+
+

अमेरिकामा ५ देखि ११ वर्षका बालबालिकालाई फाइजर र बायोइन्टेक खोप लगाउने अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १३ गते ११:१७

१३ कात्तिक, काठमाडौं । अमेरिकाको खाद्य तथा औषधि विभागले पाँच देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर र बायोइन्टेक कोरोना खोप लगाउने अनुमति दिएको छ ।

शुक्रबार खाद्य तथा औषधि विभागले उक्त उमेर समूहका बालबालिकालाई फाइजर र बायोइन्टेक कोरोना खोप लगाउने अनुमति दिएको हो । योसँगै अमेरिकामा फाइजर र बायोइन्टेकका कोरोना खोप साना बालबालिकालाई लगाइने पहिलो खोप बनेका छन् ।

मंगलबार खाद्य तथा औषधि विभाग (एफडिए) का विज्ञले फाइजर र बायोइन्टेक खोप लगाउन सिफारिस गरेपछि ५ देखि ११ वर्षका बालबालिकामा प्रयोगको अनुमति दिइएको हो । पछिल्लो निर्णयसँगै दुई करोड ८० लाख अमेरिकी बालबालिकाका लागि खोप उपलब्ध हुने अपेक्षा गरिएको  छ ।

साना बालबालिकालाई १० माइक्रोग्राम फाइजर खोप लगाइने छ । उक्त मात्रा यसअघि १२ वा सोभन्दा बढी उमेरका बालबालिकालाई ३० माइक्रोग्राम खोप दिन गरिएको सिफारिसभन्दा निकै कम हो ।

चीन, युएई र क्युबासहितका थोरै मुलुकले मात्रै पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड खोप लगाउने अनुमति दिएका छन् ।

कम मात्राको डोजले बिरलै देखिने केही साइड इफेक्ट न्यूनीकरण गर्ने एफडिएका विज्ञले बताएका थिए । बैठकमा विज्ञहरूले विशेषगरी कम उमेरका मानिसले फाइजर/बायोइन्टेक र मोर्डना खोप लगाएपछि देखिने मुटु पोल्ने समस्यामाथि व्यापक चर्चा गरेका थिए ।

शुक्रबार एफडिएले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकामा फाइजर खोप लगाउँदा जोखिमभन्दा फाइदा बढी हुने समेत बताएको छ ।

आगामी हप्ता अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का विज्ञको एक प्यानलले बैठक बसेर यो उमेर समूहका बालबालिकामा कसरी खोप प्रयोग गर्ने भनेर छलफल गर्नेछ । यससम्बन्धमा सीडीसीका निर्देशकले अन्तिम निर्णय गर्नेछन् ।

फाइजर र बायोइन्टेक कम्पनीले क्लिनिकल परीक्षणपछि पाँचदेखि ११ वर्षका बालबालिकामा आफ्ना खोप ९०.७ प्रतिशत प्रभावकारी देखिएको बताइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?