+
+
व्यक्तिचित्र :

अर्जेन्टिनाविरुद्ध लडेका क्याप्टेन ‘माछी काँडे’ सुब्बाको अन्तिम इच्छा

भीषण राई भीषण राई
२०७८ कात्तिक १३ गते १९:००

धरानमा रहेको होटल पूर्वेली इनमा क्याप्टेन पूर्णप्रसाद लिम्बूको म्युजिक भिडियो प्रिमियर भइरहेको थियो । केहीबेरमै प्रोजेक्टरबाट निस्केको प्रकाशले सेतो पर्दामा उनै क्याप्टेनलाई देखाउन थाल्यो । उनले भर्खरै आफ्नै गीतमा आफ्नै जीवनको भोगाइलाई प्रस्तुति दिएका थिए । छुट्टीमा घर आएको लाहुरेको जीवन्त अभिनय गरेका थिए, उनले । अभिनय यस्तो जीवन्त थियो कि हलमा उपस्थित सबैको मन तान्यो । सबैले ताली बजाए । क्याप्टेनको खूब प्रशंसा भयो ।

यो क्याप्टेन सा’पको सामान्य प्रयासले मात्र सम्भव हुने सजिलो काम थिएन । यो त उनको लामो समयको साधनाको प्रतिफल थियो । उनले उतिबेलै गीत, संगीत र अभिनयमा पाइला टेकिसकेका थिए । कुनै समय ‘माछीकाँडे सुब्बा’ भनेर गाउँलेले उनलाई चिन्थे । ‘माछी काँडैले, माया लाउँदैमा छेक्यो डाँडैले’ बोलको गीत गाउँदा गाउँदै उनले नयाँ पहिचान पाएका हुन् ।

विस्तारै विस्तारै उनमा अभिनयको पनि रस पस्न थाल्यो । त्यसबेला संखुवासभाको पोखरी बजारमा उनले माछी काँडैले बोलको गीत गाएका थिए, जसलाई मन पराएर तत्कालीन सांसद दुर्गामणि देवानले ८० रुपैयाँ बक्सिस् दिएका थिए । उनी त्यो पल स्मरण गर्दै भन्छन्, ‘त्यही पैसा बोकेर जोगवनीमा पहिलो हिन्दी फिल्म ललकार हेरें ।’ उक्त फिल्ममा धर्मेन्द्र, राजेन्द्र कुमार, माला सिन्हा र कुमकुम कलाकार रहेको उनको स्मृतिमा अहिले पनि ताजै छ ।

लाहुरे जीवन

रानी एलिजावेथ र बकिङ्घम प्यालेसमा पनि सेवा गरे, उनले । त्यहाँ तालिम अधिकृतको रूपमा राजकुमार हृयारीलाई पनि तालिम दिएका थिए

३ साउन २०२१ मा संखुवासभाको चैनपुरस्थित सिद्धपोखरी मैदाने गाउँमा जन्मिएका हुन् उनी । गाउँको सरस्वती हाईस्कूलबाट एसएलसी र मिल्स हाईस्कूल विराटनगर रानीबाट प्लस टु अध्ययन सिध्याएका उनी विस्तारै लाहुरे जीवनतिर मोडिए । आजभन्दा ४० वर्षअघि सन् १९८० मा चापाभुई खाराङबाट गल्लापास भई घोपा क्याम्पबाट भर्ती लागेको लाहुरे जीवनको निणर्ायक यात्रा उनी सम्झन्छन् । उनी भन्छन्, ‘त्यो बेला भर्ती लाग्न सजिलो, अहिले त गाह्रो छ ।’

भर्ती लागेर गएपछि पनि उनले शहर र समाज विषयमा लण्डनमा अध्ययन गरे । सेनामा २८ वर्ष सेवा गरेपछि उनले सन् २००८ मा क्याप्टेनको जिम्मेवारीमा रहँदा अवकाश लिए । यसबीचमा उनले कोसोभो, बोस्निया, सियरालिओन, अफगानिस्तान र फोकल्याण्डका युद्धमा भाग लिएका थिए ।

उनले क्विन एलिजावेथ र बकिङ्घम प्यालेसमा पनि सेवा गरे । त्यहाँ उनले राजकुमार हृयारीलाई पनि तालिम अधिकृतको रूपमा तालिम दिएका थिए ।

फोकल्यान्डको त्यो मोर्चा

धरानमा रहेको घोपा क्याम्पबाट भर्ती लगत्तै उनलाई हङकङमा पुर्‍याइयो । त्यहाँ फौजी जीवनको प्रारम्भिक तालिम १० महीना चल्यो । आफू सानो भएकोले अत्यन्त गाह्रो भएको उनी बताउँछन् । त्यतिबेला गुरुजी सेक्सन कमाण्डर कर्णेल सर्वजित गुरुङ एक्स सिक्स जीआरमा थिए भने लेफि्टनेन्ट हर्कबहादुर राई एक्स सेभेन जीआरमा थिए । यी र यस्तै लाहुरे जीवनका यादहरू उनको मानसपटलमा बादल बनेर तैरिइरहेको छ, मेसो मिल्दा उक्त यादहरू अविरण वर्षा बनेर वर्षन थाल्छन् । मात्र भन्नेकोे मूड बन्नुपर्छ र सुन्ने श्रोता हुनुपर्छ ।

त्यो बेला उनलाई जन्डिसले सताएको थियो । उनलाई हेपाटाइटिस बी भएको थियो । त्यसैले उनले बि्रटिश मिलिटरी हस्पिटलमा दुई महीना बिताउनुपर्‍यो । उनलाई त्यो बेला बाँच्दिन जस्तो लागेको थियो । विगत सम्झिंदै उनी भन्छन्- ‘यत्रो बाँच्नु लेखेको रहेछ । बाँचियो ।’

उनले त्यहाँ रहँदा पहिलो ६ महीना हृयाम्प सायरमा अवस्थित चर्च क्रुखाम ब्यारेक पछि सेन्ट्रल अमेरिकाको जंगल र ग्वाटेमालाको बोर्डरमा विताए । लगत्तै फोकल्याण्डको युद्ध शुरु भयो । उनीहरूलाई युके बोलाइयो र अर्जेन्टिना विरुद्ध लड्न फोकल्याण्ड पठाइयो ।

विगत सम्झँदै उनी भन्छन्, ‘हामीलाई पूर्ण फौजी तालिम दिएर २२ दिन लगाएर जहाजबाट त्यहाँ लगियो । जहाजमा यात्रा गरिरहँदा ठूला पानीका छालहरूले जहाज भिजाउँदथ्यो भने जहाजमा रहेकाहरूलाई वल्लो कुनाबाट पल्लो कुनामा हुत्याउँथ्यो ।’ कहिलेकाहीं सबै बिरामी भएर मर्नु न बाँच्नुको अवस्थामा पुगेको सम्भिmए ।

सँगसँगै संगीत

फौजीको कठोर अनुशासन । कठोर प्रशिक्षणले निर्मम बन्नुपर्ने बाध्यता । तर, यस्ता प्रतिकूलताले उनको गीत संगीतप्रतिको रुचिमा कमि ल्याएन । गोली र बारुद पड्किएको संगीतबीच पनि उनी सिर्जना र गायनतिर समय दिन पछि परेनन् । भनिन्छ नि- ‘खाने मुखलाई जुँगाले छेक्दैन ।’ उनले फौजी जीवनको प्रतिकूलताभित्र अनुकूलता खोज्दै गीत गाइरहे, गुन्गुनाइरहे । गीत संगीतको रचनामा समय दिइरहे ।

फौजी जीवनको रुखासुखा समयमा उनले गीत-संगीतको वषर्ा गराइरहे, आफ्नो कला देखाइनै रहे ।

हङकङमा रहँदा १९८० मा उनको पहिलो गीत बि्रटिश फोर्स ब्रोडकास्टिङ स्टेशनमा रेकर्ड भयो । ‘धानको बाला लरी लै, साइली मरी लै’ बोलको गीत गाए ।

दश महीने तालिम पश्चात् नम्बर चार प्लाटुन बी कम्पनी सेभेन गुर्खा राइफलमा उनले काम गरे । त्यसपछि भने युके कार्यक्षेत्रमा खट्ने काम भयो । तर पनि गीत संगीत चाहिं उनले छाडेनन् ।

फौजी जीवनको दौडधुपबीचबाट समय निकालेर उनले नेपाली गीत संगीतमा पनि योगदान दिएका छन् । नेपाली संगीताकाशमा उनका केही गीत संगीतहरू तारा बनेर रहिरहनेछन् ।

