन्धी तथ्याङ्क रोकिरहेको आरोप छ।
द न्युयोर्क टाइम्सले घटनाको वैज्ञानिक पक्षलाई निकै गहिराइमा पुगेर व्याख्या गरेको छ। पत्रिकाका अनुसार लगभग सत्र हजार फिट उचाइमा रहेको हिमनदीको झन्डै दुई हजार फिट चौडा टुक्रा भाँचिएर तल खसेको र यसले बाटोमा भेटिने सबै कुरालाई टुक्राउदै पार्दै तल झरेको बताइएको छ।
क्यानाडाको क्याल्गरी विश्वविद्यालयका वैज्ञानिक ड्यानियल शुगारले उपग्रह तस्बिरको अध्ययन गरेपछि यस क्षेत्रको तल्लो भाग बम विष्फोट भएजस्तो देखिने र यो सम्पूर्ण दृश्य भाँचिएको हिमनदीको मलबेले भरिएको बताएका थिए। अमेरिकी सर्वेक्षण यूएसजीएसका अनुसार, सुरुमा ४.४ म्याग्निच्युडको भूकम्प वास्तवमा यही पहिरोकै कारणले उत्पन्न भएको थियो । र यसको वास्तविक शक्ति ५.२ म्याग्निच्युड बराबरको मानिएको छ।
टाइम्सले रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारलाई उद्धृत गर्दै नेपालमा त्यस दिन कुनै पानी नपरेकाले यस्तो विपत्तिको कल्पनासमेत नगरिएको भनाइ राखेको छ।
भारतीय अध्यात्मिक गुरु सद्गुरुले आफ्नो प्रतिष्ठानका माध्यमबाट कैलाश जाँदै गरेका सतहत्तर जना आप्रवासन केन्द्रमा फसेको र तिनको हालसम्म कुनै अत्तोपत्तो नभएको सामाजिक सञ्जालमार्फत जनाएका थिए।
यसका साथै टाइम्सले सन् २०२१ मा भारतको उत्तराखण्डमा भएको त्यस्तै हिमनदी दुर्घटनामा एक सय भन्दा बढीको मृत्यु भएको तथ्य पनि तुलनाका लागि उल्लेख गरेको छ।
नेदरल्यान्ड्सको उट्रेख विश्वविद्यालयका विज्ञ तेन्जिङ छोग्याल शेर्पाले यो क्षेत्रले भोगेकोमध्ये सबैभन्दा विनाशकारी बाढी भएको बताएका थिए।
गार्जियनले यस विपत्तिलाई मुख्यतः उद्धार र मानवीय संवेदनाको कोणबाट हेरेको छ। यसले बाढीपछि बनेको अवरोधक तालबाट थप बाढीको जोखिम रहेको बताउँदै उद्धार कार्य कतिपटक स्थगन गर्नुपरेको उल्लेख गरेको छ। सडक र पुल पूर्ण रूपमा नष्ट भएकाले उद्धारकर्मीहरूलाई दुर्गम क्षेत्रसम्म पुग्न निकै कठिन भएको र कतिपय ठाउँमा हिँडेरै वा डोरीको सहायताले भीरपहरा पार गर्नुपरेको यसले जनाएको छ।

गार्जियनले तिब्बततर्फको सूचना नियन्त्रणलाई पनि उठाएको छ, जहाँ राज्य नियन्त्रित सञ्चारमाध्यमले मात्र सीमित जानकारी बाहिर आउन दिएको र वास्तविक क्षतिको पूर्ण चित्र प्राप्त गर्न कठिन भएको आशंका व्यक्त गरिएको छ। यसले मानव अधिकार समूहका चिन्ता पनि समेटेको छ । यसअनुसार तिब्बततर्फको मृत्युसंख्या वास्तविकभन्दा कम देखाइएको हुनसक्ने आशंका रहेको छ। अस्पतालमा आफन्तको खोजी गर्दै हिँडेका परिवारका मार्मिक दृश्य र बाँचेकाहरूका अनुभव पनि गार्जियनको रिपोर्टमा प्रमुख स्थान पाएका छन्।
रोयटर्सले यस घटनालाई निरन्तर अद्यावधिक तथ्याङ्कसहित रिपोर्ट गरिरहेको छ । जसमा मृतक र बेपत्ताको संख्या दिनप्रतिदिन कसरी परिवर्तन भइरहेको छ भन्ने कुरालाई प्रमुख स्थान दिइएको छ ।
रोयटर्सले चिनियाँ उद्धार टोलीले पहिलोपटक पूर्णतया ध्वस्त भएको केरूङ्ग सीमा नाकामा पुगेर ‘भग्नावशेषबाहेक केही नभेटिएको’ उल्लेख गरेको छ। बाईस वर्षीया माटी माया तामाङले आफ्नो आठ वर्षे छोरा जोयल घलेसँग पुनर्मिलन भएको घटना पनि रोयटर्सले मार्मिक ढंगले प्रस्तुत गरेको छ । जो विद्यालय भत्किँदा जङ्गलतिर भागेर रूखमा चढेर बाँचेका थिए।

