+
+

कांग्रेसमा महाधिवेशनको सकस : मिति तोकिन्छ तर हुँदैन

खगेन्द्र भण्डारी खगेन्द्र भण्डारी
२०७८ कात्तिक ९ गते १९:२५

९ कात्तिक, काठमाडौं । ‘विधानको व्यवस्था अनुसार महाधिवेशन गर्न नसकेर थपिएको ६ महिनामा पनि घिसिपिटी गर्ने लोकतान्त्रिक पार्टी पनि छ यो मुलुकमा’ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसप्रति गरेको व्यंग्य हो यो ।

शनिबार भर्चुअल माध्यमबाट एमालेको वडा अधिवेशन उद्घाटन गर्ने क्रममा ओलीले गरेको यो व्यंग्य यतिबेला कांग्रेसभित्र चर्चामा छ । एकातिर पार्टी विभाजन, अर्काेतर्फ आन्तरिक विवाद पनि सुल्झिनसकेको अवस्थामा छोटो समयको तयारीमा पनि एमालेको महाधिवेशन प्रक्रिया धमाधम अगाडि बढिरहेका बेला कांग्रेस भने झण्डै दुई वर्षदेखि महाधिवेशन गर्न नसकेर सकसमा छ ।

मुलुकको पुरानो र लोकतान्त्रिक पार्टी दाबी गर्ने कांग्रेसमाथि वैधानिकताको प्रश्न उठिरहेका बेला आएको ओलीको बोलीमा सहमत कतिपय कांग्रेस नेताहरुले पनि महाधिवेशन गर्न नसकेको भन्दै आफ्नै पार्टीको आलोचना गरिरहेका छन् । ‘यो त लज्जास्पद नै अवस्था भयो नि । अब त महाधिवेशन होला कि भन्यो फेरि हुँदैन’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘लोकतान्त्रिक पार्टी भन्नै लाज लाग्न थाल्यो ।’

कांग्रेसमा महाधिवेशनको मिति तोकिने र सार्ने श्रृंखला पछिल्लो डेढ वर्षदेखि जारी छ । चार पटक केन्द्रीय महाधिवेशनको भाका कटाएको कांग्रेसको १४ औं महाधिवेशन फेरि सर्ने निश्चित भइसकेको छ । ३० साउनको कांग्रेस केन्द्रीय समिति बैठकले मंसिर ९-१३ सम्म केन्द्रीय महाधिवेशन गर्ने गरी चौथो पटक कार्यतालिका संशोधन गरेको थियो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा क्रियाशील सदस्यता टुंगो लगाउन ढिलाइ हुँदा महाधिवेशनमा असर परेको बताउँछन् । ‘लोकतान्त्रिक पार्टी भएकै कारण संवैधानिक सीमाभित्र हामीले अधिवेशन प्रक्रिया सुरु गरिसकेका छौं’ उनले भने, ‘संविधानले साढे पाँच वर्षको समयसीमा दिएको छ । हामीले यही समयभित्र सक्नुपर्ने थियो तर ढिलाइ भयो । यो स्वीकार गर्छाैं ।’

पार्टी विधान अनुसार कांग्रेस महाधिवेशन प्रत्येक चार वर्षमा हुनुपर्ने प्रावधान छ । कांग्रेसको अहिलेको केन्द्रीय कार्यसमितिले २०७६ फागुनमै चार वर्ष कटाइसकेको छ । चार वर्षमा अधिवेशन गर्न नसकिए एक वर्ष थप गर्न मिल्ने विधानको सुविधा उपयोग गर्दै कांग्रेसले संविधानको ६ महिनाको समयसीमासँगै साढे पाँच वर्षको अवधि २३ भदौमा गुजारिसकेको छ ।

पार्टीको वैधानिकतामाथि प्रश्न उठ्ने अवस्था आएपछि निर्वाचन आयोगको सुझावका आधारमा कांग्रेसले संवैधानिक समयसीमाभित्रै वडा अधिवेशन सुरु गरेको हो । तीन महिनाका बीच १३ जिल्लामा अझै वडा अधिवेशन सुरु नै भएको छैन भने बारा र रसुवाको क्रियाशील सदस्यता विवाद टुंगिएको छैन ।

कार्यतालिका फेरिन्छ, कार्यान्वयन हुँदैन

कार्यतालिका अनुसार महाधिवेशनको प्रक्रिया अगाडि नबढेपछि कांग्रेसले हिमाली २१ जिल्लामा दशैं अघि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । ७ असोजमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीसहितका नेताहरुको बैठकले पहाडी र तराईका जिल्लामा भने दशैंसम्म पालिका अधिवेशन गर्ने निर्णय गरेको थियो ।

यसपटक पनि कांग्रेस कार्यतालिका अनुसार अधिवेशन प्रक्रिया अगाडि बढाउन चुकेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजक महादेव यादवले कार्यतालिका अनुसार अधिवेशन नहुँदा समस्या भएको स्वीकार गरे ।