उनले समुदायलाई गीत संगीतसँगै सामाजिक कामलाई पनि अगाडि बढाएर योगदान र प्रोत्साहन गरिरहे । फरक मान्छे-१ र २, आमा, सानु माया, लालुपाते, यी आँखाले, सँगसँगै, संसार एउटा बगैंचा हो लगायत श्रव्य-दृश्य अल्बमहरू पनि निर्माण गरिरहे । उनले इलाहावादबाट संगीतमा स्नातकसम्मको अध्ययन पनि पूरा गरे ।

क्याप्टेनको समाजसेवा

लाहुरेको जीवन । बैंसमा युद्ध । बुढेसकालमा आराम । प्रतिफलमा पेन्सन आउँछ । सामान्य जीवन बाँच्न पुग्छ नै । तर पनि उनी चुप लागेर बस्न सकेनन् । उनी अहिले पनि धरानमा रहेको गोर्खा वेल फेयर ट्रष्टमा सिनियर अधिकृतको रूपमा काम गरिरहेका छन् । उनले उक्त संस्थामा काम गरिरहेको ११ वर्ष भएको छ ।

युकेमा रहेको संस्था गोर्खा पिस फाउण्डेशनको लागि पनि उनी काम गरिरहेका छन् । गोर्खा वेल फेयरमा काम गर्दा गोर्खा सर्भिसवालाहरूको परिवारलाई मात्र हेर्नुपर्दथ्यो तर छेउमै रहेका नन्-गोर्खालाई हेर्न नपाउने अवस्था थियो ।

यही अप्ठ्याराको बीचमा उनले गोर्खा पिस फाउन्डेशन स्थापना गरे । समाजसेवा गर्ने उद्देश्य जोडेर उनले ‘डिफरेन्ट आइज’ नामक संस्था पनि शुरू गरे । उनको संस्थाले दुर्गम स्थानमा गरीबी र अभावमा रहेका समुदायको सहयोग गर्ने गर्दछ । प्राकृतिक प्रकोपको काम, घरघरमा पुगेर खाना र नानाको व्यवस्थासम्म गरेको छ ।

झोलुङ्गे पुल, पिउनेपानीको व्यवस्था, भूकम्प प्रतिरोधात्मक ठूला स्कूल भवन, गोरेटो बाटो, सार्वजनिक शौचालय आदिको निर्माण कार्यमा उनी व्यस्त रहन्छन् । इच्छा छ भने उमेरले काम गर्न रोक्न सक्दैन भन्ने कुराको उनी जिउँदोजाग्दो प्रमाण हुन् ।

यसबाहेक उनी आफैं अपांगता भएकाहरूको सहारा बनेका छन् भने कतिपय अवस्थामा दृष्टिविहीनको साथी । उनी भन्छन्, ‘यस्ता दुःखी पीडितलाई सहयोग गर्न पाउँदा मनमा शान्ति मिल्छ ।’

लाइब्रेरी निर्माण, ढाका सिउने तालिम, खेलकुद सामग्री प्रदान, वृद्धाश्रम लगायत थुप्रै च्यारिटी इभेन्टहरूमा पूर्णप्रसादलिम्बूको सहभागिता रहने गरेको छ । यति लामो र चौतर्फी व्यक्तिगत समाजसेवामा दौडधुप देख्दा जो कसैले भन्न सक्छन्- पूर्णप्रसादआँखा सानो तर मन ठूलो भएको मान्छे हुन् ।

चलचित्रको पर्दामा लाहुरे

समाजसेवा सँगसँगै उनी मनोरञ्जन उद्योगतिर पनि सक्रिय छन् । तर त्यसको उद्देश्य पनि अन्ततः समाजसेवातिर नै जोडिएको छ । नपालमा रहेका गरीब जनताको सहयोगार्थ उनी श्रव्य-दृश्य सामग्री पनि निर्माण गर्ने गर्दछन् । प्रायः उनी गीतहरू आफैं लेख्छन् भने कुनै गीतमा आफैं अभिनय पनि गर्छन् । उनले नेपाली चलचित्रमा अभिनय गर्न पनि भ्याएका छन् ।

हृयाप्पी डेज र सउल अफ काठमाडौंमा उनले गेस्ट आर्टिष्टको रूपमा भूमिका निर्वाह गरेका छन् । यही क्रममा उनले ‘महानायक’ राजेश हमालसँग पनि स्त्रिmन शेयर गर्ने अवसर पाएका छन् ।

