
१४ कात्तिक, काठमाडौं । अफगानिस्तानमा बन्दुकधारीको एक समूहले विवाह स्थलमा प्रवेश गरी कम्तिमा २ जनाको हत्या गरेको छ । विवाह समारोहमा गीत बजेको र त्यसलाई रोक्न भन्दै तीन जना बन्दुकधारीले आक्रमण गरेको अधिकारीहरुले बताएका छन् ।
पूर्वी अफगानिस्तानमा भएको उक्त आक्रमणमा कम्तिमा २ जना मारिएको र अन्य १० जना घाइते भएको बीबीसीले जनाएको छ । एक प्रत्यक्षदर्शीले शुक्रबार पूर्वी अफगानिस्तानको नांगाहार प्रान्तस्थित सुर्ख रोड जिल्लामा चार जोडीले सामूहिक विवाह गरेको बताएका छन् । स्थानीय तालिबानी नेतासँग अनुमति लिएर उक्त विवाह समारोहमा महिला मात्रै उपस्थित हुने स्थानमा गीत-संगीत बजाइएको थियो ।
तर बन्दुकधारीहरू मध्यराति विवाह स्थलमा जबर्जस्त प्रवेश गर्दै लाउडस्पिकर तोडफोड गर्न खोजेका थिए । सोही क्रममा विवाह समारोहमा उपस्थित पाहुनाले विरोध गरेपछि बन्दुकधारीले गोली चलाएको समाचारमा उल्लेख छ ।
आक्रमणमा संलग्न २ जना बन्दुकधारीलाई पक्राउ गरिएको तालिबानका प्रवक्ताले बताए । बन्दुकधारीले इस्लामिक आन्दोलनका पक्षमा उक्त हमला नगरेको प्रवक्ता जबिहुल्लाह मुजाहिदले प्रस्ट पारेका छन् । घटनाबारे छानबिन भइरहेको उनको भनाइ छ ।
तालिबानले सन् १९९६ देखि २००१ सम्म शासन गर्दा अफगानिस्तानमा संगीतमाथि प्रतिबन्ध लगाइएको थियो । हालै पुन: सत्तामा आएको तालिबानले गीत-संगीतमाथि प्रतिबन्ध गर्ने गरी कुनै उर्दी जारी गरेको छैन ।
तालिबानको विरोध गर्दै आएको इस्लामिक स्टेट नांगाहार प्रान्तमा समेत सक्रिय छ । उक्त समूहमाथि विगतमा भएका यस्तै घटनाको आरोप लागेको थियो ।
प्रतिक्रिया 4