+
+

महाधिवेशन कार्यतालिकाबारे कांग्रेसको निर्वाचन समितिले पदाधिकारीसँग छलफल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १९:२४
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय

८ कात्तिक, काठमाडौं । महाधिवेशनबारे कायम अन्यौलताबारे नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टी नेतृत्वसँग छलफल गर्ने भएको छ । समितिको सोमबार बसेको बैठकले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे पार्टी पदाधिकारीसँग छलफल गर्ने निर्णय गरेको हो ।

‘महाधिवेशन गराउने जिम्मेवारी निर्वाचन समितिको हो तर पार्टीको सहयोग नभई समितिले मात्रै सम्भव हुँदैन,’ समिति सदस्य तेज रावलले भने, ‘अधिवेशन प्रक्रिया कसरी अगाडि बढाउने भन्नेमा हामी पार्टी पदाधिकारीसँग भोलि (मंगलबार) छलफल गर्छौं ।’

मंसिर ९–१३ गतेका लागि तोकिएको कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार अधिवेशन हुन सकेको छैन । प्रदेश २ का आठ जिल्लासहित १३ जिल्लामा वडा अधिवेशन भएको छैन भने रौतहट र रसुवामा क्रियाशील सदस्यता विवाद सुल्झिएको छैन ।

निर्वाचन समितिले वडा अधिवेशन नभएका जिल्लामा तिहारअघि पालिका अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ । ‘हाम्रो योजना दशैं तिहारको बीचमा जिल्ला अधिवेशनसम्म सम्पन्न गर्ने भन्ने हो,’ समिति सदस्य रावलले भने, ‘त्यो भएन भने पनि कम्तिमा वडा अधिवेशन नभएका १३ जिल्लामा पालिका अधिवेशनसम्म भएपनि गर्छौं ।’

हिमाली २१ जिल्लामा दशैंअघि नै जिल्ला अधिवेशन सम्पन्न गरिसक्ने कांग्रेसको निर्णय थियो, तर १३ जिल्लामा मात्रै अधिवेशन भएको छ । त्यस्तै अधिकांश जिल्लामा पालिका अधिवेशन मात्रै भएको छ । कार्यतालिका अनुसार अधिवेशन नभएपछि निर्वाचन समितिले पार्टीसँग छलफल गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment