+
+
ब्लग :

नेपाली डायस्पोरा, एक कथा- एक दृश्य

विशाल स्व मञ्जिल विशाल स्व मञ्जिल
२०७८ कात्तिक १५ गते १४:३७

लेख्नुअघि लेखिएको कुरा पठनीय भए पनि पाठकलाई भद्दा दिक्दार लगाउने होला भन्ने भयले म प्रायः लेख्दिनँ । लेखिहाले पनि प्रकाशन गराउँदिनँ । कहिलेकाहीं जति नै चासोको विषय भए पनि कन्टेन्ट झुर हुँदा लेख्न पनि नमज्जा, पढ्न पनि बोर हुन्छ ।

मलाई केही समयदेखि केही अनलाइन र पेपर पत्रिका चलाउने साथीहरूले अष्ट्रेलियामा नेपाली विद्यार्थीको अवस्था खासगरी कोभिड–१९ वरिपरि कस्तो छ भन्ने विषयमा लेख भनेर भन्नुभयो । तर लेखिहाल्नुपर्ने वा थाहा दिइहाल्नुपर्ने त्यस्तो केही देखिएन, त्यसमा सञ्चारमाध्यमहरूले सानातिना इस्युहरू प्रकाशन गरिरहेकै थिए ।

लकडाउन पछि थोरै थेग्रिंदै गरेको सिड्नी सीबीडीको विनयार्ड स्टेसन नजिकै सडक छेउमा रूखको ओत पर्ने ठाउँमा अवस्थित एउटा सानो कफी शपको एक कुनाको टेबलमा बसेर चाय लाट्टेको वाफसरीको चुस्की लिंदै साँझ रमाउँदैछु । औसतभन्दा अलि जाडो छ बाहिर । चहलपहल त्यति बाक्लो छैन जति सिड्नीको कुनै सवर्बमा हुन्छ ।

पल्लो टेबलमा बसेका एक पाका दम्पतीको गफ मज्जाले सुनिन्छ । ‘एनएसडब्लु (जहाँ सिड्नी शहर पर्छ) राज्यमा आज साँझ ६ बजेबाट लकडाउन हुने खबर तिमीले थाहा पायौ, फ्र्यांक ? यो डिभास्टेसन हो ।’ भन्ने वाक्य मेरो कानमा परेपछि म हतारमा न्यूज पढ्न थालें ।

अष्ट्रेलिया पढ्न आउने नेपाली विद्यार्थीको लागि सबैभन्दा ठूलो शैक्षिक गन्तव्य शहर हो सिड्नी, जहाँ अस्ट्रेलियन पत्रिका सिड्नी मर्निङ हेराल्डको अनुसार सन् २०१८ को अन्त्यदेखि २०१९ को अन्त्यसम्ममा अष्ट्रेलियन कलेज, युनिभर्सिटीहरूमा भर्ना हुने ६६ हजार नेपाली विद्यार्थीमध्ये करीब ४२ हजार विद्यार्थी सिड्नी आएका छन् ।

नेपाल त अष्ट्रेलियाको शैक्षिक बजारको लागि तेस्रो (चीन र भारत पछि) ठूलो निर्यातकर्ता मुलुक बनेको छ जहाँबाट सन् २०१८–२०१९ मा मात्र अष्ट्रेलियाले २.६ बिलियन डलर भित्र्याएको छ । भनिन्छ– नेपालबाट बाहिर अध्ययन गर्न जाने विद्यार्थीमध्ये ५० प्रतिशत अष्ट्रेलिया भित्रिन्छन् । यत्रो ठूलो संख्यामा रहेका नेपाली विद्यार्थीको यहाँको अवस्था कस्तो छ भनेर लेख्न मन लाग्यो ।

कफी शपबाटै मैले केही विद्यार्थी साथीहरूलाई फोन लगाएँ । साथीहरूको चिन्ता कोभिडको संक्रमण भन्दा पनि काम बन्द हुने भन्ने थियो । अघिल्लो लकडाउनको भारबाट मुक्त हुन नपाउँदै अर्को थपियो भन्ने चिन्ताले नेपाली विद्यार्थी तरंगित थिए ।

एक केटी साथी जो सामाजिक कार्यमा स्नातकोत्तर गर्दैछिन् र सिटीको एउटा क्याफेमा पार्टटाइम वेट्रेस काम गर्छिन्, उनको काम गुम्यो । उनले तनाव भरिएको स्वरमा भनिन्, ‘हिजो मात्रै युनिभर्सिटीको इमेल आयो, नयाँ सेमेस्टरमा भर्ना हुने एक महीनाको जानकारी सहित, अनि आजैबाट काम पनि गयो यार, के गर्ने अब ।’