रोयटर्सले नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेको भनाइ पनि उद्धृत गरेको छ । जसअनुसार पुनर्निर्माणका लागि चार देखि पाँच अर्ब डलरसम्म आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ। यसका अतिरिक्त एजेन्सीले चीनका राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा भएको पोलिटब्युरो बैठकमा हिमताल र पहिरो निगरानी सुदृढ पार्न र अन्तर्राष्ट्रिय सहकार्य बढाउन निर्देशन दिइएको जनाएको छ।
चीनका प्रधानमन्त्री ली छियाङ स्वयं केरूङ्ग क्षेत्रमा पुगेर विपत्तिलाई उच्च प्राथमिकता दिइएको संकेत गरेको पनि रोयटर्सले उल्लेख गरेको छ।
चिनियाँ सञ्चारमाध्यमहरू सिन्ह्वा, ग्लोबल टाइम्स र साउथ चाइना मर्निङ पोस्टले यस विपत्तिलाई मुख्यतः वैज्ञानिक अनुसन्धान, उद्धार प्रयास र सीमापार सहकार्यको कोणबाट प्रस्तुत गरेका छन्।
साउथ चाइना मर्निङ पोस्ट ( एससीएमपी ) ले चीनले नेपालको अनुरोधमा नौ जना सुरुङ विशेषज्ञ खटाएको विस्तृत रिपोर्ट गरेको छ। यीमध्ये पाँचजना हेलिकप्टरमार्फत तिब्बतको केरूङ्ग काउन्टीबाट उडेर सीमा क्षेत्रको एउटा जलविद्युत् आयोजनामा पुगेका थिए । त्यहाँ एक सय भन्दा बढी मानिस सुरुङभित्र फसेका थिए।
रिपोर्टका अनुसार चिनियाँ पक्षले उत्खनन् यन्त्र र भारी मेसिनरी प्रयोग गरेर केरूङ्ग बन्दरगाहसम्मको बाटो पुनःनिर्माण गर्न लागिपरेको र केही ठाउँमा दुई मिटरसम्म गहिरो हिलो जम्मा भएकाले काम निकै चुनौतीपूर्ण भएको उल्लेख छ। यसले भारी उठाउने ड्रोनहरूको प्रयोग गरेर उद्धार सामग्री हवाईमार्गबाट पठाइएको र सूक्ष्म तहसम्मको भूगर्भीय हलचल पत्ता लगाउन सक्ने लेजर-भिडियो निगरानी प्रविधि पनि प्रयोगमा ल्याइएको जनाएको छ।
एससीएमपीले चिनियाँ प्राकृतिक स्रोत मन्त्रालयका वरिष्ठ इन्जिनियर छेन होङ्छीलाई उद्धृत गर्दै हिमनदीनजिकै अर्को झन्डै एक लाख बीस हजार वर्गमिटरको पानीको भण्डार बनिरहेको र यसले थप विपत्तिको जोखिम ल्याउन सक्ने चेतावनी दिएको उल्लेख गरेको छ।
बेइजिङस्थित एउटा सेटेलाइट कम्पनीले घटनापछि केही घण्टाभित्रै आफ्ना छवटा उपग्रह विपत्ति क्षेत्रतिर मोडेर उच्च-रिजोल्युसन रडार तस्बिर खिचेको पनि पत्रिकाले रिपोर्ट गरेको छ।
चिनियाँ र नेपाली वैज्ञानिकहरूले मिलेर बनाएको सीमापार पूर्वसूचना प्रणालीबारे पनि विस्तृत रिपोर्ट प्रकाशित भएको छ, जसअनुसार विगत केही वर्षमा यस प्रणालीले सात पटक सफलतापूर्वक पूर्वचेतावनी दिइसकेको दाबी गरिएको छ। तर यस पटकको विपत्तिमा प्रणालीले कुनै संकेत पत्ता लगाएको थियो कि थिएन भन्ने प्रश्नको जवाफ अझै स्पष्ट भएको छैन।
चिनियाँ विज्ञ काङ शिछाङले उच्च हिमपहाडी क्षेत्रमा निगरानी गर्ने उपकरणको अभावका कारण विपत्तिको स्रोत नेपालतर्फ भएमा सेन्सरले संकेत पत्ता लगाउँदासम्म पहिरो पहिले नै अघि बढिसकेको हुनसक्ने बताएका थिए।
नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित एक अध्ययनको हवाला दिँदै एससीएमपीले तिब्बती पठार अस्थिर हुँदै गएको वैज्ञानिक विश्लेषण पनि प्रस्तुत गरेको छ।

बेइजिङ नर्मल विश्वविद्यालयका भौतिकशास्त्री छेन शियाओसोङको नेतृत्वमा भएको यस अध्ययनले सन् २०२५ देखि सन् २१०० सम्म पठारमा माटोको आर्द्रता घट्दै जाने र प्रणाली झन् अस्थिर बन्दै जाने प्रक्षेपण गरेको छ। यस अध्ययनले भारतलाई पनि यसको असर पर्ने चेतावनी दिएको छ । यद्यपि विशिष्ट प्रभाव थप अध्ययनको विषय रहेको उल्लेख गरिएको छ।
