News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति ट्रम्पको डिनर कार्यक्रममा गोली चलाउने ३१ वर्षीय कोल एलेनलाई प्रहरीले पक्राउ गरेको छ।
- कोल एलेन क्यालिफोर्नियाका कम्प्युटर इन्जिनियर र स्वतन्त्र गेम डेभलपर हुन् जसले फर्स्ट–पर्सन सुटर गेम बनाएका थिए।
- एलेनले सिक्रेट सर्भिस अधिकारीमाथि गोली चलाएका थिए र उनलाई जवाफी कारबाहीमा नियन्त्रणमा लिएर अस्पताल लगिएको थियो।
१३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुसमेतका लागि आयोजना गरेको डिनर कार्यक्रममा गोली चलाउने व्यक्तिको पहिचान भएको छ । घटनालगत्तै पक्राउ परेका युवक ३१ वर्षीय कोल एलेनको रुपमा पहिचान भएको प्रहरीले जनाएको छ ।
वाशिङ्टन हिल्टन होटलमा आयोजित कार्यक्रममा एक्कासी गोली चलेपछि राष्ट्रपति ट्रम्प, उनकी पत्नी मेलानिया, उपराष्ट्रपति जेडी भान्स लगायतलाई सुरक्षाकर्मीहरुले उद्धार गरेर सुरक्षित स्थानमा लगेका थिए ।
घटनालगत्तै सुरक्षाकर्मीहरुले संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएका थिए । कोल एलेन नामका ती व्यक्ति क्यालिफोर्नियाका कम्प्युटर इन्जिनियर समेत रहेको प्रहरीले जनाएको छ ।
फक्स न्युज अनलाइनका अनुसार एलेनले पहिले फर्स्ट–पर्सन सुटर गेम डिजाइन गर्ने काम गर्थे, तर अहिले उनी आफैं गोली चलाएको आरोपमा पक्राउ परेका छन् ।
लिङ्कडइन प्रोफाइल तथा अनलाइन अभिलेखअनुसार एलेनको जीवन र करियर कम्प्युटर वैज्ञानिक, इन्जिनियर तथा स्वतन्त्र गेम डेभलपरका रूपमा सफल देखिन्छ । उनले ‘फर्स्ट ल’ नामक सुटर रोल–प्लेइङ गेमसमेत निर्माण गरेका थिए ।
कम्प्युटर विज्ञानमा स्नातकोत्तर
सेप्टेम्बर २०१३ मा उनी क्यालिफोर्निया इन्सटिच्युट अफ टेक्नोलोजी (क्यालटेक) मा मेकानिकल इन्जिनियरिङ अध्ययनका लागि भर्ना भएका थिए र २०१७ मा स्नातक गरेका थिए । क्यालटेकले पनि सो नामका विद्यार्थीले उक्त वर्ष स्नातक गरेको पुष्टि गरेको छ ।
२०१४ को गर्मीयाममा उनले नासा जेट पर्पल्सन ल्याब्रोटरीमा अन्डरग्राजुएट अनुसन्धान फेलोका रूपमा काम गर्दै एस्ट्रोफिजिक्स अनुसन्धानमा योगदान दिएको थिए । सोही समयमा उनले ‘फर्स्ट ल’ नामक दुई–आयामिक अन्तरिक्ष युद्धमा आधारित गेम निर्माण गरेका थिए । क्यालटेकमा अध्ययनका क्रममा उनले आक्रामक तथा प्रतिरक्षात्मक रोबोटिक प्रणालीहरू पनि विकास गरेका थिए ।
पछि उनले “द्ययजचमयm” नामक जटिल दुई–आयामिक भौतिकशास्त्रमा आधारित भिडियो गेम निर्माण गरेका थिए, जसलाई उनले ‘रेसिङ गेम’ र बुलेट हेल शैलीको संयोजन’ भनेर वर्णन गरेका छन् । यो गेम स्टेम प्लेटफर्ममा सार्वजनिक गरिएको थियो ।