जुलाइ–अगस्टमा नयाँ सेमेस्टर शुरू हुन्छ प्रायः सबै कलेज युनिभर्सिटीमा सेमेस्टर शुरू हुनुअगावै पूरा सेमेस्टरको शुल्क बुझाएपछि बल्ल विद्यार्थी भर्ना हुन पाउँछ । स्नातकोत्तरको औसत सेमेस्टर शुल्क करीब २० हजार डलर, एउटा विद्यार्थीले हप्ताको २० घण्टा काम गरेर कमाएको पैसा, रेन्ट, ट्राभल र खानामै झण्डै सकिन्छ अनि कलेज शुल्क तिर्नेबेला विद्यार्थीले घरबाट मगाउने र भएको थोरै बचत पनि जोडेर शुल्क तिर्नुपर्ने बाध्यता ।

यी सारा व्यथाहरूलाई कोठाको वाडरबमा थन्क्याएर विकेन्डमा घरमा फोन गरेर ‘म ठीक छु मम्, अलिकति पैसा हाल्देको छु है’ भन्ने दह्रो मन हो यहाँको नेपाली विद्यार्थीको खास कथा । यो कथालाई कोभिडको प्रभावले झन् जर्जर बनाइदिएको छ, सबैमा हैन अधिकांशमा ।

लकडाउनले काम गुमाएपछि त खाने–बस्ने पैसा पनि घरबाटै मगाउनुपर्ने हुन्छ जो हामी जस्तो मध्यम निम्न वर्गीय परिवारको लागि ठूलो बोझ बन्छ । यो चिन्तालाग्दो परिस्थितिलाई मनभरी खेलाउँदै म त्यहाँबाट निस्किएँ ।

ठूला महत्वाकांक्षा र सुन्दर भविष्यको उत्कट अभिलाषा मस्तिष्कभरि राखेर एक सूटकेस लुगा र एक मन देश र आफन्तको सम्झना बोकेर विमान चढेको एउटा युवा केही उत्सुकता र केही भय बोकेर नयाँ देशको विमानस्थल उत्रन्छ ।

आफूले देखेको भन्दा विल्कुलै फरक परिवेश, फरक भाषा शैली, रहनसहन, तौरतरिका, फरक चेतना स्तर भएको समाज, बेग्लै सामाजिक सेटिङ्ग, यो सबसँग सहज हुनु, सँगसँगै विश्वविद्यालयको पढाइको चाप, काम र पैसा, परिवारको अपेक्षा आदिसँग दिनहुँ लडिरहनुपर्ने अवस्थामाझ व्यवस्थित जस्तो जीवनशैली तर अव्यवस्थित जीवन बाँचिरहेका हुन्छन् यहाँ नेपाली विद्यार्थी ।

हरेक बिहान रेल स्टेसनको प्लाटफर्ममा आधा निद्रा बोकेर कलेज हिंडिरहेका विद्यार्थी, ट्रेन छुट्ने भयले हातमा टोस्टेड ब्रेड र कफी कप बोकेर रेल स्टेसनतिर हतार हतार भागिरहेका विद्यार्थी, रात्रिकालीन जब गरेर कलेजको असाइन्मेन्ट ट्रेनको डब्बाभित्र झोक्राउँदै गरिरहेकी नर्सिङ्ग विद्यार्थी, कलेजको झोलामा कामको पोशाक बोकेर कलेजबाट सीधै कामतिर हान्निने अर्का विद्यार्थी ।

रातभर कलेजको असाइन्मेन्ट गरेर सबेरै अनिंदो आँखा लिएर केएफसीको मर्निङ्ग सिफ्ट भ्याउन पुग्ने १८–१९ वर्षे कलिला विद्यार्थी भाइबहिनीहरू अनि यी सारा व्यथाहरूलाई कोठाको वाडरबमा थन्क्याएर विकेन्डमा घरमा फोन गरेर ‘म ठीक छु मम्, अलिकति पैसा हाल्देको छु है’ भन्ने दह्रो मन हो यहाँको नेपाली विद्यार्थीको खास कथा ।

यो कथालाई कोभिडको प्रभावले झन् जर्जर बनाइदिएको छ, सबैमा हैन अधिकांशमा । हप्ताको २० घण्टा काम गरेर कलेज फी र आफ्नो दैनिकी चलाउने गाह्रो प्रयास गर्ने विद्यार्थीको काम गुम्नु, विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गरेर विद्यार्थीबाट शुल्क लिइरहनु, विदेश आउँदाको ऋणको दबाव, यी तनावपूर्ण अवस्थाहरूसँग कठिन रूपमा जुधिरहेका छन् नेपाली र सामान्यतः इन्डियन सबकन्टिनेन्टबाट आउने विद्यार्थीहरू ।

