+
+

एलन मस्क बने ३ खर्ब डलर सम्पत्ति हुने इतिहासकै पहिलो व्यक्ति

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १३ गते १९:५४

विद्युतीय कार निर्माता कम्पनी टेस्ला तथा रकेट निर्माता कम्पनी स्पेस एक्सका सीईओ एलन मस्कको सम्पत्ति ३ खर्ब डलर नाघेको छ । यो सँगै मस्क ३ खर्ब डलर सम्पत्ति हुने विश्व इतिहासकै पहिलो व्यक्ति बनेका छन् ।

बिहिबार टेस्ला कम्पनीको शेयर मूल्यमा भएको तीब्र बढोत्तरीसँगै मस्कको सम्पत्ति एकैदिनमा १० अर्ब डलरले बढेर ३ खर्ब डलरको कोशेढुंगा पार गरेको हो ।

ब्लुम्बर्ग बिलेनियर इन्डेक्स अनुसार बिहीबार मस्कको सम्पत्ति ३ खर्ब २ अर्ब डलर पुगेको थियो । कार भाडामा दिने कम्पनी हर्जले टेस्लासँग १ कार कार खरिद गर्ने विशाल सम्झौता सार्वजनिक भएसँगै टेस्ला कम्पनीको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको हो ।

एलन मस्कको सम्पत्ति ३ खर्ब डलर नाघेसँगै उनी विश्वको दोश्रो धनी व्यक्तिको रुपमा रहेका अमेजन कम्पनीका सीइओ जेफ बेजोसभन्दा निकै नै धनी बनेका छन् । जेफ बेजोसको कूल सम्पत्ति १ खर्ब ९९ अर्ब डलर रहेको छ । यस हिसाबले बेजोस भन्दा एलन मस्कको सम्पत्ति १ खर्ब ४ अर्ब डलर बढी छ ।

मस्कको अहिलेको सम्पत्ति इजिप्ट, पोर्चुगल, चेक गणतन्त्र, कतार, ग्रिस र फिनल्याण्ड लगायतका उल्लेख्य अर्थतन्त्र भएका मुलुकहरुको वार्षिक कूल गार्हस्थ उत्पादन भन्दा पनि धेरै हो ।

साथै मस्कको सम्पत्ति उनी आफैले स्थापना गरेको पे पल कम्पनी तथा नेटफ्लिक्सको कूल बजार मूल्य भन्दा पनि धेरै भएको छ ।

विश्लेषकहरुका अनुसार मस्क विश्व इतिहासमै १ ट्रिलियन डलर सम्पत्ति भएको पहिलो व्यक्ति बन्ने बाटोमा छन् । तथापि उनलाई १ ट्रिलियन डलरको मालिक बनाउने काम चाहीँ टेस्लाले नभई स्पेस एक्स कम्पनीले गर्ने विश्लेषकको ठम्याइ छ ।

टेस्ला कम्पनीको बजार मूल्य १ ट्रिलियन डलर नाघेको र आफ्नो सम्पत्ति पनि एकैदिनमा कीर्तिमानी ३६ अर्ब डलर बढेसँगै हालै एलन मस्कले अमेरिकी राष्ट्रपति जो बाइडेनको नयाँ कर नीतिको पनि आलोचना गरेका थिए ।

जलवायु परिवर्तन तथा सामाजिक सेवामा खर्च गर्नका लागि अर्बपतिहरुलाई थप कर लगाउने बाइडेन प्रशासनको योजनाको मस्कले ट्वीटमार्फत् आलोचना गरेका हुन् ।

अर्बपति तथा धनाढ्यहरुलाई थप कर लगाउने बाइडेन सरकारको निर्णयले अन्ततः मध्यम वर्गीय अमेरिकी नागरिकहरुमा थप करको बोझ थपिने मस्कको बुझाइ छ ।

यो वर्षको सुरुवातमा सार्वजनिक भएको एक रिपोर्टमा एलन मस्क तथा जेफ बेजोसले पछिल्ला वर्षहरुमा कत्ति पनि संघीय आयकर नतिरेको तथ्य सार्वजनिक भएको थियो ।

यी हुन् विश्वका सबैभन्दा धनी १० व्यक्ति र उनीहरुको सम्पत्ति

१. एलन मस्क : ३ खर्ब २ अर्ब डलर

२. जेफ बेजोस : १ खर्ब ९९ अर्ब डलर

३. बर्नार्ड आर्नल्ट : १ खर्ब ६८ अर्ब डलर

४. बिल गेट्स : १ खर्ब ३५ अर्ब डलर

५. ल्यारी पेज : १ खर्ब २९ अर्ब डलर

६. सेर्गेइ ब्रिन : १ खर्ब २५ अर्ब डलर

७. मार्क जुकरबर्ग : १ खर्ब १८ अर्ब डलर

८. स्टिभ बाल्मर : १ खर्ब १६ अर्ब डलर

९. ल्यारी इलिसन : १ खर्ब १५ अर्ब डलर

१०. वारेन बफेट : १ खर्ब १ अर्ब डलर

डेलीमेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?