१५ कात्तिक, धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेश सरकारको मुुख्यमन्त्रीमा आफ्नो दाबी रहेको जनाएको छ ।
कात्तिक १० गते सम्पन्न भएको प्रदेश कमिटिको बैठकका निर्णय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै समाजवादी पार्टीले ठूलो पार्टीको हैसियतमा गठबन्धनको समर्थनमा मुुख्यमन्त्रीमा दाबी रहेको जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै एकीकृत समाजवादी सुदूरपश्चिमकी इन्चार्ज गरिमा शाहले भनिन्, ‘प्रदेश सरकारको नेतृत्वमा हामी दाबी रहन्छ । प्रदेश कमिटिको बैठकबाट त्यसका लागि आवश्यक पहल गरिदिन भन्दै केन्द्रीय कमिटिलाई अनुरोध गर्ने निर्णय गरेका छौँ ।’ हाल एकीकृत समाजवादीको समर्थनमा माओवादी केन्द्रले सुदूरपश्चिम सरकारको नेतृत्व गरिरहेको छ ।
नेकपा एमाले विभाजनपछि गठित एकीकृत समाजवादीले प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने माग गर्दै आएको छ ।
सुदूरपश्चिम प्रदेशसभामा १४ सांसदसहित एकीकृत समाजवादी पहिलो, १३ सासंदसहित माओवादी केन्द्र दोस्रो, १२ सांसद भएको नेपाली कांग्रेस तेस्रो, सभामुखसहित ११ सांसद रहेको नेकपा एमाले चौथो तथा जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका १–१ सांसद छन् ।
बैठकले आउँदो कात्तिक २० गते भित्र जिल्ला कमिटि गठन तथा विस्तार गर्ने, कात्तिक मसान्तसम्म स्थानीय तहका पालिका कमिटि, मंसिर १५ गतेभित्र सबै पालिकाका वडा कमिटि, मंसिर २० गते भित्र प्रदेश र संघीय निर्वाचन क्षेत्र कमिटि विस्तार गर्ने निर्णय गरेको एकीकृत समाजवादीका प्रदेश कमिटि सचिव दिनेशचन्द्र सुवेदीले जानकारी दिए ।
कात्तिक २० गतेभित्र पार्टी सदस्यता वितरणको काम सकेर मंसिर ३ गते धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय समेत गरेको सुवेदीले बताए ।
उनका अनुसार मंसिर ४ र ५ गते केन्द्रीय स्कुल विभागको समन्वयमा प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण आयोजना हुनेछ भने प्रदेश कमिटिका पदाधिकारीहरुको कार्यविभाजन समेत गरिएको छ । जसअनुसार संगठन विभाग प्रमुखमा शेरबहादुर कुँवर, स्कुल विभाग प्रमुखमा हर्कबहादुर सिंह, प्रदेश कार्यालय व्यवस्थापन प्रमुखमा दिनेशचन्द्र सुवेदी, कोष तथा आर्थिक व्यवस्था विभाग प्रमुखमा दीर्घबहादुर सोडारी, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा तारालामा तामाङ र महिला फाँट प्रमुखको जिम्मेवारी माया भट्टलाई दिइएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4