+
+

चीनमा रहने अन्तिम अमेरिकी कम्पनी बन्दैछ एप्पल ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १३:०१

कुनैबेला थियो फेसबुकलगायतका सबैजसो अमेरिकी कम्पनीहरु चीनमा समेत सञ्चालित थिए । अहिले चाहिं चीनमा एप्पल मात्रको ठूलो उपस्थिति निकै महत्वपूर्ण बनिरहेको छ ।

अघिल्लो हप्ता माइक्रोसफ्टले चीनमा आफ्नो सोसल मिडिया प्लाटर्फम लिंक्डइन बन्द गर्ने घोषणा गर्‍यो ।

चिनियाँ सरकारका कडा नियमहरू पालना गरेर सञ्चालन गर्नु निकै चुनौतीपूर्ण भएकाले चीनमा लिंक्डइन बन्द गरिएको माइक्रोसफ्टको भनाइ थियो ।

हुनत एप्पलले पनि चीनमा विभिन्न खाले सेन्सरसिप सम्बद्ध समस्याहरू झेलिरहेको छ । गत हप्ता नै एप्पलले आफ्नो एप स्टोरबाट दुईवटा लोकप्रिय धार्मिक एपहरु हटाउनु परेको थियो । त्यसपछि अमेजन स्वामित्वको अडिबल तथा याहु फाइनान्स एप पनि हटाउनु पर्‍यो ।

एप स्टोरको अनुगमन गर्ने समूह एप्पल सेन्सरसीपका अनसार यो महिना एप स्टोरबाट हटाइने एपहरुको संख्या बढी हुनेछ ।

आखिर यस्तो के भैरहेको छ त ?

प्रविधि उद्योगमाथि व्यापक हस्तक्षेप

चीनमा बन्द कोठाभित्र के भैरहेको छ भन्ने आँकलन गर्नु निकै कठिन छ । र पनि के कुरा थप प्रष्ट भैरहेको छ भने चिनियाँ अधिकारीहरू र चीनको प्रविधि उद्योगबीचको घरेलु द्वन्द्वको चपेटामा माइक्रोसफ्ट तथा एप्पल जस्ता कम्पनीहरू पिल्सिइरहेका छन् ।

चीनमा टेनसेन्ट, अलिबाबा तथा हुवावेलगायतका विशाल विश्वस्तरीय कम्पनीहरू रहेका छन् । तर ती कम्पनीहरुले गरिरहेको शक्ति आर्जन चीन सरकारका लागि टाउको दुखाइको विषय बनिरहेको छ ।

गत अप्रिल महीनामा अलिबाबालाई सरकारले दुई अर्ब ८० करोड अमेरिकी डलर बराबरको जरिवाना गर्‍यो । आफ्नो प्रभुत्वशाली बजार अवस्थाको दुरुपयोग गरेको अभियोगमा गरिएको जरिमानाको सजायलाई अलिबाबाले स्वीकार्नुको विकल्प थिएन।

गत अगष्ट महीनामा चीन सरकारले प्रविधि अर्थतन्त्रको कसिलो नियमन गर्ने सम्बन्धी पञ्चवर्षीय योजना सार्वजनिक गर्‍यो । यसबीचमा चीन सरकारले डिजिटल मुद्रा बिटक्वाइनको कारोबारमा पनि रोक लगाएको छ ।

सरकारको प्रविधि उद्योगमाथिको व्यापक हस्तक्षेप अर्थात् ग्रेट टेक क्र्याकडाउनबाट अमेरिकी कम्पनीहरु पनि अछुतो छैनन् ।

Great Firewall of China पुस्तकका लेखक जेम्स ग्रिफिथ्स भन्छन् – हस्तक्षेपका कारण एप्पल र माइक्रोसफ्ट के कुरामा सचेत भएका छन् भने उनीहरूको अवस्था पहिलेको भन्दा निकै संवेदनशील बनेको छ र निकै सावधानीपूर्वक पाइला चाल्नुपर्नेछ ।

आगामी नोभेम्बर १ देखि कार्यान्वयनमा आउने व्यक्तिगत सूचना सुरक्षा कानून माइक्रोसफ्टका लागि निकै सकसपूर्ण बन्नेछ । यो कानून कार्यान्वयनमा आएसँगै माइक्रोसफ्टले थप जटिल नियमनको सामना गर्नुपर्नेछ ।

