+
+

दुई प्रतिशत सम्पत्तिले भोकमरी अन्त्य हुने भए टेस्लाको शेयर बेच्न तयार छु : एलन मस्क

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १७:०५

१५ कात्तिक, काठमाडौं । विश्वकै सर्वाधिक धनी व्यक्ति एलन मस्कले आफ्नो दुई प्रतिशत सम्पत्तिले विश्वमा भोकमरी अन्त्य हुने भए टेस्ला कम्पनीको शेयर बेच्न तयार रहेको बताएका छन् ।

विद्युतीय कार उत्पादन गर्दै आएको टेस्ला कम्पनीका सीईओ समेत रहेका मस्कले धनी व्यक्तिको दुई प्रतिशत सम्पत्तिबाट भोकमरी समाधान हुने राष्ट्रसंघका एक अधिकारीको दाबीमाथि प्रश्न गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

विश्व खाद्य कार्यक्रमका निर्देशक डेभिड बिस्लेले ‘केबल ६ अर्ब अमेरिकी डलरबाट ४ करोड २० लाख मानिसलाई भोकमरीबाट बचाउन सकिने’ सीएनएनलाई बताएका थिए ।

बिस्लेले मस्क र जेफ बेजोस जस्ता धनाढ्यलाई भोकमरी अन्त्यका लागि अपील गर्दै सो कुरा बताएका थिए । तर मस्कले बिस्लेको उक्त दाबीलाई चुनौती दिँदै एक ट्विट गरेका छन् ।

‘यदि विश्व खाद्य कार्यक्रमले यो ट्विटर थ्रेडमा ६ बिलियन अमेरिकी डलरले कसरी विश्वव्यापी भोकमरी समाधान हुनेछ भनेर प्रष्ट पारे म टेस्लाको शेयर बेचेर यो कार्य गर्न तयार छु,’ मस्कले ट्विटरमा भनेका छन् । त्यस्तै, उनले विश्व खाद्य कार्यक्रमको दाबी पुष्टि हुने गरी प्रमाण पेश गर्न पनि भनेका छन् ।

मस्कको ट्विटलगत्तै बिस्लेले सीएनएनको शीर्षक सही नभएको र ६ अर्ब डलरले विश्व भोकमरी समाधान नहुने तर भू-राजनीतिक अस्थिरता रोक्ने बताए ।

बिस्लेले ट्विटरमा भनेका छन्- ‘एलन मस्क, शीर्षक सही थिएन । ६ अर्ब डलरले विश्वव्यापी भोकमरी समाधान हुँदैन । तर यसले भू-राजनीतिक अस्थिरता तथा आम बसाइँसराइँ रोक्न सक्छ र भोकमरीको जोखिममा संघारमा रहेका ४ करोड २० लाख मानिसलाई बचाउन सकिन्छ ।’

विद्युतीय कार निर्माता टेस्ला तथा रकेट निर्माता कम्पनी स्पेस एक्सका सीईओ मस्कसँग हाल ३११ बिलियन डलर सम्पत्ति छ । उनी ३ खर्ब अमेरिकी डलर सम्पत्ति हुने विश्वकै पहिलो व्यक्ति हुन् । ६ अर्ब भनेको उनको सम्पत्तिको सानो अंश मात्रै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?