
७ कात्तिक, बुटवल । मानव अधिकार तथा शान्ति समाजले अफगानिस्तानका नागरिकको मानव अधिकारको रक्षा गर्न संयुक्त राष्ट्र संघको ध्यानाकर्षण गराएको छ ।
संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसरमा समाजले बुटवलमा गरेको प्रदर्शनमा बोल्दै समाजका केन्द्रीय सभापति गोविन्द खनालले अफगानिस्तानमा तालिवानको सरकार बनेसँगै त्यहाँका नागरिकको मानव अधिकारमाथि प्रश्न उठेको बताए ।
अफगानिस्तानमा मानवअधिकारको रक्षा र शान्ति कायम गर्नका लागि संयुक्त राष्ट्र संघलगायत विश्वभरका देशका सरकारहरुले ध्यान दिनुपर्ने खनालले बताए ।
कार्यक्रममा पत्रकार महासंघ रूपन्देहीका सभापति रामराज पोखरेलले तानाशाही शासन संसारमा कहीं पनि नटिक्ने भन्दै अफगानिस्तानका महिलाको मानव अधिकार रक्षाका लागि सरोकारवाला सबैले तालिवान सरकारलाई दबाब दिनुपर्ने बताए ।
समाजले ‘अफगानिस्तानलाई नरक हुनबाट जोगाऔँ’, ‘तालिबानको शासनमा मानव अधिकार कहाँ छ ?’, ‘तालिबानको शासनमा असुरक्षित महिला’लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेर संयुक्त राष्ट्र संघ दिवस मनाएको समाजका जिल्ला सभापति डीपी खनालले बताए ।
प्रतिक्रिया 4