राजेश हमालले सेटमा क्याप्टेन सापलाई भनेछन्- ‘अब लाहुरेलाई अभिनयले पनि जीवनभर नछोड्ने भयो ।’ अहिले आएर उनलाई लाग्न थालेको छ- हमालले ठीकै भनेका रहेछन् ।

प्रायः उनको गीत-संगीत जीवन दर्शनसँग जोडिएका हुन्छन् र त्यो अन्ततः जोडिएका हुन्छन् परोपकारसँग । उनी गीतसंगीतबाट उठेको पैसा विपन्न वर्गलाई नै शतप्रतिशत लगानी गर्छन् ।

क्याप्टेन सा’ब आनी छोइङ डोल्मासँग मिलेर एउटा च्यारिटेबल गीत गाउँदै समाजसेवामा जोडिने पछिल्लो योजनामा व्यस्त छन् यतिबेला । विदेशमा आयोजना हुने अन्तर्राष्ट्रिय अवार्डमा पनि उनको सहभागिता रहेको छ ।

क्याप्टेनको काँधले बोकेका अवार्ड

क्याप्टेनको काँधैभरि, घरका भित्तैभरि पनि अवार्ड र सम्मानका सामग्री छन् । उनको जीवन पढ्दा, बुझ्दा लाग्छ- उनी यसका लागि योग्य पनि छन् ।

– साउथ एट्लान्टिक मेडल (फोकल्याण्ड वार मेडल)

– ओभरसिज मेडल (मेडल फर सियरालियोन एण्ड अफगानिस्तान)

– लङ सर्भिस एण्ड गुड कन्डक्ट मेडल

– क्विन्जजुब्ली मेडल

– बोस्निया-कोसोभो मेडल -मेडल फर सर्भिङ इन बल्कान)

भर्खरै उनले राष्ट्रपति विद्यादेवी भण्डारीको बाहुलीबाट राष्ट्रिय सम्मान पाएका छन् । चन्द्रागिरि हिल्समा सम्पन्न बेस्ट म्युजिक अवार्डबाट पनि फरक संगीतका लागि सम्मानित भएका छन् । यस बाहेक विभिन्न स्कूलहरू र समुदायहरूबाट प्रशंसापत्रहरू प्रदान गरिएका छन् । उनले मन्त्री आनन्दप्रसाद पोखरेलबाट संगीतशिला सम्मान पनि प्राप्त गरेका छन् ।

उनले सन् २०१७ मा दुबईमा सम्पन्न नेपाली म्युजिक अवार्ड कार्यक्रममा नवप्रतिभा सम्मान प्राप्त गरेका थिए । सन् २०१८ मा मलेशियामा सम्पन्न कार्यक्रमबाट बेस्ट लिरिक्स रचनाकारको अवार्ड पनि हात पारेका थिए । सोही वर्ष पोखरामा आयोजित राष्ट्रिय सम्मान कार्यक्रममा उनलाई गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको हातबाट पनि सम्मान प्रदान गरिएको थियो ।

क्याप्टेनको अन्तिम चाहना

लाहुरे जीवनबाट अवकाश प्राप्त गरे पनि उनको बाँकी समय फौजी जीवन जस्तै सक्रिय रहेको छ । उनी अहिले परिवारसँग धरान-१५ स्थित बाझोगरामा रहेका छन् । फौजी जीवन, गीत-संगीत र समाजसेवालाई सँगसँगै अघि बढाएका उनलाई उमेरले केही अवरोध गरे जस्तो लाग्दैन । भनिन्छ नि- जहाँ इच्छा त्यहाँ उपाय । उनको जीवन पढ्दा लाग्छ- युवा भनेका अंकमा अभिव्यक्त हुने उमेर मात्रै होइन रहेछ ।

क्याप्टेन सा’बको नाम जस्तै रहेको छ पूर्णप्रसादलिम्बूको जीवन । उनले आफ्नो जीवनलाई नाम जस्तै पूर्ण बनाउन प्रयास गरिरहेका छन् । उनको चाहना छ- जीवन रहुञ्जेल समाजको सेवासँग जोडिरहन पाऊँ । चाहना अनुसार उनले काम पनि गरिरहेका छन् । उनको त्यस्तो क्षमता देखेर जो कसैले भन्न कर लाग्छ- वाह् फौजी !

यो पनि पढ्नुस् – लाहुरेको शहरबाट लाहुरे हराउन थालेपछि‍‍‍…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?