+
+

भारतमा पाकिस्तानको जितमा खुशियाली मनाउने ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १८:०४

११ कात्तिक, काठमाडौं । भारतीय प्रहरीले टी-२० क्रिकेटमा पाकिस्तानले भारतलाई पराजित गरेपछि खुशियाली मनाएका ४ जनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तीन मुस्लिम विद्यार्थी र एक शिक्षिका रहेका छन् । प्रहरीले बुधबार आग्रा शहरबाट तीन मुस्लिम विद्यार्थीलाई पक्राउ गरेको हो ।

‘शत्रुता प्रोत्साहन गरेको’ र धार्मिक सद्भाव बिथोल्न खोजेको भन्दै उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक पभिन्द्र कुमार सिंहले बताए ।

भारत नियन्त्रित काश्मिरबाट आएका ती विद्यार्थीले भारत र पाकिस्तानबीच आइतबार भएको खेलमा पाकिस्तानको समर्थन गर्दै भारतविरोधी नारा लगाएको प्रहरीको भनाइ छ ।

मिडिया रिपोर्टअनुसार हिन्दू राष्ट्रवादी समूहले पक्राउ गर्न माग गरेपछि मुद्दा दर्ता गरिएको थियो ।

बुधबार नै पश्चिमी भारतको उदयपुरबाट एक शिक्षिका पक्राउ गरिएको थियो । पाकिस्तानको जितपछि आफ्नो ह्वाट्स एप्समा ‘हामीले जित्यौं’ भनेर पोष्ट गरेकी शिक्षिका नफीसा अट्टारीलाई प्रहरीले पक्राउ गरेको डेली मेलले बताएको छ ।

हाल निलम्बित गरिएकी अट्टारीले एक भिडियोमार्फत् आफूले गरेको गल्तिप्रति माफी मागेकी छन् । उनले भिडियोमा कसैको भावनामा चोट पुर्‍याउने आफ्नो मनसाय नभएको पनि प्रष्ट पारेकी छन् ।

‘म एक भारतीय हुँ र मैले मेरो मुलुकलाई माया गर्छु । मैले भारतलाई अरुले जत्तिकै माया गर्छु’, अट्टारीले भिडियोमा भनेकी छन्, ‘गल्ति गरेको महसुस भएलगत्तै मैले आफ्नो पोष्ट हटाएकी छु ।’

यसअघि मंगलबार टी-२० विश्वकपमा पाकिस्तानले भारतलाई हराएपछि खुशीयाली मनाएका विद्यार्थीविरुद्ध कश्मीर प्रहरीले फौजदारी मुद्दा दर्ता गरेको थियो ।

पाकिस्तानले टी-२० विश्वकपअन्तर्गत आइतबार राति यूएईमा सम्पन्न खेलमा भारतलाई १० विकेटले हराएको थियो । भारतको हारपछि पञ्जाबमा कश्मिरी विद्यार्थीमाथि आक्रमण भएको थियो भने भारतीय टोलीका मुस्लिम खेलाडीलाई अनलाइनमा अभद्र व्यवहार गरिएको थियो ।

जम्मू-कश्मीरमा ९० को दशकमा भारतीय शासनविरुद्ध आन्दोलन शुरु भएको थियो । कश्मीरलाई मुस्लिम बाहुल्य पाकिस्तानमा गाभ्नुपर्ने वा स्वतन्त्र राज्य बनाउनुपर्ने माग राख्दै शुरु भएको आन्दोलन पछिल्लो समय हिंसात्मक बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?