कोभिड संक्रमणले यहाँका आप्रवासी विद्यार्थीको पेशा मात्र खोसेको छैन बरु सपना र आकांक्षाहरू लुटेको छ, त्यसैले पनि कहिलेकाहीं ट्रेन स्टेशनमा हुत्तिएर आत्महत्या गर्ने विद्यार्थीको दुखद समाचार पढ्नु र सुन्नुपर्छ ।

यो नेपाली डायस्पोरासँग व्यथा मात्र छ भन्ने बुझ्नु पनि सही हैन, बरु उत्तिकै उत्साह र सफलताका कथाहरू यहाँ नेपाली समुदायको छ । केही भाग्यमानी विद्यार्थीले विद्यार्थीकालदेखि नै व्यवस्थित जीवनशैली विताउन पाउँछन्, यहाँको रोजगार बजारले खोजेको सीप नेपालदेखि नै बोकेर आएका भए वा विशेष दक्षता भएकाहरूले विद्यार्थी समयमा नै सामान्य स्टार्टअप गरिसकेका पनि हुन्छन्, नभए पनि राम्रो कमाइ हुने पेशामा आवद्ध भैसक्ने ।

डेक्सटप डिजाइनरदेखि डिजिटल मार्केटरसम्मको कामहरू आफैंले शुरुआत गर्ने नेपाली विद्यार्थीको मज्जा लाग्दो कथा पनि छन् । त्यसो त, विद्यार्थी जीवन सिध्याएर, राम्रो पैसा कमाउने, बचत गर्ने र लगानी गर्ने, यहीं साना स्टार्टअप गर्नेदेखि नेपालमै लगानी गर्ने नेपालीको प्रेरणादायी स्टोरीहरू थुप्रै छन् ।

विद्यार्थीकाल सकिएपछि, पूर्णकालीन पेशामा आबद्ध हुने, कलेज शुल्क तिर्नु नपर्ने, आर्थिक र पढाइबाट फ्रिडम मिल्ने भएपछि नेपाली युवाहरू व्यवस्थित जीवनशैली विताउन थाल्छन्, आर्थिक उन्नयनमा लाग्छन् र तिनै युवाहरूमध्ये कोही नेपालको मुस्ताङ्गमा सुविधासम्पन्न गेष्टहाउस सञ्चालन गराउन, पोखरामा डान्सबार खोल्नदेखि प्राइभेट स्कूल, सेवामूलक व्यवसायमा लगानी गर्न थाल्छन् भने कोही अष्ट्रेलियाकै विभिन्न राज्यहरूमा कृषि, शिक्षा, टुरिजम, रेस्टुराँ आदि क्षेत्रमा लगानी गरेर आफ्ना सपनाहरूलाई गति दिन थाल्दछन् ।

पढाइ सिध्याए लगत्तै पीआरको तयारी गर्ने र अष्ट्रेलियामै जीवन बिताउन चाहने युवाहरूको अझ आफ्नै खालको कथा छ । यहाँको सरकारले ग्रामीण क्षेत्रको विकासमा टेवा पुगोस् भनेर आप्रवासीलाई ग्रामीण क्षेत्रमा बसोबास गर्न प्रेरित गर्ने हेतुले पर्मानेन्ट रेसिडेन्सीको लागि ग्रामीण क्षेत्रमा प्राथमिकीकरण गरिदिएको छ जसको फलस्वरुप ग्य्राजुयट भएसँगै शहर छाडेर ग्रामीण क्षेत्रहरूमा बसाइँ सर्ने युवाको लर्को लाग्छ ।

सीमित बजार, थोरै व्यावसायिक संस्थाहरू, कम उपभोक्ता र ज्यादै थोरै रोजगारीको अवसरहरू आदि जस्ता विशेषता बोकेका अष्ट्रेलियाका ग्रामीण क्षेत्रहरूमा नयाँ जीवन आरम्भ गर्ने भर्खर युनिभर्सिटी कलेज सिध्याएका युवाहरूमा मुहारमा अर्को लामो सपना र ठूलो आत्मविश्वासको प्रतिविम्ब भेटिन्छ ।

कोभिडको संक्रमणले यी सबै सफलताका कथाहरूलाई खुम्च्याइदिएको छ एकातिर भने, अर्कातिर ती कैयौं व्यथाहरूलाई भारी बनाइदिएको छ । यो लेख लेख्दै गर्दा अष्ट्रेलियन सरकारले काम गुमेका सबैलाई साप्ताहिक ७५० अष्ट्रेलियन डलर उपलब्ध गराउने समाचार पढ्न पाएँ, यो लेखलाई राहत पुग्यो, तर यो लेखले बोकेको नेपाली डायस्पोराको दुरुस्त आकृति अमिट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?