१५ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूकोे स्तर निर्धारण गरेको भनेर ब्यंग्य गरेका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेनलाई व्यंग्य गरेका हुन् ।
‘राणा शासकहरूले आफूलाइ ए, बी र सी क्लासमा विभाजन गरेका थिए रे ! हिजो हाम्रो प्रधानमन्त्रीले सांसदहरूकोे स्तर निर्धारण गर्नु भएछ, एक्सट्रा अर्डिनरी, एभरेज र बिलो एभरेज भनेर’, प्रमुख सचेतक दुलालले भने, ‘रास्वपामा रहेका इन्जिनियर साँसदहरू ए अर्थात एक्स्ट्रा अर्डिनरीमा पर्नुभएछ । उहाँहरूलाई बधाइ छ ।’
उनले प्रधानमन्त्री बालेनले केही समयअगाडि ‘देश बनाउने टिम’ भनेर तीन जनाको फोटो सार्वजनिक गरेको पनि स्मरण गरे ।
‘महान दार्शनिक अरस्तुको असल शासकका गुणहरू प्रतिस्थापन भए कि बाँकी नै छन् ? र, प्रधानमन्त्री स्वयंलाई निर्देशन दिने पार्टी सभापति एभरेजमा पर्नुभयो कि बिलो एभरेजमा ?,’ उनले प्रश्न गरे ।
यस्तै, उनले ‘अरु सांसदहरु केमा पर्नुभयो ? या, यो पनि अर्को ठट्टा हो जसले हाम्रो प्रधानमन्त्री ठिकठाक हुनुहुन्छ भनेर हामीले बुझौं ?’ भन्दै थप प्रश्न गरे ।
बुधबार प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग छलफल गरेका थिए । उक्त छलफलमा प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई ‘एक्स्ट्रा अर्डिनरी सांसद्’को संज्ञा दिएका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त छलफलमा १७ जना सांसद उपस्थित थिए ।
प्रतिक्रिया 4