उता चीनमा एप्पलको प्राथमिकताहरु भने माइक्रोसफ्टको भन्दा फरक छन् । अन्य अमेरिकी कम्पनीहरुभन्दा एप्पल चीनमा निकै गहन रुपमा जेलिएको छ । अघिल्लो त्रैमासिकमा मात्रै एप्पलले चीन र ताइवानबाट १५ अर्ब डलर आम्दानी गर्न सफल भयो, जुन असाधारण अंक हो ।

एप्पललको विश्वव्यापी आपूर्ति श्रृंखला पनि चिनियाँ निर्माणमा आधारित छ । र, एप्पललाई के थाहा छ भने चीनमा रहनका लागि चिनिया नियमहरुको पालना गर्नैपर्दछ, चाहे त्यो सेन्सरसीप नै किन नहोस् ।

प्रश्न उठ्न सक्दछ- आखिर एप्पलले चीनमा एप स्टोरलाई छाडेर हार्डवेयरको मात्र बिक्रि किन नगरेको होला ?

समस्या यो छ कि, एप्पल के ठान्दछ भने आइफोन र एप स्टोर भनेका अभिभाज्य हुन् । आइफोनमा आफ्नो एप स्टोरबाट अन्य एप्लिकेसन प्लाटर्फमबाट पनि एपहरू डाउनलोड गर्न सकिन्छ भने नजिर स्थापित गर्न चाहँदैन एप्पल । यदि त्यसो गरिहाल्यो भने उसको आम्दानी पनि निकै घट्नेछ । त्यसैले चीनमा आफ्ना प्रडक्ट बिक्री गरिरहने हो भने एप स्टोरलाई पनि निरन्तरता दिनु अनिवार्य छ उसका लागि । त्यसैले एप्पलले नियमहरुको पालना गर्दै एप स्टोरका विभिन्न एपहरुलाई हटाउँदै भए पनि एप स्टोरलाई चीनमा निरन्तरता दिइरहेको छ वर्षौँदेखि ।

गोप्य रणनीति

अन्य विभिन्न अमेरिकी कम्पनीहरुले माइक्रोसफ्टभन्दा धेरै अगाडि देखि नै चीनलाई बिदा गरिसकेका हुन् ।

चिनियाँ ह्याकिंग आक्रमणलाई कारण देखाउँदै गुगलले सन् २०१० मै चीनमा आफ्नो सर्च इन्जिन बन्द गरेको थियो । गुगल सर्चमा सेन्सरसिप लगाउने कुरामा आफू सन्तुष्ट नभएको गुगलको भनाइ छ ।

विश्लेषकका अनुसार लिंक्डइन बन्द गर्ने माइक्रोसफ्टको निर्णयसँगै अब चीनमा एप्पल नै तारो बनेको छ । तर चीनमा रहिरनका लागि एप्पलले जस्तोसुकै संघर्ष गर्नेछ ।

सिलिकन ड्रागन्स पुस्तककी लेखिका रेबेका फानिन भन्छिन्- तपाईंलाई थाहा छ एप्पलमा चिनियाँ बजारको अग्रणी कम्पनीहरू मध्येको एक हो । यस्ता कुनै पनि विषयका कारण एप्पलले छिटै चीनबाट हात झिकिहाल्ने सम्भावना देखिँदैन ।

एप्पल र चिनियाँ अधिकारीहरुबीच बन्द कोठाभित्र के छलफल भइरहेको छ भन्ने कसैलाई थाहा छैन । एप्पल कम्पनीले उनीहरुका नियम पालना गरेकै कारणले अझैपनि धेरै एपहरु एप स्टोरमा कायमै छन् ।

प्रायः एप्पलले यस्ता विषयहरुमा सार्वजनिक टिप्पणी गर्ने गरेको छैन र यस्ता खाले समाचारलाई पत्रकारको मानवअधिकारको विषय भनेर टार्ने गरेको छ । साथै एप्पलले आफू सञ्चालित मुलुकको नियम कानूनहरुप्रति आफनो असहमति रहेतापनि पालना गर्ने बताउँदै आएको छ ।

र, चीनमा पनि एप्पले यहीँ गरिरहेको छ। सरकारी अधिकारीहरूले कुनै एप हटाउन चाहेमा एप्पलले खुरुक्क हटाइदिन्छ । चीनमा एप्पलको उपस्थिति कुनै अर्को युगको ह्यांगओभर जस्तै प्रतित हुन्छ । ठूला प्रविधि कम्पनीहरूको लागि चीनमा उपस्थितिको हाल खासै ठूलो अर्थ छैन ।

आखिर कुन तहसम्मको नियमन, कुन तहसम्मको नियम पालना र कतिधेरै सेन्सरसिप भयो भने मात्रै अति हुने हो ?

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?