+
+

‘डाक्टर–इन्जिनियरको आदर्श मानक भत्कियो’

दीपेश घिमिरे, समाजशास्त्री त्रिभुवन विश्वविद्यालय दीपेश घिमिरे, समाजशास्त्री त्रिभुवन विश्वविद्यालय
२०७८ कात्तिक १२ गते १०:४२

समाजमा एउटा ‘न्यारेटिभ’ हुन्छ । अलि फराकिलो रूपमा हेरौं- बंगलादेशमा तपाईं पुग्नुभयो र त्यहाँका स्कूल टप गर्ने विद्यार्थीलाई भविष्यमा के बन्न चाहनुहुन्छ भनेर तपाईंले सोध्नुभयो भने धेरैले ‘म आर्मी अफिसर बन्छु’ भन्छन् । तर, अमेरिकामा गएर तपाईंले त्यही प्रश्न त्यस्तै विद्यार्थीलाई सोध्नुभयो भने उसले ‘म बिजनेस म्यान बन्छु’ भन्न सक्छन् ।

त्यसको अर्थ के हो भने हरेक समाजले आफ्नो आदर्श (आइडल) पेशा, व्यवसाय र पदहरूको मनोविज्ञान निर्माण गरेको हुन्छ । त्यस्तो आदर्श मनोविज्ञान ठाउँ, समाज, परिवेश र समय अनुसार फरक–फरक हुन्छ । नेपालमा चाहिं आजको दिनसम्म बनाएको त्यस्तो आदर्श पेशागत मानक भनेको डाक्टर–इन्जिनियर हो ।

छोराछोरी के छन् भन्दा बित्तिकै डाक्टर इन्जिनियर छन् भन्नेको सामाजिक पहिचान नै फरक हुन्छ । सामाजिक रूपमा पेशाहरूबारे एउटा मानक बनेको हुन्छ । हामीले बनाएको मूल आदर्श मानक अहिलेसम्म डाक्टर वा इन्जिनियर नै हो ।

तर, मेरो बुझाइमा पछिल्लो समयमा यो मानक लगभग भत्किंदैछ । आजभन्दा २० वर्ष पहिला एसएलसी दिनेलाई तिमी के बन्छौ, बन्न चाहन्छौ वा तिम्रो लक्ष्य के हो भनेर सोध्दा डाक्टर वा इन्जिनियर भन्थ्यो भने अहिले त्यो मनोविज्ञान करीब–करीब भत्किएको अवस्था छ ।

त्यसले के देखाउँछ भने समाजको परिवर्तन र रूपान्तरणसँगै बदलिंदो समय अनुसार हाम्रो ‘होराइजन’ पनि बढ्यो । हामीले २० वर्षअघि के देखेका थियौं ? गाउँमा हस्पिटल हुँदैनथ्यो, जिल्लाको एउटा अस्पतालमा एकजना डाक्टर आइदिए भने तीन वटा जिल्लामा चर्चा हुन्थ्यो । ग्रामीण भेगमा इन्जिनियरसँग भेट पनि कुनै परियोजना बनाउने बेलामा बल्ल–तल्ल हुन्थ्यो । अहिले विस्तारै यो मानक भत्कियो ।

यसो हुँदै जाँदा नयाँ–नयाँ मानकहरू पनि बन्दै जान्छन् । जस्तै मेरो सानो छोरा छ, उसको सपना पनि डाक्टर वा इन्जिनियर बन्ने छैन । उसको आफ्नै किसिमको सपना छ । अब समाजमा विस्तारै नयाँ पेशागत आदर्श मानक निर्माण हुँदैछन् ।

यस्तो किन भइरहेको छ त ? डाक्टर वा इन्जिनियरलाई २० वर्षअघि जुन सम्मान र पहिचान थियो, त्यो विस्तारै क्षयीकृत हुँदै गएका सूचकहरू धेरै छन् ।

त्यस्तै सूचक हो अस्तिको जनकपुरमा इन्जिनियरमाथि भएको आक्रमण । त्यसका पछाडिका कारण अरू धेरै होलान्, यद्यपि कुनै बेलामा इन्जिनियरले यस्तो निर्णय वा काम गर्यो भन्दा ठीकै हो भन्ने समाज हातपातमा उत्रियो भने समाजमा इन्जिनियरप्रति बदलिंदै गएको मनोविज्ञानको सूचक हो ।

