+
+

राष्ट्रपतिले आज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध मूर्ति अनावरण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते ८:३७

१४ कात्तिक, बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारी आज बुद्धजन्मस्थल लुम्बिनी आउँदै छिन् । लुम्बिनी विकास कोष र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी लुम्बिनी आउन लागेकी हुन् ।

राष्ट्रपति भण्डारी पोखराबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान ११ बजेसम्म लुम्बिनी आइपुग्ने लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए ।

लुम्बिनीमा आएपछि सबैभन्दा पहिला त्यहाँ बनेको बज्रयान बिहार उद्घाटन र पूजा गर्ने छिन् । त्यसपछि मायादेवी मन्दिर दर्शन र लुम्बिनी विकास कोषको गुरुयोजनाको प्रगतिबारे जानकारी लिने कार्यक्रम छ । त्यसपछि लुम्बिनीमै बनेको अन्तराष्ट्रिय सभा हलको अवलोकन गरेर राष्ट्रपति भण्डारी गौतमबुद्ध विमानस्थलमा जाने कार्यक्रम रहेको राईले जानकारी दिए ।

बुद्धमूर्ति अनावरण गरिंदै

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब रुपैयाँ मूल्यको ‘ह्वाइट जेड’ धातुबाट निर्मित बुद्ध मूर्ति गौतमबुद्ध विमानस्थलमा आज अनावरण गरिंदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो उक्त मूर्ति अनावरण गर्ने कार्यक्रम छ ।

म्यान्मारस्थित खानीसम्बन्धी काम गर्ने कम्पनी मालविन ग्रुपद्वारा निर्मित एक हजार आठ सय केजी तौल भएको उक्त बुद्ध मूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा विमानस्थलमा ल्याइएको हो ।

बुद्धमूर्ति अनावरण कार्यक्रममा स्पेनको एक्स्ट्रेमादुरा प्रदेशसभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडो र सोही प्रदेशका दुई जना मन्त्रीसमेत आउने कार्यक्रम रहेको लुम्बिनी गार्डेन फाउण्डेशनले जनाएको छ । उक्त बुद्ध मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको छ । सो बुद्ध मूर्तिमा प्रयोग भएको बहुमूल्य धातु ‘ह्वाइट जेड’ को हालको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिग्राम १२ अमेरिकी डलर रहेको छ ।

दुई करोड १६ लाख अमेरिकी डलर बराबरको उक्त मूर्ति फाउण्डेसनले नेपाललाई उपहार स्वरुप दिएको हो ।

उक्त बुद्ध मूर्तिलाई गत हप्ता बौद्ध भिक्षुहरूद्वारा मन्त्रोच्चारण गरी सिद्धार्थनगर नगर परिक्रमा गराई लुम्बिनीसम्म शान्ति र्‍यालीसहित विमानस्थलमा ल्याएर राखिसकिएको छ । मूर्ति अनावरण कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री समेत रहेका गृहमन्त्री बालकृष्ण खाँण पनि आउने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?