+
+

पार्टी नेतृत्वले महाधिवेशन गर्न ढिलाइ गरिरहेको छ : प्रकाशमान सिंह

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १३:४४

७ कात्तिक, जनकपुरधाम । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् । जनकपुर विमानस्थलमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै सिंहले पार्टी नेतृत्व र पदाधिकारीले महाधिवेशन गर्न ढिलाइ गरिरहेको आरोप लगाए ।

चार पटक मिति तोकेर पनि महाधिवेशन समयमा नभए पार्टीकै लागि राम्रो नहुने उनको भनाइ छ । ‘सभापति र पदाधिकारीले पार्टीलाई यसरी बेथितिमा राख्न मिल्छ ?’ सिंहले भने, ‘क्रियाशील सदस्यमा केही विवादै नगर्नुपर्ने तथा विधि र नियम अनुसार दिनुपर्नेमा नदिई समितिमाथि समिति गठन गर्दै आएको छ ।’

परिणामलाई आफ्नो पक्षमा पार्न पार्टी पदाधिकारीले क्रियाशील सदस्यतामा खेलबाड गरिरहेको भन्दै उनले यसले कांग्रेसलाई राम्रो नगर्ने बताए । मंसिर ९ गतेदेखि तोकिएको महाधिवेशन सोही मितिबाट प्रक्रिया शुरु गर्नुपर्ने उनले बताए । ‘के गाह्रो छ भन्या ? निर्वाचन समिति गठन भइसकेको छ । निर्वाचन समितिले क्रियाशील दिनुस् बाँकी रहेको ठाउँमा काम गर्छु भनिरहँदा पनि आलटाल गरिरहेको छ,’ उनले भने, ‘समितिमाथि समिति गठन गरेर ढिला गरिरहेको छ ।’

सिंहले विधि र प्रक्रिया अनुसार पार्टी चल्नुपर्ने बताए । ‘भन्नका लागि प्रजातान्त्रिक पार्टी भन्ने र अभ्यास न्यूनतम रुपमा पनि आन्तरिक नहुने ?’ उनले प्रश्न गरे । सिंहले पार्टीमा सय वर्षदेखि एउटै वर्गले नेतृत्व गरिरहेकोले यसलाई अब तोड्नुपर्ने बताए ।

आफू आसन्न महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?