यद्यपि सो घटना त नितान्त आपराधिक काम थियो । तर, त्यसबाट हामीले बुझ्नुपर्ने कुरा के हो भने समाज बदलिंदै जाँदा हामीले बनाएका वा आदर्श मानक बनेका पेशाहरू विस्तारै परिवर्तन हुँदैछन् ।

कुनै पेशाप्रतिको सम्मान घट्नुका आन्तरिक र बाह्य कारण हुन्छन् । एउटा मात्रै कारणले यस्तो अवस्था बन्दैन । एउटा तथ्यांक मात्रै हेर्नुस्, तपाईंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका विगत पाँच वर्षका तथ्यांक हेर्नुस्, कुन पदका मान्छे चाहिं बढी समातिएका छन् ? पक्का पनि इन्जिनियरहरू छन् । पछिल्लो समयमा रंगेहात समातिनेमा इन्जिनियर, सव–इन्जिनियर र असिस्टेन्ट सव–इन्जिनियरको तथ्यांक हेर्नुहुन्छ भने सम्भवतः एक नम्बरमै पर्छ ।

कतै काम भएन, ढिला भयो वा बिग्रियो भने त समाजले एउटा मनोविज्ञान बनाइसकेको छ कि ‘इन्जिनियरको बदमासी छ कि ?’ भन्ने । त्यसकै कारण जनकपुरतिरको जस्तो अप्रिय घटना हुन पुग्छन् । पेशामा संलग्न रहनेले नै पेशालाई सम्मान नगरेको अवस्थामा समाजले सम्मान दिनसक्ने अवस्था पनि रहँदैन ।

अर्काे पक्ष पनि छ । पैसा धेरै कमाउनेलाई बढी इज्जत गर्ने सामाजिक अवस्था छ । भनेपछि यस्ता कैयौं कारण छन्, जसले नेपाली समाजमा कुनै निश्चित पेशाको जुन मूल्य छ, त्यो घटाउँदै लगेको छ ।

पहिले जस्तो ठूलो घर छ भने अहिले इन्जिनियरको हो भन्ने अवस्था रहेन । पैसा कमाइरहेको छ भने छोराछोरी इन्जिनियर छन् भन्ने हिजोको जस्तो अवस्था छैन । पैसाको कुरा गर्ने हो भने त युट्युबरले धेरै कमाइरहेका छन् । मैले नेपाली युट्युबर लक्षित गरेर भनेको हैन, विश्वव्यापी चर्चित भएका युट्युबरलाई हेर्दा पनि हुन्छ । एउटा १० वर्ष पनि नपुगेको युट्युबर अर्बपति हुने लाइनमा रहेको देख्छौं ।

मैले भन्न खोजेको प्रविधिको परिवर्तनसँगै पैसा कमाउने त्यस्ता धेरै बाटा आएका छन् । पहिला इन्जिनियरलाई बढी सम्मान किन थियो भने उसले अरूले भन्दा धेरै पैसा कमाउँथ्यो । डाक्टरले ‘मलाई बचाउँछ’ भनेर सम्मान दिएको हैन रहेछ त, कोभिडका बेला डाक्टरमाथि हाम्रै समाजमा भएका कुकृत्यबाट हामीले त्यो कुरा त थाहा पायौं । यसको मतलब के हो भने हामीले हिजो जुन किसिमको सन्दर्भबाट यी मानकहरू निर्माण गरेका थियौं, अहिले ती मानकहरू विस्तारै भत्किंदै जाँदा सम्मान पनि घट्दै जाँदोरहेछ ।

अहिले विदेशमा कुनै काममा जानेले इन्जिनियरले भन्दा बढी कमाइदिन्छ । हिजो वीरशमशेरको पालामा भन्दा अघि हामी विदेश जानुलाई असाध्यै हेयको दृष्टिले हेथ्र्यौं, तर वीरशमशेरले ‘ब्रिटिशहरूको सेवा गर्नु देशको सेवा गर्नुसरह हो’ भनेपछि अर्को मनोविज्ञान बन्यो । त्यसपछि विदेशमै काम गर्नु सम्मानको विषय बन्दै गयो । यस्ता मानकहरू समाजले नै बनाउने र भत्काउने गर्छ ।

म विश्वविद्यालयमा पढाउँछु, मेरी श्रीमती इन्जिनियर हुन् । मेरो गाउँको एउटा भाइ छ, जसले अडियो/भिडियोको काम गर्ने कम्पनी खोलेको छ, हामी दुई जनाले कमाउने भन्दा उसको राम्रो आम्दानी छ । उसले करीब ८० लाख, एक करोडको गाडी चढ्छ । म इन्जिनियर थिएँ भने त मलाई त सामाजिक हिसाबले दबाव भयो नि ! जो मान्छे स्कूलदेखि नै राम्रो पढ्थ्यो, यो राम्रो गर्छ राम्रो कमाउँछ भन्ने समाजको अपेक्षा थियो त्यो त पूरा भएन ।