‘उत्कृष्ट शिक्षक’ घोषणा
मार्च २०२० देखि उनले सी एट एजुकेसनमा काम सुरु गरेका थिए । सन् २०२२ मा उनले क्यालिफोर्निया स्टेट युनिभर्सिटीबाट कम्प्युटर विज्ञानमा स्नातकोत्तर अध्ययन सुरु गरेर मे २०२५ मा उक्त डिग्री पूरा गरेका थिए ।
३० डिसेम्बर २०२४ मा सी एट एजुकेसनले फेसबुकमार्फत उनलाई ‘महिनाको उत्कृष्ट शिक्षक’ घोषणा गर्दै बधाई दिएको थियो । सो पोस्टमा राखिएको तस्बिर एलेनसँग मिल्ने देखिन्छ ।
अमेरिकाको फेडेरल इलेक्सन कमिसनको अभिलेख अनुसार उनले सन् २०२४ को निर्वाचनको क्रममा कमला ह्यारिसलाई २५ डलर चन्दा दिएका थिए ।
शनिबार राति आयोजित पत्रकार सम्मेलनमा अधिकारीहरूले एलेनले कार्यक्रमस्थलमा रहेको सिक्रेट सर्भिसको जाँच चौकीतर्फ हतियारसहित दौडिएको र त्यसपछि एक अधिकारीमाथि गोली चलाएको बताएका छन् । गोली लागेका ती अधिकारीलाई बुलेटप्रुफ भेस्टले जोगाएको थियो । यद्यपि उनलाई अस्पताल लगिएको थियो ।
सुरक्षा निकायका एजेन्टहरूले जवाफी कारबाहीको क्रममा उनलाई पनि नियन्त्रणमा लिएर अस्पताल लगेका थिए । त्यसपछि डिनर कार्यक्रम पुन: सुरु भएको थियो ।
‘एक्लो आक्रमणकारी’

राष्ट्रपति ट्रम्पले एलेनलाई ‘एक्लो आक्रमणकारी’ र ‘गम्भीर मानसिक समस्याग्रस्त व्यक्ति’ भनेर टिप्पणी गरेका छन् ।
कार्यक्रममा ट्रम्प बोलिरहेको बेला मानिसहरुको हलचल सुरु भएपछि उनी बोल्दाबोल्दै रोकिएका थिए । त्यसपछि केही पड्किएको आवाज सुनिएको थियो ।
लगत्तै सिक्रेट सर्भिसका सदस्यहरूले ‘तल बस्नुहोस्, तल बस्नुहोस्,’ भन्दै राष्ट्रपति ट्रम्पलाई कार्यक्रमस्थलबाट बाहिर लगेका थिए ।
ट्रम्पका शीर्ष सल्लाहकार स्टिफन मिलरलाई पनि सुरक्षाकर्मीहरुले हतार हतार भीडबाट बाहिर निकालिएको देखिएको थियो । कार्यक्रममा सहभागीहरु भुईंमा निहुरिएर बसेका थिए ।
बीबीसीका अमेरिकी साझेदार सञ्चारमाध्यम सीबीएसका अनुसार सिक्रेट सर्भिसले राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियालाई मञ्चबाट सुरक्षित स्थानमा लगेपछि काउन्टर असल्ट टिम (सीएटी)का हतियारधारी सुरक्षाकर्मीहरू मञ्चमा उभिएर कोठाको पछाडितर्फ लामो बन्दुक तेर्स्याएको देखिएको थियो ।
सीबीएसका अनुसार केही समयपछि सुरक्षाकर्मीहरूले अर्को एक अतिथिलाई पनि हतार हतार अर्को कोठातिर लगेका थिए । त्यसक्रममा उनीहरू टेबल र ढलेका खाली कुर्सीहरू नाघ्दै अघि बढेका थिए ।
यस घटनाको केही समयपछि एक वक्ता मञ्चमा आएर डिनर कार्यक्रम पुन: सुरु हुने घोषणा गरेका थिए ।

प्रतिक्रिया 4