यसैगरी चिनियाँ माध्यमहरूले सन् १९८१ मा त्यही क्षेत्रमा चिरेन्मा त्सो हिमताल फुटेर नेपाल-चीन मैत्री पुल भत्किएको र दुई सय भन्दा बढीको ज्यान गएको ऐतिहासिक घटना पनि उल्लेख गरेका छन्। साथै सन् २०२५ मा त्यही क्षेत्रमा भएको एउटा विपत्तिको पनि उल्लेख गरेका छन् जसमा अठार जनाको मृत्यु भएको थियो।
अधिकांश भारतीय सञ्चारमाध्यमहरूले भने यस विपत्तिलाई भूराजनीतिक चश्माबाट हेर्ने प्रवृत्ति देखाएका छन्।
इन्डिया टुडेले चीनले तिब्बतको मेडोग काउन्टीमा निर्माण गरिरहेको साठी हजार मेगावाटको विशाल जलविद्युत् आयोजनामाथि थप प्रश्न उठेको उल्लेख गरेको छ। यार्लुङ त्सांग्पो नदीमा बनिरहेको यो बाँध भारतको अरुणाचल प्रदेशको सीमानजिकै अवस्थित छ । यही नदी भारत प्रवेश गर्दा सियाङ र पछि ब्रह्मपुत्र नामले चिनिन्छ।
रिपोर्टले वैज्ञानिकहरूले जुलाई महिनामै यार्लुङ त्सांग्पोमाथिको मेडोग जलविद्युत् केन्द्र सक्रिय भ्रंश रेखामाथि अवस्थित रहेको पत्ता लगाएको अध्ययनको हवाला दिएको छ। यस आयोजनालाई विज्ञहरूले ‘वाटर बम’ भनी वर्णन गरेका छन् । किनभने यो भूकम्पको दृष्टिले अत्यन्त संवेदनशील क्षेत्रमा निर्माण भइरहेको छ।
कतिपय विश्लेषकहरूले भने चीनको हिमाली क्षेत्रमा पूर्वसूचना प्रणालीको अभाव र सीमापार जल तथ्याङ्क साझेदारीमा अनिच्छाले नै यस विपत्तिको मार बढाएको बताएका छन्। इन्डिया टुडेले पूर्व राजदूत राजीव डोग्रा र अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डूको भनाइ पनि समेटेको छ । जसमा उनीहरूले चीनको यस विशाल बाँधले भारतको उत्तरपूर्वी क्षेत्रमा ठूलो विनाश ल्याउन सक्ने कुरा व्यक्त गरेका छन्।

सीएनबीसी-टीभी१८ मा प्रकाशित अर्को विश्लेषणले भने भूराजनीतिक भन्दा बढी व्यावहारिक र नीतिगत कोणबाट हेरेको छ। यसमा वातावरण अभियन्ता विम्लेन्दु झा, नेपालका पत्रकार श्रीराम सुवेदी र पूर्व राष्ट्रिय विपत् प्रतिकार्य बलका महानिर्देशक एस एन प्रधानका विचार समेटिएका छन्।
सुवेदीका अनुसार पूर्वचेतावनी प्रणाली प्रभावकारी हुन नसक्दा कतिपय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा जान बीस देखि तीस मिनेटमात्र समय मिलेको थियो। प्रधानले नदी प्रणाली र प्रकृतिले सीमारेखा नमान्ने भन्दै भारत, नेपाल र चीनबीच वास्तविक समयको सूचना आदानप्रदान प्रणाली आवश्यक रहेको जोड दिएका छन्। झाले भने हिमालय क्षेत्रमा पच्चीस हजार जति हिमताल रहेको र तीमध्ये दुई सय पचास जति भारततर्फ जोखिमपूर्ण रहेको बताउँदै विकास निर्माणमा भूगर्भीय जोखिमलाई बेवास्ता गरिएको आलोचना गरेका छन्।
अमेरिकी डिजिटल न्युज प्लेटफर्म एक्सियोसले यस घटनालाई छोटो तर तथ्यपरक ढंगले निरन्तर अद्यावधिक गर्दै लगेको छ । जसमा मृतक र बेपत्ताको संख्या, अन्तर्राष्ट्रिय सहयोगको स्थिति र अमेरिकी नागरिकहरूको अवस्थालाई प्राथमिकता दिइएको छ।
अल जजिराले घटनाक्रमको विस्तृत समयरेखा र बेपत्ता विदेशी नागरिकहरूको मुलुकगत सूची प्रस्तुत गर्दै उद्धार कार्यमा देखिएका मुख्य चुनौतीहरूलाई व्याख्या गरेको छ। बीबीसीले भने आफ्नो लाइभ अद्यावधिक ढाँचामार्फत मृत्युसंख्या निरन्तर बढ्दै गएको, उद्धार कार्य र भूभागको दुर्गमता तथा वर्षाका कारण राहत सामग्री वितरणमा कठिनाइ भइरहेको जनाएको छ।
प्रतिक्रिया 4