‘पार्टीले जे निर्णय गरेको थियो, त्यो अनुसार अधिवेशन हुन सकेन । दशैं अघि हिमाली जिल्लामा जिल्ला अधिवेशन र अन्यमा पालिका अधिवेशन गर्ने भनेका थियौं, त्यो अनुसार भएन’ उनले अनलाइनखबरसँग भने, ‘अब नयाँ कार्यतालिकाबारे छलफल गर्छाैं ।’

निर्वाचन समितिका अनुसार १३ हिमाली जिल्लामा मात्रै अधिवेशन सम्पन्न भएको छ । बाँकी ८ जिल्लाको अधिवेशन अन्यौलमै छ । दार्चुला, डोल्पा, जुम्ला, म्याग्दी, रसुवा, सिन्धुपाल्चोक, धादिङ र सोलुखुम्बुमा दशैं अघि अधिवेशन नहुने भएको हो । रसुवा र डोल्पामा वडा अधिवेशन नै सुरु भएको छैन ।

कांग्रेसले वडा अधिवेशन नभएका १३ जिल्लामा पनि दशैं अघि नै पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । प्रदेश दुईका आठ जिल्लासहित बाँके, डोल्पा, रसुवा, सुर्खेत र कैलालीमा वडा अधिवेशन हुन नसकेको हो ।

कांग्रेसमा महाधिवेशन गराउने निकाय निर्वाचन समिति सदस्य तेज रावलले क्रियाशील सदस्यताको ढिलाइले अधिवेशन प्रक्रिया बारम्बार प्रभावित भइरहेको बताए । उनले तिहारअघि वडा अधिवेशन नभएका जिल्लामा अधिवेशन प्रक्रिया अगाडि बढाइने बताए ।

केन्द्रीय महाधिवेशन फेरि प्रभावित

कांग्रेसको निर्वाचन समितिले २५ भदौमा जिल्ला तहसम्मको अधिवेशनको मिति परिमार्जन गर्दै प्रदेश र केन्द्रीय महाधिवेशनको समयतालिका भने यथावत् राख्यो ।

कार्यतालिका अनुसार कात्तिक १०-१२ सम्म प्रदेश अधिवेशन गर्ने उल्लेख छ । प्रदेश अधिवेशन सुरु हुन दुई दिन बाँकी रहेका बेला एक दर्जन बढी जिल्लामा वडा अधिवेशन नै सुरु भएको छैन भने अधिकांश जिल्लामा पालिका अधिवेशन मात्रै सम्पन्न भएको छ ।

कांग्रेसमा सात तहको अधिवेशन हुन्छ । वडा, पालिका, प्रदेश सभा, प्रतिनिधि सभा, जिल्ला हुँदै प्रदेश र केन्द्रीय महाधिवेशन हुने विधानको व्यवस्था छ । ‘कहीं वडामै अधिवेशन भएको छैन । कहीं पालिका अधिवेशन भएको छैन’ निर्वाचन समिति संयोजक यादवले अनलाइनखबरसँग भने, ‘एउटा अधिवेशनदेखि अर्काे अधिवेशन गर्दा निश्चित दिन चाहिन्छ, अहिलेकै अवस्थामा केन्द्रीय महाधिवेशन समयमै हुन्छ भन्न सक्ने अवस्था छैन ।’

उनले प्रदेश अधिवेशनपछि केन्द्रीय महाधिवेशनका लागि निर्वाचन समितिलाई १५ दिन आवश्यक पर्ने प्रष्ट्याए । महाधिवेशन गराउने जिम्मा आफूहरुको भएपनि पार्टीले सहयोग नगरेको निर्वाचन समितिको गुनासो छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले ७ असोजको पदाधिकारी बैठकमा महाधिवेशन सार्ने प्रस्ताव नै गरेका थिए । महामन्त्री खड्काले पुसमा महाधिवेशन गर्ने गरी मिति प्रस्ताव गरे पनि सहमति जुट्न भने सकेन ।

कांग्रेसको लोकतान्त्रिक छवि माथि प्रश्न उठ्ने अवस्था आउनु दुर्भाग्य भएको नेता धनराज गुरुङले बताए । ‘नेतृत्वमा महाधिवेशन गर्ने दृढ इच्छाशक्तिमा कमी भएको मैले पाएँ’ उनले भने, केही वडाको विवादलाई देखाएर महाधिवेशन नै रोक्नु उचित होइन । विगतमा कतिपय जिल्लाहरुले महाधिवेशनमा भाग नलिएको उदाहरण हामीसँग छ ।’ अहिलेकै अवस्थामा तोकिएको समयमा महाधिवेशन नहुने संकेत देखिएको उनको भनाइ छ ।

कांग्रेस संस्थापक निकट एक नेताका अनुसार पार्टीमा महाधिवेशनको नयाँ मितिबारे अनौपचारिक छलफल भइरहेको छ । ‘तोकिएको समयमा महाधिवेशन सम्भव छैन, नयाँ मितिबारे हामी निर्वाचन समिति र पार्टीमा छलफल गरिरहेका छौं’ ती नेताले भने, ‘तिहार अघि नै केन्द्रीय समिति बैठक बसेर नयाँ कार्यतालिका आउँछ ।’

लेखकको बारेमा
खगेन्द्र भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?