म सार्वजनिक बस चढेर दशैंमा टीका लगाउन गएँ, तर त्यो भाइ ८० लाखको आफ्नै कार लिएर गाउँ गयो भनेपछि त समाजले दुई व्यक्तिको बीचमा गर्ने व्यवहार कस्तो हुन्छ ? पक्कै पनि पैसा धेरै कमाउने र आर्थिक हैसियत माथि भएकालाई नै समाजले बढी सम्मान दिन्छ । त्यसकारण अहिले भ्रष्टाचार जस्ता कुकृत्य बढेका छन् । यस्तो परिस्थितिले गर्दा इन्जिनियरहरूमाथि पनि दबाव सिर्जना भएको जस्तो लाग्छ ।

यो समाजले मान्छेलाई मापन गर्ने चिज भनेको पैसा भएको छ । अनि पैसा कसले कमाएको छ भन्दा सबैभन्दा बढी राजनीतिज्ञले कमाउन थाले । विभिन्न दलाली काम गर्नेहरूले बढी कमाइरहेका छन् । प्राविधिक कामभन्दा अरू सरल बाटोहरूबाट बढी पैसा आर्जन गर्नेहरू समाजमा बढेका छन् ।

एउटा सरकारी इन्जिनियरले महीनामा ३५–४० हजार कमाउँछ भनेपछि आफूभन्दा कम अब्बल मानिएकाहरूले सरल तरिकाले त्योभन्दा धेरै गुणा बढी कमाउन थालेपछि स्वाभाविक रूपमा इन्जिनियरमाथि दबाव थोपरिएको हुन्छ ।

अहिले गलत तरिकाले कमाउँछु भन्दा पनि सजिलो त छैन । विभिन्न किसिमबाट ‘चेक एन्ड ब्यालेन्स’का संयन्त्रहरूले इन्जिनियरमाथि निगरानी गरिरहेका छन् । अनियमितता वा आर्थिक अपराधहरू प्रविधि र मिडियाका कारण पनि छिटो ‘एक्सपोज’ हुन्छन् । घटना भएपछि अहिले त छिनमै खबर फैलिन्छ । त्यसले पनि इन्जिनियरिङप्रतिको दृष्टिकोण विगतको जस्तो रहन सकेन ।

अहिले शहरमा तपाईंले आफ्ना बालबच्चा के बनोस् भन्ने चाहनुहुन्छ भनेर सर्भे गर्नुभयो भने पाँच प्रतिशत पनि अभिभावकले डाक्टर वा इन्जिनियर बनोस् भन्ने चाहँदैनन् । किनकि त्योभन्दा राम्रा र सन्तुष्टि दिने अरू पेशा आएका छन् ।

यसले इन्जिनियर वा डाक्टर भन्ने मानक भत्कायो । समाज बदलिंदै जाँदा हिजोको जस्तो आदर्श मानक बनेका पेशाहरूप्रतिको दृष्टिकोण पनि बदलियो । हामी पेशागत आदर्शको मानकका हकमा भन्दा नेपाली समाजमा विनिर्माणको चरणमा छौं । डाक्टर इन्जिनियरको आदर्श ‘डिकन्स्ट्रक्ट’ भएर नयाँ मानक ‘रिकन्स्ट्रक्ट’ हुने क्रममा छ । यो स्वाभाविक पनि हो ।

समय अनुसार पावर सेन्टरहरू विस्तारै फरक किसिमले निर्माण हुँदै जान्छन् । सधैं एउटै पेशाले विगतको ओज बोक्न सक्दैन । राम्रो पक्ष के हो भने पेशाको आधारमा कसैलाई ‘शक्तिवान’ र ‘शक्तिहीन’ महसूस गर्ने अवस्थाबाट यसले मुक्ति दिन्छ ।

जो व्यक्ति जुन पेशामा खुशी छ, त्यो नै ठूलो आदर्श पेशा हो भन्ने बुझ्ने बाटोमा नेपाली समाज गएको छ । र, पनि पैसालाई समाजले बढी महत्व दिइरहेको नै छ ।

(समाजशास्त्री घिमिरेसँग अनलाइनखबरकर्मी रवीन्द्र घिमिरेले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment