
७ कात्तिक, काठमाडौं। अमेरिकाका एक वरिष्ठ कूटनीतिज्ञले उत्तर कोरियाप्रति आफूहरुले कुनै दुश्मनी नराख्ने बताएका छन् ।
उत्तर कोरियाली मामिलासम्बन्धी वरिष्ठ अमेरिकी कूटनीतिज्ञ सुङ किमले उत्तर कोरियाप्रति आफूहरुले कुनै वैरभाव नराख्ने बताएका हुन् । उत्तर कोरियासँग अमेरिका बिना शर्त वार्ता गर्न तयार रहेको पनि सुङले प्रस्ट पारे ।
‘उत्तर कोरियासँग बिना शर्त बैठक गर्न हामी तयार छौं’, सुङलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्, ‘उत्तर कोरियाप्रति अमेरिकाले कुनै दुश्मनी राख्दैन भनेर हामीले प्रस्ट पारिसकेका छौं ।’
यस्तै सुङले उक्साहटपूर्ण कार्य गर्न छोडेर उत्तर कोरिया पुन: वार्तामा आउनुपर्ने बताए । ‘चिन्ताजनक एवं प्रत्युत्पादक’ क्षेप्यास्त्र परीक्षण बन्द गरेर वार्ता सुचारु गर्नुपर्ने उनको भनाइ थियो ।
उत्तर कोरियाद्धारा पछिल्लो समय गरिएका क्षेप्यास्त्र परीक्षणबारे दक्षिण कोरियाली अधिकारीसँग छलफल गरेपछि अमेरिकी कूटनीतिज्ञको यस्तो प्रतिक्रिया आएको हो ।
‘उत्तर कोरियालाई यसखाले उक्साहटपूर्ण कार्य र अस्थिरता निम्त्याउने अन्य गतिविधि बन्द गरेर वार्तामा आउन अपील गर्छौं’, पत्रकारसँग कुरा गर्दै सुङले भने ।
गत मंगलबार उत्तर कोरियाले हतियार परीक्षणको पाँचौं चरण अन्तर्गत पनडुबीबाट प्रहार गर्न सकिने नयाँ ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । वासिङ्टन र प्योङयाङबीच लामो समयदेखि आणविक वार्तामा देखिएको तनावकाबीच उक्त परीक्षण भएको हो ।
पछिल्लो क्षेप्यास्त्र परीक्षण उत्तर कोरियासम्बन्धी राष्ट्रसंघले पारित गरेका प्रस्ताव विपरीत भएको र यसबाट उसका छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायमाथि खतरा उत्पन्न भएको सुङको भनाइ थियो।
यस्तै सुङले नयाँ क्षेप्यास्त्र परीक्षणलाई ‘कोरियाली प्रायद्वीपमा दिगो शान्ति स्थापना गर्न भइरहेको प्रगतिका लागि चिन्ताजनक र प्रत्युत्पादक’ भएको पनि बताए ।
प्रतिक्रिया 4