+
+

रुसी खोपबाट एचआईभी बढ्ने दाबीप्रति पुटिनको आक्रोश, भन्छन्- बेइमानीपूर्ण प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १२:२२

१४ कात्तिक, काठमाडौं । रुसले रोममा आयोजित जी-२० शिखर सम्मेलनमा आफ्नो कोभिड खोपले अन्तर्राष्ट्रिय मान्यता नपाएको भन्दै गुनासो गरेको छ ।

शनिबार राष्ट्रपति भ्लादिमिर पुटिनले स्पुतनिक-भी नामक कोरोनाभाइरसविरुद्धको रुसी खोपलाई अन्तर्राष्ट्रिय मान्यता नदिएको विषयप्रति गुनासो गरेका छन् । जी-२० का नेताहरूले विश्वव्यापी खोप अभियान तीव्रता पार्ने सहमति गरेको रोम शिखर सम्मेलनमा भिडियोमार्फत् सम्बोधन गर्दै उनले आक्रोशित हुँदै गुनासो पोखेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

पुटिनले आफ्नो भिडियो सन्देशमा जी-२० का स्वास्थ्य मन्त्रीलाई खोप र खोपसम्बन्धी प्रमाणपत्रबारे छलफल गरी ‘चाँडोभन्दा चाँडो’ मान्यता दिन समेत आग्रह गरेका छन् ।

‘जी-२० को निर्णयका बाबजूद पनि कोभिडविरुद्धको खोपसम्म खोपको आवश्यकता रहेका सबै मुलुकको पहुँच छैन’, भिडियो सन्देशमा पुटिनले भनेका छन् ।

बेइमानीपूर्ण प्रतिस्पर्धाका कारण रुसी खोपले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा खोपको आवश्यकता रहेका मुलुकले पहुँच नपाएको समेत पुटिनको भनाइ थियो । ‘बेइमानीपूर्ण प्रतिस्पर्धा, संरक्षणवाद र जी-२० मा आबद्ध केही मुलुकहरू खोप र यससम्बन्धी प्रमाणपत्रलाई मान्यता दिन तयार नभएकै कारण यस्तो अवस्था आएको हो’, उनले थपे ।

यसै महिनाको सुरुमा दक्षिण अफ्रिकाले खोपको अभावबीच रुसी कोभिड खोपलाई मान्यता दिन अस्वीकार गरेको थियो । रुसी खोप स्पुतनिकका कारण पुरुषमा एचआईभी संक्रमण बढ्न सक्ने दाबी गर्दै दक्षिण अफ्रिकाले मान्यता दिन अस्वीकार गरेको हो ।

त्यस्तै, युरोपेली युनियन र अमेरिकामा समेत स्पुतनिकले आधिकारिक अनुमति पाएको छैन ।

रोममा आयोजित जी-२० शिखर सम्मेलनमा पुटिनले झैं भिडियोमार्फत् सहभागिता जनाएका चिनियाँ राष्ट्रपति सी जिङपिङले पनि खोपले आपसी मान्यता पाउनुपर्ने बताएको चिनियाँ सरकारी समाचार माध्यममा उल्लेख गरिएको छ ।

पुटिन र सीले आफ्नो मुलुकमा लागू गरिएका कोरोनाभाइरससम्बन्धी कडा नियमका कारण इटलीको भ्रमण नगरेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?